हराएका जीवजन्तुहरु
काठमाडौँ — पृथ्वी सृष्टिका सबै जीव–जीवात्माको साझा घर हो । यो हामी सबैले बाल्यकालदेखि पढ्दै–सुन्दै आएका छौं । पृथ्वीका जीवहरुमध्ये मानिस सबैभन्दा विवेकशील मानिन्छ । तर व्यवहारमा यस्तो देखिएको छैन ।
मानिसले आफ्नो स्वार्थका लागि पृथ्वीका कैयौं पशुपन्छीको बाँच्ने अधिकार अतिक्रमण गर्दै आएको छ । मानिसको चोरी सिकारीका कारण पृथ्वीबाट कैयौं जीव लोप भइसकेको जीवशास्त्री बताउँछन् । तीमध्ये पछिल्लो दुई सय वर्षको अवधिमा पृथ्वीबाट लोप भएका केही मुख्य जीव यस्ता थिए :
बार्राहा :
दक्षिण आन्ध्र महासागरको फकल्यान्ड क्षेत्रमा पाइने ब्वाँसो प्रजातिको बार्राहा लोप हुनुमा वैज्ञानिकहरू पनि चकित छन् । सन् १७६० मा फकल्यान्ड क्षेत्रमा पहिलोपटक मानिस पुग्दा त्यहाँको चिसोमा यो ब्वाँसो हजारौंको संख्यामा थियो । यसको नरम भुवा र कमलो छालाप्रति युरोपेलीहरू असाध्यै लोभिए । त्यसपछि यी ब्वाँसाको सामूहिक सिकार गरियो । यो ब्वाँसोको अस्तित्व सकिन सय वर्ष लागेन ।
ग्रेट ओक :
उड्न नसक्ने प्रजातिको यो चरा क्यानाडा, ग्रिनल्यान्ड, आइसल्यान्ड लगायतका क्षेत्रमा पाइन्थ्यो । स्वादिलो मासु हुने र छोप्न सजिलो हुने यो चरा उड्न नसकेकै कारणले मानिसको सहज पहुँचमा थियो । यो चरालाई पछिल्लोपटक सन् १८५० मा देखिएको थियो । अहिले यो चराका केही तस्बिरहरू मात्र छन् ।
तस्मानियन टाइगर :
कुकरको जस्तो मुख, कंगारुको जस्तो पेटमा थैली र शरीरमा बिरालोको जस्तो धर्सा भएको तस्मानियन टाइगर दक्षिण अस्ट्रेलियाको तस्मानिया टापुमा मात्र पाइन्थ्यो । अस्ट्रेलियामा युरोपेलीहरूको प्रवेश सँगसँगै यो जनावरको सिकार तीव्र गतिले हुन थाल्यो । युरोपको प्रसिद्ध भान डाइमेन नामक कम्पनीले बनाउने फरको पोसाकका लागि तस्मानियन टाइगरको तीव्र सिकार भएको थियो । परिणाम स्वरूप सन् १९३६ सम्ममा यो जीव पृथ्वीबाट लोप भयो ।
स्कम्बर्ग :
हरिण प्रजातिको स्कम्बर्ग थाइल्यान्ड, लाओस र म्यान्मार क्षेत्रमा पाइन्थ्यो । झट्ट हेर्दा नेपालमा पाइने बाह्रसिंगेजस्तो देखिने स्कम्बर्गको सिंहमा धेरै किसिमका रोगहरूको उपचार गर्ने चमत्कारी क्षमता छ भन्ने स्थानीय मानिसको अन्धविश्वासका कारण यो जनावर पनि लोप हुन पुगेको हो । यो जनावर अन्तिमपटक सन् १९३२ मा देखिएको थियो ।
डोडो :
उड्न नसक्ने प्रजातिकै यो चरा मरिसस, सेसेल्स र मेडागास्कर टापु समूहमा पाइन्थ्यो । झट्ट हेर्दा हाँसजस्तो देखिने यो चरा पनि आफ्नो उड्न नसक्ने क्षमता र स्वादिलो मासुका कारण मानिसको तीव्र सिकारको चपेटामा परेको हो । यो चरालाई पछिल्लोपटक सन् १८७० को आसपासमा देखिएको थियो । अहिले यो चराको कुनै अस्तित्व छैन ।
मस्क अक्स :
झट्ट हेर्दा ठूलो आकारको याक जस्तो देखिने मस्क अक्स आर्कटिक क्षेत्रमा पाइन्थ्यो । मासु, छाला र रौंका लागि यो जनावर पनि युरोपेलीहरूको नजरमा पर्यो । सन् १९०० देखि १९३० सम्म भएको सामूहिक सिकारको चपेटामा परेर मस्क अक्स पृथ्वीबाट सदाका लागि बिदा भए ।
टेकोपा पपफिस :
मेक्सिकोको खाडीमा पाइने रंगीचंगी माछाको एक प्रजाति टेकोपा पपफिस निकै स्वादिलो माछा थियो । मानिसको स्वादको माग र आपूर्तिबीच सन्तुलन नहुँदा सन् १९७० आउँदा नआउँदै मेक्सिकोको खाडीमा टेकोपा पपफिस पाइन छाड्यो ।
एलिफेन्ट बर्ड :
झट्ट हेर्दा इमु र अस्ट्रिचजस्तो देखिने एलिफेन्ट बर्ड पनि उड्न नसक्ने प्रजातिकै चरा हो । लगभग १० फिट अग्लो र ४ सय ५० किलोग्रामसम्म तौल भएको यो चरा पनि मेडागास्कर द्वीप समूहमै पाइन्थ्यो । खासगरी युरोपबाट आएका मानिसको लोभमा परेको यो चराले १९ औं शताब्दी नै देख्न पाएन ।
बारबरी लायन :
मोरोक्कोदेखि इजिप्टसम्म सहारा मरुभूमि क्षेत्रमा विचरण गर्ने बारबरी लायन (सिंहको एक प्रजाति) अहिले यो पृथ्वीमा छैन । अरेबियनहरूबीच यसको छाला तथा रौंको फैलँदो सोखका कारण सन् १९६० सम्ममा बारबरी लायन लोप हुन पुगेको थियो । तर कतिपय वैज्ञानिक भने सहारा क्षेत्रमा आहाराको अभावमा यो जीव लोप भएको दाबी गर्छन् ।
सी मिंक :
सन् १८६० मा अन्तिमपटक देखिएको सी मिंक पनि आफ्नो नरम भुवादार छालाका कारण मानिसको कुदृष्टिमा परेको हो । उत्तर अमेरिकाको पूर्वी समुद्री किनारमा पाइने मुसा प्रजातिको सी मिंक अहिले तस्बिरमै सीमित छ ।