कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनलाइन – के गर्ने के नगर्ने ?

काठमाडौं — हामी सबैले कुनै न कुनै रूपमा इन्टरनेट प्रयोग गरिरहेका हुन्छौं । होमवर्क गर्न होस् वा कुनै आफन्तसँग कुराकानी गर्न । यो निकै उपयोगी छ । इन्टरनेट प्रयोगमा रहेको अवस्थालाई हामी अनलाइन भन्दछौं ।

अनलाइन – के गर्ने के नगर्ने ?

बालिबालिका, वयस्क वा वृद्धवृद्धा, सबै उमेरका व्यक्तिलाई इन्टरनेटले कुनै न कुनै रूपमा फाइदा पुर्‍याइरहेको हुन्छ । तर यसको प्रयोग सधंै फाइदाजनक नै मात्र हुन्छ भन्ने छैन । अचेल इन्टरनेटको दुरुपयोग पनि उत्तिकै बढ्दो छ । बालबालिका यसको जोखिममा पर्ने गरेका छन् ।

अनलाइनमा बालबालिकालाई हानि पुर्‍याउने काम बढ्दै गएकाले विश्वभर यो चिन्ताको विषय बनेको छ । बालबालिकालाई सुरक्षित बनाउन भिडियो लाइब्रेरी, युटयुब र सोसल मिडिया साइट फेसबुकले पनि विभिन्न नीति परिवर्तन गरिरहेका छन् । दुरुपयोग गर्नेहरूले विभिन्न च्याट, एप वा फेसबुक चलाएका बालबालिकासँग साथी भएर उनीहरूको परिवारका बारेमा सूचना लिन्छन् । त्यस्तो सूचना उपयोग गरी परिवारका ठूला मानिसलाई धम्क्याउने, आर्थिक लाभ लिनेजस्ता काम गर्नसमेत उनीहरू पछि पर्दैनन् । बालबालिकालाई एक्लै भेट्न बोलाएर यौन दुव्र्यवहार गर्नेजस्ता घटना पनि हुने गरेका छन् । 

इन्टरनेट प्रयोग गर्दा हुन सक्ने यस्ता जोखिमबाट बच्न हामी आफैं सचेत हुनुपर्छ । अलिकति मात्रै ध्यान पुर्‍याउने हो भने जोखिमबाट जोगिन कुनै गाह्रो छैन । त्यसका लागि यहाँ केही सुझाव छन् :

१) च्याट वा कुनै माध्यमबाट नचिनेको व्यक्तिले आफ्नो वा परिवारका बारेमा कुनै जानकारी मागेमा नदिने ।

२) इन्टरनेटमा कुनै फोटो राख्दा अनिवार्य रूपमा आफ्ना अभिभावकलाई 

जानकारी दिने ।

३) फेसबुक वा अन्य सोसल मिडियामार्फत नचिनेका व्यक्तिले साथी बन्न प्रस्ताव गरे भने नबन्ने । बरु यसबारे आफ्ना अभिभावकलाई भन्ने ।

४) अनलाइनमा भेटेको तर प्रत्यक्ष नभेटेको व्यक्तिले एक्लै भेट्न बोलाए नजाने । यसबारे अभिभावकलाई पूरा जानकारी दिने ।

५) आफ्नो पासवर्ड अभिभावकबाहेक अरू कसैलाई नभन्ने ।

६) सकेसम्म शैक्षिक सामग्री पाइने अनलाइन साइटहरू मात्रै भिजिट गर्ने । यसका लागि अभिभावक वा शिक्षक शिक्षिकासँग सल्लाह लिने । 

७) कसैले आफूलाई थाहा नभएको वेबसाइट भिजिट गर्न आग्रह गर्‍यो भने पहिले अभिभावकलाई भन्ने ।

८) सकेसम्म एक्लै हुँदा इन्टरनेट प्रयोग नगर्ने । परिवारका सदस्यहरू भएको स्थानमा बसेर मात्रै इन्टरनेट प्रयोग गर्ने ।

९) घरमा एक्लै छौ भने त्यो कुरा अभिभावक र अति घनिष्ठ आफन्तबाहेक कसैलाई कुनै पनि माध्यमबाट थाहा नदिने ।

१०) कुनै पनि एप वा फेसबुकजस्तै खालका सोसल मिडिया प्रयोग गर्दा पहिला आफ्ना अभिभावकलाई जानकारी दिने र चलाउन योग्य छन् भने तरिका सिकेर मात्रै चलाउने ।

प्रकाशित : पुस २, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?