कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

टल्किने भूत

जानुका खतिवडा

काठमाडौँ — आधा रातमा उपासनाका आँखा खुले । उनले सिरकबाट अलिकति टाउको निकालेर दायाँबायाँ हेरिन् । चारैतिर चकमन्न थियो । सडकमा बलेको बत्तीको अलिकति उज्यालो पसेकोले उनको कोठा पनि धमिलो देखिएको थियो । उनले हातले यताउता छामेर हेरिन् तर आमा भेटिनुभएन । उनको मुटु छिटोछिटो ढुकढुक भयो । उनी निदाउनुअघि त आमा कथा सुनाउँदै हुनुहुन्थ्यो । कहाँ जानुभएछ ?

टल्किने भूत

उनले अलिकति टाउको उठाएर फेरि चारैतिर हेरिन् । उनको ओछयानभन्दा अगाडिको भित्तामा एउटा कालो छाया देखियो । त्यो घरी तलमाथि हल्लिन्थ्यो त घरी दायाँ–बायाँ सथ्र्यो । त्यसको ठीक तल दुइटा आँखा टलक्क टल्किरहेका थिए । उनले आँत्तिएर टाउको सिरकभित्र लुकाइन् । सास बढेजस्तो भएर आयो । एकछिनपछि बिस्तारै सिरक हटाएर उनले डराई डराई अघिको भित्तातिर हेरिन् । त्यो छाया त उस्तै गरी आकार बदल्दै यताउता सरिरहेको रहेछ । टल्किने दुइटा आँखा पनि अझै उनीतिरै हेरिरहेका थिए । उनका हात–खट्टा चिसा भए । डरले उनी काम्न थालिन् ।

आफूलाई बलियो बनाउने जति प्रयास गरे पनि उनले सकिनन् र आँखा चिम्लिएर चिच्याइन्, ‘आमा...१’

उपासना चिच्याउँदै रोएको सुनेर आमा दगुर्दै आउनुभयो । अत्तालिएर आउँदा ढोकाको छेउमा उहाँको गोडा ठोक्कियो । आमा आफ्नो नजिकै आएको थाहा पाएर उपासनाले हुत्तिएर उहाँलाई अँगालो मारिन् अनि रुन थालिन् ।

‘के भो, किन रोएकी ?’ आमाले आफ्नो गोडाको दुखाइ बिर्सिएर छोरीको पिठिउँ थप्थपाउनुभयो ।

‘आमा भूत... भूत...’

‘खोई कहाँ छ ?’ आमाले बत्ती बालेर चारैतिर हेर्नुभयो । कोठामा केही थिएन । ‘अघि भर्खरै यहाँ हल्लिरहेको थियो । त्यसका आँखा पनि टलक्क टल्किएका थिए ।’ उपासनाले पनि आमाको कुमबाट अलिकति टाउको उठाएर वरिपरि हेरिन् अनि सुँक्कसुँक्क गर्दै अगाडिको भित्तातिर देखाइन् । उनी अझै डरले कामिरहेकी थिइन् ।

‘कहाँ भाग्यो त अहिलेको अहिल्यै ?’ आमाले ओछयानमा ठयाकठयाक पार्नुभयो । खाटमुनि बिरालो पसेको रहेछ । म्याउँ गर्दै निस्किएर दराजको चेपतिर गयो ।

‘ल, यही हो तिम्रो भूत,’ आमा मुसुमुसु हाँस्नुभयो ।

उपासना आमाको घाँटीमा आफ्ना दुवै हातले बाँधेर छातीमा लिपिस्सै टाँसिएकी थिइन् । आमाले बिस्तारै उनको हात फुस्काएर उनलाई काखमा राख्नुभयो ।

केही बेर थप्थपाएपछि उनी सामान्य हुँदै गइन् । ‘बहादुर छोरीले यस्तो डरपोक हुन सुहाउँछ त ?’ आमाले आफ्ना दुवै हत्केलाले उनको अनुहार च्यापेर आफूतिर फर्काउनुभयो ।

