कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

डा. अंकल भन्नुहुन्छ–जाडोमा ख्याल राखौं 

काठमाडौँ — हाम्रो मुलुकमा मंसिर लागेदेखि नै जाडो बढ्न थाल्छ । पुस–माघमा तापक्रम निकै कम हुन्छ । जाडो मौसममा बालबालिकालाई रुघाखोकीबाहेक छालाको समस्याले पनि सताउने गरेको छ ।

डा. अंकल भन्नुहुन्छ–जाडोमा ख्याल राखौं 

अघिल्लो वर्ष दराज वा सन्दुकमा थन्क्याइएका बाक्ला (स्वेटर, ज्याकेट, उनका) लुगाहरू झिक्दै लाउन थाल्छौं । यस क्रममा लुगा तथा कपडाको प्रकृतिअनुसार घाममा सुकाएर, राम्रोसँग धोएर, आइरन लगाएर, सफा गरेर लगाइएन भने छालाको एलर्जी हुन सक्छ । धेरै समयदेखिको कपास र कपडा प्रयोग गरी बनाइएका लुगा नयाँ नै बनाएको भए पनि एकपटक धोएर लगाउनुपर्छ । यसो गरे मात्र शरीरमा रातोपनासँगै डाबर उठ्ने एलर्जीको समस्या हुँदैन ।

जाडोयाममा ओठ, मुख, हात, गोडा एवं कुर्कुच्चा फुट्ने समस्या पनि बढ्छ । ओठ फुट्नुका साथै सुक्खा हुने, रातो र सुन्निएको देखिने पनि हुन्छ । ओठको पातलो छालाको बाहिरी पत्र निस्कने वा स–साना चिरा देखिने पनि हुन सक्छ । ओठ पहेंलो र फुस्रो देखिन पनि सक्छ । जाडो मौसमका बेला हावा सुक्खा हुने भएकाले शरीरको रसिलोपनामा कमी आउँछ । त्यसैले यतिबेला ओठ र छाला फुट्नुको मुख्य कारण शरीरमा रहेको ओसिलोपनामा कमी आउनाले हो ।

ओठलाई रसिलो बनाइराख्न प्राकृतिक रूपमा यसको बाहय सतहमा एउटा पातलो तैलीय पत्र रहेको हुन्छ । यसले ओठको रसिलोपना कायम गर्छ । ओठलाई अत्यधिक चुस्ने, टोक्ने बानी गरियो भने झन् बढ्ता फुट्छ । यस्तो समस्या भएका बेला सुन्तला र कागतीको रसजस्ता अम्लीय पदार्थ प्रयोग गर्नु हुन्न । किनकि यसले ओठमा थप समस्या निम्त्याउँछ ।

यो समस्याबाट बँच्न मह, घ्यू र नरिवलको तेल ओठमा लगाउन सकिन्छ । जेलीयुक्त बाम, चिपस्टिक वा लिपस्टिक लगाउनाले पनि यो समस्याको अस्थायी निराकरण हुन्छ । यसले ओठको बाहय झिल्लीलाई रसिलो बनाइराख्छ । ओठ फुट्ने समस्या भएका व्यक्तिले लामो समय घाममा बस्दा लिप बाम, चिपस्टिक वा सनस्क्रिन लगाउनुपर्छ । ओठ टोक्ने र मुखबाट सास फेर्ने बानी हटाउनुपर्छ । घरमा एअर कन्डिसन प्रयोग गर्ने गरेको छ भने हावालाई आद्र्रयुक्त (हयुमिड) बनाइराख्नुपर्छ । घर तथा अफिसमा ग्यास वा मटितेलबाट चल्ने हिटरछेउ बसी काम गर्ने बानी छ भने पनि कोठाभरिको हावा सुक्खा नहुने उपाय अपनाउनुपर्छ । पानी पर्याप्त पिउनुपर्छ ।

हात, गोडा तथा कुर्कुच्चा फुट्ने समस्याबाट बँच्न पटक–पटक तातो–चिसो पानी चलिराख्नु हुँदैन । बाथरुम वा अन्यत्र हातखुट्टा धुनलाई तातो पानी वा चिसो पानी एकैथरी मात्र प्रयोग गर्नुपर्छ । हात, गोडा न्यानो पार्न पन्जा, मोजा लगाउनुपर्छ । छालालाई सुक्खा हुन नदिन वा ओसिलो बनाइराख्न भ्यासेलिन प्रयोग गर्नुपर्छ ।

-डा. सुमनराज ताम्राकार

प्रकाशित : पुस ३०, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?