१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कक्षामै रमाइलो

चेतनाथ आचार्य

काठमाडौँ — कक्षामा पढ्न कत्तिको जाँगर चल्छ ? कि सधैं किताब मात्र पढ्दा दिक्कै लाग्छ ? कहिलेकाहीँ शिक्षकशिक्षिकाले कथा वा गीत सुनाएर रमाइलो गराउनुभएकै होला । मैदानमा लगेर विभिन्न खेल पनि पक्कै खेलाउनुहुन्छ होला । नाच्न सिकाउँदा कत्ति रमाइलो हुन्छ है ? समय बितेको पत्तै हुन्न ।

कक्षामै रमाइलो

तिमीजस्ता कलिला बालबालिकाको शारीरिक, बौद्धिक, मानसिक र सामाजिक विकासका लागि पढाइसँगै अतिरिक्त क्रियाकलाप आवश्यक हुन्छ । यस्ता गतिविधिले मस्तिष्क तीक्ष्ण बनाउँछन् । शरीर स्वस्थ पनि हुन्छ । यसले सिक्नेको आत्मविश्वास बढ्छ भने सिकाउनेलाई पनि सन्तुष्टि मिल्छ ।

छिमेकी मुलुक चीनका पूर्वप्राथमिक र प्राथमिक विद्यालयमा बालबालिकालाई अतिरिक्त क्रियाकलापका माध्यमबाट सिकाउने विधि निकै अपनाइन्छ ।

जस्तो कि, हस्तलेखन राम्रो होस् भन्नका लागि विद्यार्थीलाई ठूलो बाँसको कलमले लेख्न सिकाइन्छ । पहिले शिक्षकले बोर्डमा बिस्तारै लेख्दै जान्छन् । शिक्षकले लेखेको हेरेर विद्यार्थीले पनि सोहीअनुसार आफ्नो हात घुमाउँदै अक्षर लेख्न सिक्छन् ।


विद्यार्थीले घर, आसपासका पलसमा थोरै पैसामै खेलौना बनाउने माटो (क्ले) किन्न पाउँछन् । त्यस्तो माटोबाट उनीहरूलाई सर्प, भ्यागुता, चरा, मुसालगायत हामीले देखे–जानेका विभिन्न जीवजन्तुका आकृति बनाउन सिकाइन्छ । यसो गर्दा उनीहरूमा जोस र जाँगर बढ्छ । क्लेबाट सामान बनाउँदा विद्यार्थीको पोसाकमा नलागोस् र हात फोहोर नहोस् भनेर तरिका अपनाइएको हुन्छ । कक्षाकोठा फोहोर नबनाईकनै विद्यार्थीले विभिन्न कला सिक्न पाउँछन् ।

सा–साना बालबालिकालाई रंगीन कागजबाट पुतली र चरा बनाउन पनि सिकाइन्छ । यसो गर्दा उनीहरूमा प्रकृतिप्रतिको माया र जिम्मेवारी बोध हुन्छ । आफूले बनाएको पुतली र चरालाई माया गरेजस्तै बगैँचाका पुतली र चरालाई पनि माया गर्नुपर्छ भन्ने भावना विकास हुन्छ । ती जीवजन्तु पनि हाम्रा साथीजस्तै हुन् भन्ने ज्ञान विद्यार्थी आफैंले बनाएका कलाकृतिबाट सिक्ने अवसर पाउँछन् ।


वातावरण प्रदूषण यति बेला संसारैभरि चिन्ताको विषय छ । वातावरण प्रदूषणबारे चेतना बढाउन र प्रयोग भइसकेका सामग्रीलाई फेरि कसरी उपयोग गर्न सकिन्छ भन्ने ज्ञान दिन यहाँका स्कुलमा विभिन्न गतिविधि गराइन्छ । प्रयोग भइसकेका प्लास्टिक र अन्य सामग्रीबाट कक्षामै फेसन–सो आयोजना गरिन्छ । मोबाइलका प्रयोग भइसकेका रिचार्ज कार्डका साथै चाउचाउ, बिस्कुट, कुरकुरे आदिका खोल बटुलेर आकर्षक र हँसाउने खालका पोसाक बनाउन सकिन्छ । त्यस्ता पोसाक लगाएर मोडल हिँडेजस्तै क्याटवाक गर्दा आत्मविश्वास बढ्छ । त्यसले चेतना जागृत पनि गराउँछ । बालबालिकाका सीप र सहभागितामा बन्ने सामानलाई अभिभावक दिवस वा अरू अवसर पारेर प्रदर्शन गर्न सकिन्छ । यस्तो कार्यले अभिभावकमा पनि चेतना विस्तार हुन्छ ।


यी सबै तरिका चिनियाँ पूर्वप्राथमिक र प्राथमिक विद्यालयमा कसरी व्यावहारिक र सीपमूलक ज्ञान दिइन्छ भन्ने केही उदाहरण मात्रै हुन् । यस्ता अरू धेरै तरिका हुन सक्छन् । रमाइलो पनि हुने, सीप र ज्ञान पनि सिकिने यस्ता प्रयोग तिमीहरूमध्ये कत्तिको स्कुलमा भइरहेको पनि हुन सक्छ । सहजै उपलब्ध हुने सामानबाट पनि आकर्षक वस्तुहरू बनाउन सकिन्छ । तर यसका लागि पहिले तिमी आफैं अग्रसर हुनुपर्छ । रुचि देखाउनुपर्छ । अनि बल्ल शिक्षक र अभिभावकले मद्दत गर्नुहुन्छ ।


प्रकाशित : पुस ३०, २०७४ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?