१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कसरी काम गर्छ मस्तिष्कले ?

काठमाडौँ — मानव शरीरको एकाइलाई कोष भनिन्छ । एकै खालका कोषहरू मिलेर निश्चित काम गर्ने एकाइ तन्तु हुन् । तन्तुहरूबाट अंग बन्छन् । अंगहरूबाट प्रणाली बन्छ । हरेक प्रणालीका खास–खास काम हुन्छन् । जस्तो कि खाना पचाउन पाचन प्रणाली छ ।

कसरी काम गर्छ मस्तिष्कले ?

सास फेर्न श्वासप्रश्वास प्रणाली छ । रगतमार्फत शरीरभर अक्सिजन पुर्‍याउन रक्तसञ्चार र तरल रूपमा विकार फाल्न मूत्रप्रणाली छ । सन्तान उत्पादन गर्न प्रजनन् र शरीरको ढाँचाका लागि अस्थिपञ्जर प्रणाली छन् । मांसपेशी प्रणालीले शरीरका सबै अंगलाई बाहिरबाट ढाकेको हुन्छ । यी सबै प्रणालीलाई सन्तुलित राख्न स्नायु र अन्त:श्राव प्रणालीहरूले काम गरिरहेका हुन्छन् ।

शरीरका सबै जैविक प्रक्रिया नियन्त्रित र सन्तुलित राख्ने काम स्नायुप्रणालीको हो । यसको मूल एकाइ कोषलाई स्नायु कोष वा न्युरोन भनिन्छ । यसमा मूल भागबाहेक सन्देश ल्याउने स्नायुरेशा (डेन्ड्राइट्स), बाहिर लाने (एक्सोन), केन्द्र (न्युक्लियस), विभिन्न स्नायु रसायन (न्युरो केमिकल) र तिनले काम गर्ने अवयव हुन्छन् । न्युरोनबाहेक न्युरोनसँग सम्बन्धित रहेर मूल रूपमा ३ खालका कोषहरू जोड्ने, तिनको काममा परिमार्जन गर्ने, संरचनामा भूमिका खेल्ने, विकार फाल्ने वा सुरक्षा दिनेजस्ता अन्य विशेष कोष पनि हुन्छन् । यस्ता कोषहरूले त्यसैअनुसार स्नायुप्रणालीमा विविध तन्तु र अंगहरूको संगठन गरिरहेका हुन्छन् ।

संरचनागत हिसाबले मस्तिष्कबाट केन्द्रीय र सुसुम्ना तथा स्नायु रेसाहरूबाट पेरिफेरल गरी दुई भागबाट स्नायुप्रणाली बन्दछ । मानव खप्परभित्र रहेको मस्तिष्कमा ठूलो, सानो, मध्य मस्तिष्क, सुसुम्ना आदि हुन्छन् । मस्तिष्कबाट मेरुदण्ड हुँदै निक्लेर शरीरैभरि जालोजस्तै फिँजिएका स्नायु नसाहरूबाट स्नायुप्रणाली बनेको हुन्छ । स्नायुप्रणालीले गर्ने कामहरूको प्रकृतिका हिसाबले एकले अर्कोलाई समन्वय र सन्तुलनमा राख्न पूरक प्रणालीहरू (सिम्पाथेटिक र पारा–सिम्पाथेटिक) का माध्यमबाट जैविक प्रक्रियाहरूमा नियन्त्रण र सन्तुलन भैइरहेको हुन्छ । सामान्यत: एउटाले कुनै कुरा जस्तै: मुटुको चाल बढाउँछ भने अर्कोले घटाउँछ ।

स्नायुप्रणालीले यसरी मानव शरीरका सबै जैविक प्रक्रिया, जस्तै: मुटुको चाल, सासको गति, पाचन, विकार विसर्जनलगायत गतिविधि नियन्त्रित र सन्तुलित राख्ने काम गरिरहेको हुन्छ । मानव शरीर जीवित राख्न मस्तिष्कको निर्णायक भूमिका हुन्छ । त्यसैले शरीरका अन्य अंग–प्रणाली ठीक रहेको अवस्थामा पनि मस्तिष्क मृत (ब्रेन डेथ) भएमा मानव जीवन समाप्त हुन्छ ।

मानव मस्तिष्कले मानिसलाई मानिसजस्तै बनाउने विभिन्न काम गर्छ । व्यवहार, बोली, अनुभूति, भावना, विचार, ध्यान, एकाग्रता आदि नियन्त्रित राख्छ । समय, स्थान र व्यक्तिको पहिचान गराउँछ । सम्झना, ज्ञान, बुद्धि, विवेक, निर्णय र शरीरको अवस्थाको चेतजस्ता मनोवैज्ञानिक क्रियाकलाप नियमित राख्छ । व्यक्तिको समग्र स्थितिलाई नियमित र स्वस्थ राख्ने काम गर्छ ।

शरीर र मनबीच अत्यन्त नजीकको सम्बन्ध र अन्तरक्रिया हुन्छ । मनको अवस्थाले शरीर र शरीरको अवस्थाले मनको समग्र स्वास्थ्य र अवस्थामा प्रभाव पारिहरको हुन्छ । त्यसैले, मानसिक स्वास्थ्यबिना स्वास्थ्य अपुरो हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको शारीरिक, मानसिक र सामाजिक हिसाबले सामन्जस्यपूर्ण अवस्था हो । केवल अस्वस्थता र अक्षमता नहुनु मात्र होइन । मानसिक रूपले स्वस्थ रहन स्नायुप्रणाली र मनमस्तिष्कले सन्तुलित रूपमा काम गर्न जरुरी हुन्छ । जब कोही व्यक्तिको मनमस्तिष्कमा संरचनागत वा कार्यगत रूपमा कुनै समस्या उत्पन्न हुन्छ, उसका यी मानसिक कार्यमा गडबडी आउँछन् । तसर्थ, हामीले सानैदेखि मानसिक स्वास्थ्यमा पनि उत्तिकै ध्यान पुर्‍याउनु अवाश्यक छ ।

-डा. धनरत्न शाक्य

प्रकाशित : माघ ७, २०७४ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?