मुलुक भित्रैका गन्तव्य

यात्रा–संस्मरण

काठमाडौं — गत कात्तिक २३ गते बिहान हामी शैक्षिक भ्रमणमा निस्कने कुराले मलाई अघिल्लो रात नै राम्रोसँग निदाउन दिएन । कहिले बिहानको घाम झुल्केला र यात्रा सुरु गरौँला भन्दैमा रात बितेको पत्तै पाइएन । मेरा सबै साथी पोखरा पुगिसकेछन्, मेरो त बसै छुटेछ ।

 मुलुक भित्रैका गन्तव्य

ओहो १ घडी हेर्दा बिहान ४ बजेको सपना रहेछ । हत्तपत्त उठेर प्याक भइसकेका लुगाफाटा र सामान हेरँे । आफू तयार भएँ । यति गर्दागर्दै बिहानको ६ बजिसकेको थियो । म घरबाट ४ दिनका लागि बाहिर जाँदै थिएँ । त्यसभन्दा पहिले म कहिल्यै घर छोडेर यत्तिका दिन बाहिर गएको थिइनँ । घरपरिवार सबैसँग बिदा भएर म विद्यालय पुगेँ । त्यहाँ पुग्दा मजस्तै भ्रमण जानका लागि अरू साथी आइसकेका रहेछन् । बिहानको ७ नबज्दै हामी विद्यालयको गाडीमा चाबहिलसम्म आयौँ र त्यहाँबाट पोखराको लागि तयार पारिएको गाडीमा चढ्यौँ । बिहान ८ बजिसकेको थियो, हामीले काठमाडौं छोड्दा । भ्रमणलाई यादगार बनाउन हामी हरसम्भव प्रयास गर्दै थियौं । कोही गाउँदै त कोही नाच्दै । केही क्षण शिक्षकहरूले पनि हामीलाई हौसला दिँदै सहभागिता जनाउनुभयो । थानकोटको जामले हामीलाई धेरै बेर कुराए पनि त्यहाँबाट अघि बढेपछि कहीँ नरोकिईकन पोखरा पुग्यौँ । बेलुका झन्डै ५ बजिसकेको थियो पोखरा पुग्दा । 
पोखरा पुग्नासाथ हामी बेगनास ताल गयौँ । त्यहाँको वातावरणले प्रदूषण र कोलाहलमा सधैं रुमल्लिरहेको मन र दिमागलाई नै ताजा बनाइदियो । त्यो माच्छापुच्छ्रेमा देखिएको घामको किरण र तालको वातावरण एवं आकर्षणले मलाई त्यहीं हराउन मन लागेको थियो । तर विडम्बना, त्यो सबै सम्भव थिएन । हामी त केवल केही दिनको यात्रामा त्यहाँ पुगेका थियौँ । केही समयपछि नै हामी आफ्नो होटलमा फर्कियौँ । हामीलाई होटल पञ्चरत्नमा राख्ने व्यवस्था मिलाइएको रहेछ । होटल पुग्दा बेलुकाको ७:३० भइसकेको थियो । बिहानदेखिको गाडीको यात्रा अनि ट्राफिक जामले दिक्दार लाग्दो बाटाको कारण थकानको कुनै सीमा नै थिएन । हामी चारजना एउटा कोठामा बस्ने निधो गर्‍यौँ र बेलुकाको खानापछि करिब ८:३० बजे नै थकान मेटाउन आफ्नो कोठातिर लाग्यौँ ।


कात्तिक २५ गतेको बिहान ४ बजे नै उठेर हामी सबैजना तयार हुन लाग्यौँ । यस दिन हामी धेरैभन्दा धेरै ठाउँ घुम्नुपर्ने थियो । बिहान ६ बजेतिरको समयमा मर्निङवाकका लागि हामी फेवाताल गयौँ । हामीले त्यहाँ बोटिङ गर्नुका साथै विध्यावासिनी मन्दिरको दर्शन गर्‍यौँ । केही समयको घुमाइपछि हामी पुन: होटल फर्कियौँ । बिहानको खाना खानेबित्तिकै हामी डेभिड फल्स (पातले छाँगो) हेर्न गयौँ । सोही अवसरमा थुप्रै तस्बिरहरू क्यामेरामा कैद गर्न पनि भ्याइयो । त्यस दिनमा हामीले गुप्तेश्वर महादेव, महेन्द्र गुफा, अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयजस्ता ठाउँ घुम्यौँ । खान खाएर हामी पञ्चरत्न होटलमा नै बस्यौँ त्यो रात पनि । कात्तिक २६ गते बिहानको ६ बजे उठेर चिया नास्तासँगै हामी चितवन जाने तरखर गर्‍यौँ । चितवन जाँदा भने हामीले निकै दु:ख पाएको अनुभूति भयो । सडक–विस्तारका कारण भएको ट्राफिक जामको बारेमा सुन्दै त आएका थियौँ तर त्यो दिन आफैँले भोग्नुपर्‍यो । बिहान चाँडै पोखराबाट निस्केको भए पनि मुग्लिनको जामले हामीलाई १२ घण्टा रोकिएको गाडीभित्रै बस्नुपर्‍यो । खाना–खाजाको पनि प्रबन्ध गर्न गाह्रो ठाउँमा बस्नुपर्दा छुट्टै अनुभव सँगालियो । जामकै कारण लामो समय बाटोमा बस्नुपरेकाले राति अबेला मात्रै हामी चितवन पुग्यौँ । 
भ्रमण तालिकाअनुसारको थारू सांस्कृतिक नाच हेर्ने अवसर पाइएन । किनकि हामी चितवन पुग्दा धेरै ढिला भइसकेको थियो । थोरै घण्टाको सुताइपछि भोलिपल्ट बिहान हामी ७ बजेतिर उठयौँ र नास्ता भएसँगै हात्ती चढ्न गयौँ । हात्ती चढ्ने मेरो धेरै पहिलेदेखिको इच्छा त्यस दिन पूरा भयो । त्यसपछि सौराहाको म्युजिम गयौँ र होटल फर्कियौँ । थुप्रै जनावरलाई नजिकबाट नियाल्ने अवसर मिल्यो हामीलाई चितवनमा । 
यस्तै रमाइला र यादगर अनि कहिलेकाही बाटोको दिक्कलाग्दो भोगाइसँगै हाम्रो शैक्षिक भ्रमण काठमाडौँ आइपुगेर सम्पन्न भयो । बाटोका कारण केही दु:ख अनि अप्ठयारा परे पनि समग्रमा शैक्षिक भ्रमण रमाइलो, प्रेरणादायी र ज्ञानवद्र्धक रहयो । शैक्षिक भ्रमणको सिलसिलामा मैले पाठयपुस्तकमा पढेका ठाउँ, कला, संस्कृतिलाई आफ्नै आँखा अगाडि हेर्ने मौका पाएँ । शैक्षिक भ्रमणका सिलसिलामा प्राप्त ज्ञान पछिका दिनमा समेत उपयोगी हुने मलाई लागेको छ । 
-श्रृतिका अर्याल, कक्षा : १०
रिलायन्स इन्टरनेसनल एकेडेमी, काठमाडौं

प्रकाशित : पुस २, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?