काठमाडौं — यो खेल र हुप रोलिङ रेसमा एउटा छडीको मात्र भिन्नता छ । यो खेलमा एक पटकमा जति पनि बालबालिका सहभागी हुन सक्छन् ।
यसरी सहभागी हुने खेलाडीहरूले निर्धारित दूरीसम्म निश्चित नियमअन्तर्गत एउटा गोला रिङ (हुप) लाई छडीको सहायताले धकेल्दै (चित्रमा देखाएजस्तै) एक्लै दौडिनुपर्छ । सहभागी खेलाडीहरूको उमेर १० देखि १२ वर्षको भए राम्रो मानिन्छ । यो खेलका लागि १०० मिटर लामो मैदान आवश्यक हुन्छ ।
खेल्ने तरिका
यो खेलमा सहभागी खेलाडीहरूलाई प्रत्येक समूहमा ४ जना पर्ने गरी विभाजित गर्नुपर्छ । प्रत्येक समूहको खेलमा पहिलो हुने खेलाडीलाई दोस्रो चरणमा प्रवेश गराउनुपर्छ । दोस्रो चरणमा पनि खेलाडीको संख्या हेरेर समूह विभाजन गरेर खेलाउन सकिन्छ । अन्तिम चरणमा ४ देखि ८ खेलाडीबीच एकै पटक प्रतिस्पर्धा गराएर विजेता छनोट गर्न सकिन्छ । यसरी दौडिने खेलाडीहरूले रिङ दौडाउने क्रममा रिङलाई छडीले निरन्तर हिर्काउनुपर्छ । यसरी दौडँदा खेलाडीले रिङलाई ढाल्नु हुँदैन भने छडीलाई पनि खसाउनु हुँदैन । यदि रिङ ढलेमा वा छडी खसेमा त्यो खेलाडी अयोग्य मानिन्छ ।