कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

कान्छा र भेडा 

भेडाहरू खोला तरेको तरिका कान्छालाई नौलो लागेको थियो । भेडाहरूले कसरी सजिलै खोला तरेका ? कान्छा अचम्म मानिरहेका थिए । भेडाहरू त सजिलै खोला तर्न र पौडिन सक्छन् भने मान्छे किन सक्दैन होला र ∕ कान्छाले मनमनै सोच्न थाले । 

काठमाडौँ — कान्छाका घरमा भेडा पालेका थिए । काकाले सधैं भेडा चराउन बिहान जंगल लैजानुहुन्थ्यो । बेलुकी घरमा ल्याउनुहुन्थ्यो । भेडाहरू रातभर खोरमा बस्थे । 

कान्छा र भेडा 

कान्छालाई काकासँग भेडा चराउन जान मन लाग्यो । भेडा गोठालो हुन मन लाग्यो । भेडा सेता र राम्रा पनि थिए । पाठापाठी पनि भेडासँगै जंगल जान्थे । कान्छालाई भेडाका साना पाठापाठी निकै मन पथ्र्यो । भेडाका पाठापाठी खेलाउँदा कान्छा निकै खुसी हुन्थे ।

जंगलमा जाँदा फलफूल खान पाइन्थ्यो । ऐंसेलु, काफल, पानी अमला, तिजु, बयर, दइदालो जस्ता फलफूल खान पाइन्थ्यो । जंगल जाँदा बाटोमा खोला थियो । खोलामा पौडी खेल्न पाइन्थ्यो । कान्छालाई पौडी खेल्न निकै रहर थियो ।

एक दिन कान्छाले भेडा चराउन काकासँगै जान आमासँग सल्लाह गरे । आमाले जान दिनुभएन । कान्छाले निकै कचकच गरेपछि आमाले काकासँगै जान दिनुभयो । आमाले कान्छालाई भन्नुभयो, ‘जंगल जाँदा चकचक गर्न पाइँदैन, मन लागेको ठाउँमा एक्लै जान पाइँदैन । जता जाँदा र जे गर्दा पनि काकालाई सोध्नुपर्छ ।’ कान्छालाई एक्लै कतै जान नदिन काकालाई पनि भन्नुभयो । काकासँग भेडा चराउन जंगल जान पाएकोमा कान्छा फुरुङ्ग भए । बिदाको दिन काकासँग कान्छा भेडा लिएर जंगल गए । कान्छा यो कुन फलफूल हो, यो केको बोट हो भनेर सोध्दथे । काकाले फलफूल र बोटको नाम भन्दै चिनाइदिनुहुन्थ्यो । बाटोमा विभिन्न जंगली फलफूलहरू टिप्दै खाए । कान्छाले फलफूल टिपेर खान सक्दैनथे । काकाले फलफूल टिपेर दिनुहुन्थ्यो । कान्छा मीठो मानेर खान्थे ।

बाटो सजिलो थिएन । भेडाहरू एकै ठाउँमा मिलेर हिँड्थे, भेडाको पछिपछि काका र कान्छा । बाटोमा एउटा खोला थियो । भेडाहरू एक–एक गरी खोला तरे । भेडाका साना–साना पाठा पनि उनीहरूका आमासँग खोला तर्दै थिए । कान्छाले साना–साना पाठा कसरी खोला तर्छन् भनी नियालेर हेरे । साना–साना पाठा खोलाको पानीमा पस्थे । पौडिँदै अलि तल पुगेर किनारामा निस्कन्थे । पाठाहरू खोला नतरुन्जेल माउहरूले किनारामा कुरेर बस्थे ।

भेडाहरू खोला तरेको तरिका कान्छालाई नौलो लागेको थियो । भेडाहरूले कसरी सजिलै खोला तरेका ? कान्छा अचम्म मानिरहेका थिए । भेडाहरू त सजिलै खोला तर्न र पौडिन सक्छन् भने मान्छे किन सक्दैन होला र ∕ कान्छाले मनमनै सोच्न थाले । आफू पनि पौडेर खोलो तर्ने सोच बनाए ।

काका खोला तर्ने घाट खोज्दै हुनुहुन्थ्यो । भेडाहरू खोला तरेर पारि पुगिसकेका थिए । काकाले कान्छालाई भन्नुभयो, ‘कान्छा मेरो पछि–पछि आउनू । खोला तर्ने घाट खोज्दै छु ।’ कान्छाले काकाका कुरामा ध्यान दिएनन् । काकाले पछाडि फर्केर हेर्दा त कान्छा खोलामा पसिसकेका रहेछन् । काका ‘कान्छा ∕ कान्छा’ भन्दै दौडिँदै आइपुग्नुभयो । कान्छालाई पौडी खेल्न आउँदैनथ्यो । कान्छालाई खोलाले तल–तल लग्यो । काका तुरुन्तै खोलामा हाम फाल्नुभयो । पौडिँदै कान्छालाई समाएर पारि पुर्‍याउनुभयो । कान्छा आत्तिएका थिए । काकाको पनि मुटुको धड्कन बढेको थियो । कान्छाले अलि कति पानी खाएका रहेछन् । दुवै जनाका लुगा भिजे । तत्काल काकाले नदेख्नुभएको भए कान्छालाई खोलाले बगाएर लैजाने रहेछ ।

पारि पुगेपछि काकाले कान्छाको पेट अँठयाएर पानी ओकल्न लगाउनुभयो । एकछिनपछि कान्छालाई ठीक भयो । काकाले सोध्नुभयो, ‘कान्छा ∕ मलाई थाहै नदिईकन किन खोलामा पसेको ?’ कान्छाले भने, ‘त्यति सानो भेडाको पाठो पौडिन सक्छ, खोला तर्न सक्छ भने मैले किन नसक्ने भनेर खोलामा पसेको हुँ । मलाई पौडिन त आउँदैन ।’ काकाले भन्नुभयो, ‘भेडा र मानिसमा फरक छ । अनि खोलामा नबुझीकन र नजानीकन पस्न हुँदैन ।’ ‘अनि, भेडाका पाठाले कसरी पौडिन सिकेका त ? उनीहरूले कहिले सिके ? कसले सिकाइदियो ?’ कान्छाले काकालाई सोधे । काकाले भन्नुभयो, ‘भेडाका पाठा जन्मनेबित्तिकै हिँड्न सक्छन् । आफंै आमाको दूध खान सक्छन् । तिमी जन्मनेबित्तिकै हिँडेका थियौ र ? आमासँग सोध त । अनि, तिमीले सानामा आपैंm खाना खाएको थाहा छ ? अस्तिसम्म हामीले खुवाइदिनुपथ्र्यो । मानिसले त सिकेपछि मात्र जान्ने हो । मानिसलाई सिक्न समय लाग्छ । तिमीले पनि सिक्दै गयौ भने पौडिन सक्छौ ।’

बेलुकी भेडाहरूसहित घर फर्किँदा कान्छाले आजको घटना आमालाई नभनिदिन काकालाई अनुरोध गरे । आमाले थाहा पाउनुभयो भने अर्को पटक काकासँग जंगल जान दिनुहुँदैनथ्यो । काकाले भन्नुभयो, ‘ल हुन्छ, म भन्दिनँ । तर तिमीले पनि नयाँ काम गर्दा सिकेर मत्र गर है त ?’

कान्छाले खुसी हुँदै ‘हुन्छ’ भने । काका–भतिजाको कुरा मिल्यो ।

-श्रमिक बराल

प्रकाशित : पुस ३०, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?