१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

निशाचर

काठमाडौँ — सबै जीवजन्तु दिउँसोको समयमा सक्रिय हुँदैनन् । कतिपय जीवजन्तु र चरा/पन्छी रातको समयमा सक्रिय हुन्छन् । तिनीहरू आहारा खोज्न या सिकार गर्न रातकै समयमा दौडधुप गर्छन् । तिनलाई निशाचर भनिन्छ ।

निशाचर

बँदेल, पाटेबाघ, एकसिंगे गैंडा, जल गैंडा, स्याल, हिमाली भालु, काठेभालु, चितुवा, हिमाली नीर बिरालो, चरीबाघ, ठूलो नीरबिरालो, दुम्सी, वनबिरालो, ध्वाँसे नीरबिरालो र कोइरालोलगायत निशाचर सूचीमा पर्ने जीवजन्तु हुन् । पन्छीमा लाटोकोसेरो, हाफ्सिलो र मलाहा हँुचिल आदि रातमा सक्रिय हुन्छन् । निशारच प्राणीबारे थाहा पाउन राजधानीको जाउलाखेलस्थित चिडियाखानामा रात्रिकालीन भ्रमण गर्न सकिन्छ ।



बाघ

बाघ धेरैका लागि डरलाग्दो जन्तु हो । मानिसलाई समेत मारेर खान सक्ने भएकाले बाघदेखि सबै डराउँछन् । बाघ रातको समयमा खानाका लागि सक्रिय हुन्छ । आहारका लागि यो जीव रातभर नै जागा हुन्छ । चिडिया खानामा बाहेक बाघ नेपालमा तराई क्षेत्रमा मात्र पाइन्छ । तर धेरै मानिस चितुवालाई पनि बाघै ठानेर झुक्किने गर्छन् ।



काठेभालु

काठेभालु अलि गर्मी क्षेत्रमा बस्छ । यो तराईमा बढी हुन्छ । यसले मासु र फलफूल दुवै खान्छ । लार्भा, कन्दमुल पनि यसले रुचाउँछ । काठेभालुले एक पटकमा ३ वटासम्म बच्चा जन्माउँछ ।



दुम्सी

यो साकाहारी जीव हो । यसको शरीरभरि काँडैकाँडा हुन्छन् । दुम्सी पनि रातको समयमा आहारका लागि सक्रिय हुन्छ । दुम्सीले मकै खाइदिने भएकाले दुम्सी धपाउन दिनरात गाउँघरमा गोठालो बस्ने चलन पनि छ । यसले जमिनमुनिका कन्दमुल, जराका बोक्रा, भ्याकुर पनि खान्छ । दुम्सीको औसत तौल करिब १८ किलोसम्म हुन्छ । कसैले आफूलाई आक्रमण गर्न खोजे बच्नका लागि यसलेकाँडा फयाँक्छ । एक पटकमा यसले तीन वटासम्म बच्चा जन्माउँछ ।



चितुवा

झट्ट हेर्दा बाघजस्तै देखिए पनि यो बाघ होइन । मांसाहारी वर्गको चितुवाले बँदेल र दुम्सीलाई पनि मारेर खान्छ । यसको औसत आयु १५ देखि २० वर्ष हुन्छ । यसको तौल ४५ देखि ८० किलोसम्म हुन्छ । चितुवा नेपालमा तराईदेखि उच्च हिमाली क्षेत्रसम्मै पाइन्छ ।



लाटोकोसेरो, हाफ्सिलो र मलाहा हुचिल

यी तीनवटै चरा रातको समयमा मात्र सक्रिय हुन्छन् । अरु चरा बास बस्न गएपछि यी भने आहारका लागि चहार्छन् । यी सबै मांसाहारी चरा हुन् । यिनले कीराफटयांग्रा, परेवा, माछा, खरायो र मुसा पनि खान्छन् । सकेसम्म आफैं मारेर खान्छन् । यी चरा पानीको स्रोत भएको क्षेत्र, चट्टान र रुखका हाँगामा गुँड बनाएर बस्छन् । यी चरा औसतमा २० देखि २५ वर्षसम्म बाँच्छन् ।



हिमाली नीरबिरालो

मध्यपहाडी भेगसम्म पाइने यो जीव १० देखि १२ वर्षसम्म बाँच्छ । तीन वटासम्म बच्चा जन्माउने यसको तौल ६ देखि ८ किलोसम्म हुन्छ । यसले पनि मासु र फलफूल खाने भएकाले यसलाई सर्वभक्षी भनिन्छ । लार्भा, मुसा, खरायोलगायतलाई आफ्नो आहारा बनाउने यो जीव पनि रातकै समयमा ज्यादा सक्रिय हुन्छ ।



स्याल

औसत १५ वर्ष बाँच्ने स्याल पनि आहाराका लागि रातको समयमै सक्रिय हुन्छ । यो तराईदेखि हिमालसम्मै पाइने जीव हो । मुख्यत: यसले मासु मात्र खान्छ । गाउँघरमा सुनसानको मौका छोपेर कुखुरा च्यापेर भाग्ने गरेको पाइन्छ । १२ किलोसम्म तौल हुने यसले एक पटकमा दुईदेखि चारवटा बच्चा जन्माउँछ ।



हिमाली भालु

यो हिमाली क्षेत्रमा पाइन्छ । चिसो बढी भएपछि पहाडको बेसीसम्म पनि झर्छ । यो सर्वभक्षी हो । यो पनि रातमै सक्रिय हुन्छ । यसले मासु र फलफूल दुवै खान्छ । मासु खान नपाएका बेला धमिरा, कमिला, मह,

कन्दमुल पनि खान्छ । कहिलेकाँही भेडाबाख्रा पनि मारेर खान्छ ।


शब्द : अब्दुल्लाह मियाँ

तस्बिर : अंगद ढकाल

प्रकाशित : पुस १६, २०७४ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?