१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

साना वैज्ञानिक

‘साना नानीहरूले विश्वासै गर्न नसकिने सामान बनाएका छन् । यसबाट विद्यालय र विद्यार्थीको मिहिनेत झल्किएको छ’
अर्जुन राजवंशी

काठमाडौँ — पानीजहाज कस्तो हुन्छ ? विनोद बराल, विवेक खनाल र कृशला पौडेलले प्रत्यक्ष देखेका छैनन् । तर, उनीहरू नमुना पानीजहाज आफैंले बनाएर चलाउन सफल भएका छन् । 

साना वैज्ञानिक

उनीहरू झापाको दमक–१ स्थित हिमालय माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्छन् । सामुदायिक विद्यालयका विद्यार्थी भए पनि वैज्ञानिक उपकरण बनाएर उनीहरूले आफ्ना अभिभावक, शिक्षक र साथी सबैलाई चकित बनाएका छन् । उनीहरूले ‘रिमोट कन्ट्रोल’ बाट चल्ने पानीजहाज बनाएका हुन् । त्यसमा राष्ट्रिय झन्डा राखेर उनीहरूले विद्यालय प्रांगणमा चलाएर देखाए ।

सोही विद्यालयका कक्षा ८ मा पढ्ने प्रियंका भण्डारी, पवन भण्डारी र प्रशान्त तिम्सिनाले पनि यस्तै अभ्यास गरे ।

पुस २६ र २७ गते हिमालय माविको हिमालय इको फ्रेन्डली बाल क्लबको आयोजनामा दुईदिने ‘विज्ञान तथा वातावरण प्रदर्शनी’ भएको थियो । उक्त प्रदर्शनीमा ‘साना वैज्ञानिकहरू’ को प्रगति देखेर दमक नगरपालिकाका मेयर रोमनाथ ओली, उपमेयर गीता अधिकारी, जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालसहित उपस्थित सबै दंग परे । सामान्यत: सामुदायिक विद्यालयहरू सधैं आलोचित हुने गरेका छन् । तर, जिल्लाका विभिन्न

सामुदायिक विद्यालयका विद्यार्थीले आफैंले सिर्जना गरेका वैज्ञानिक आविष्कारले सबैलाई तारिफ गर्न बाध्य तुल्यायो ।

प्रदर्शनीमा कक्षा ७ मा अध्ययनरत केल्भिन संग्रौलाले बनाएको ‘अडिनियो प्रोग्राम ड्रोन’ ले सबैको ध्यान खिच्यो । दमक–८ का १२ वर्षीय केल्भिन चौथो पटकको प्रयासमा नमुना ड्रोन बनाएर उडाउन सफल भएका हुन् । प्रदर्शनीमा उनको ड्रोन हेर्नेको निकै घुइँचो थियो । निरन्तरको अध्ययन र तेस्रो पटकसम्मको दुर्घटनापछि आफूले बनाएको ड्रोन आकाशमा उडेको केल्भिनले बताए । उनले प्रदर्शनीमा पहिलोपटक ड्रोन उडाएका हुन् ।

केल्भिनले युटयुबमा हेरेर कैयौं पटक प्रयास गर्दा–गर्दा नमुना ड्रोन बनाउन सफल भएको बताए । काठमाडौंको अक्षरा स्कुलमा पढ्ने केल्भिनलाई ड्रोन बनाउन भने ३ महिना लाग्यो । ड्रोनले २ केजीसम्मको तौल बोक्न सक्ने उनले बताए । ‘अडिनियो युयनो माइक्रो कन्ट्रोलर, ब्रसलेस मोटर, प्रोपेलर, ईएससी, जाइरो सेन्सर, क्लक वाइज, काउन्टर क्लक वाइज लगायतका उपकरण जडान गरेर यो ड्रोन बनाएको हुँ,’ उनले भने ।

भविष्यमा वैज्ञानिक बन्ने आफ्नो लक्ष्य सुनाउँदै उनले भने, ‘यो ड्रोन बनाउनमा मलाई बुवाआमाले ठूलो सहयोग गर्नुभएको छ ।’ ड्रोन बनाउन २५ हजार रुपैयाँ खर्च लागेको केल्भिनका बुवा मोहन संग्रौलाले बताए । ‘उसले दुई वर्षअघि सिम्पल वल्क रोबर्ट, वायर जडित रिमोट कन्ट्रोलर कार, ब्लुतुथ कन्ट्रोलर कार, अफ्टयाकल ओभर्डिङ रोबर्ट र लाइन फलो रोबर्ट पनि बनाएको थियो’ बुवा मोहनले भने, ‘निरन्तरको अध्ययन र मिहिनेतपछि अहिले ड्रोन बनाएर उडाउन सफल भयो ।’ सानै उमेरमा छोराले गरेको प्रगति देखेर आफू औधि खुसी भएको उनले बताए ।

प्रदर्शनीमा सुरुङ्गास्थित कन्काई माध्यमिक विद्यालयका विद्यार्थीले बनाएको प्रदूषण न्यूनीकरण उपकरणबारे अधिकांश दर्शकले सोधिखोजी गरे । दुईदिने प्रदर्शनी करिब १० हजार जनाले अवलोकन गरेको हिमालय मावि व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज बस्नेतले जानकारी दिए । उनका अनुसार कक्षा १० मा अध्ययनरत आयुब बाँस्तोला, कक्षा ९ का मानव न्यौपाने र कक्षा ७ का अनुराग शिवाकोटीले संयुक्त रूपमा उक्त प्रविधि बनाएका हुन् । उनीहरूको आविष्कारले उद्योग, कलकारखानाबाट निस्किने प्रदूषणलाई न्यूनीकरण गर्न सकिनेछ ।

प्रदर्शनीमा विभिन्न वैज्ञानिक आविष्कारसम्बन्धी ३० वटा स्टल थिए । उपकरण बनाउन नसक्ने विद्यार्थीले आकर्षक चित्रहरू बनाएर राखेका थिए । प्रदर्शनीमा विद्यार्थीले चित्र बिक्री पनि गरे । प्रदर्शनी हेर्न पुगेका दमक–२ का पुण्य अधिकारीले भने, ‘साना नानीहरूले विश्वासै गर्न नसकिने सामान बनाएका छन् र यसबाट विद्यालय र विद्यार्थीको मिहिनेत झल्किएको छ ।’

हिमालय माविमै कक्षा १० मा पढ्ने निकिशा थापा र श्रद्धा उप्रेतीले पानी प्रशोधन गर्ने उपकरण बनाएर देखाए । सामान्य खर्चमा जुटाइएका सामग्री प्रयोग गरेर उनीहरूले खानेपानीको अभाव टार्न सक्ने क्षमताको प्रशोधन मेसिन बनाएका हुन् । श्रद्धाका अनुसार यो मेसिनबाट विभिन्न कारणले प्रदूषित हुने पानी प्रशोधन गरेर घरायसी एवं कृषि प्रयोजनमा उपयोग गर्न सकिन्छ ।

प्रकाशित : माघ ७, २०७४ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?