दुई महिनाअघिदेखि मात्रै उपासना एक्लै सुत्न थालेकी हुन् । उनलाई ओछयानमा सुताएर कथा सुनाउँदै उनी निदाएपछि मात्र आमा आफ्नो कोठामा जाने गर्नुहुन्थ्यो । आज पनि उनी कथा सुन्दासुन्दै निदाएकी थिइन् ।

‘आमा मलाई छोडेर नजानुस् है,’ उनले आमाको हात च्याप्प समातेर भनिन्, ‘भूत फेरि आउँछ ।’

‘कहाँ आउँछ ?’

‘उ: त्यहाँ आएर नाच्छ,’ उनले अघिकै भित्तातिर देखाइन् । उनको कुराले आमा एकछिन गम्भीर देखिनुभयो । उहाँले छोरीको पिठिउँमा थप्थपाउँदै बत्ती निभाउनुभयो । साँच्चि नै भित्तामा तेर्सो धर्को दायाँ–बायाँ हल्लिरहेको थियो । दराजको कुनातिर दुइटा आँखा उस्तै गरी टल्किरहेका थिए ।

‘उ: उ: भूत,’ उपासना फेरि अत्तालिएर आमालाई अँगालो हाल्न आइन् । ‘त्यो भूत हो त ? बाटोमा बलेको बत्तीको उज्यालो परेर तिम्रो कोठाको झयालमा हालेको पर्दाको छाया पो यहाँ हल्लिएको हो त, ल हेर त...।’ आमाले पर्दा यताउता चलाउँदा भित्तामा साँच्चै नै छाया पनि यताउता चल्मलायो । उज्यालोमा राखेर आमाले आफ्नो हातको छाया पनि भित्तामा यताउता सारेर देखाउनुभयो । झयालनेर गएर उभिँदा उहाँको अनुहारको छाया पनि भित्तामा डरलाग्दो देखियो ।

‘टल्किने भूत पनि थियो,’ उपासनाको डर अझै हटिसकेको थिएन । ‘त्यो त अझै टल्किरहेको छ नि, उ: हेर त ।’ उपासनाले आमाको हात कस्सेर समातिन् अनि डराई डराई त्यतातिर हेरिन् । साँच्चै नै दराजको छेउमा दुइटा आँखा टलक्क टल्किरहेका थिए ।

‘उ: हेर त, तिम्रो टल्किने भूत,’ आमाले बत्ती बालेर भन्नुभयो । दराजको छेउमा लुकिरहेको बिरालो म्याउँ–म्याउँ गर्दै निस्किएर ढोकाबाहिर गयो ।

‘बिरालो पो रहेछ,’ उपासना थोते दाँत देखाएर रुन्चे हाँसो हाँसिन् । उनको अनुहार अलि उज्यालो देखियो ।

‘बिरालोका आँखा हाम्राभन्दा फरक हुन्छन् । ती अँध्यारोमा टल्कन्छन् बुझयौ ।’

‘किन आमा ?’ उपासना जिज्ञासु देखिइन् ।

‘बिरालाका आँखामा रेटिनाभन्दा पछि ‘टेपिटम लुसिडम’ नामको एक तह हुन्छ । त्यसले ऐनाको जस्तै काम गर्छ । अँध्यारोमा त्यसमा हलुका प्रकाश पर्‍यो भने पनि त्यसले परावर्तन गर्छ । त्यसैले उसका आँखा टल्किएका जस्ता देखिन्छन् ।’ आमाले उपासनालाई सम्झाउँदै भन्नुभयो, ‘त्यसैले त हो नि बिरालोले अँध्यारोमा पनि मुसा समाउन सक्छ ।’

उपासना आमाका कुरा ध्यान दिएर सुनिरहेकी थिइन् ।

‘बिरालोका मात्रै होइन, अरू जनावरका आँखा पनि रातमा टल्कन्छन् । राति सक्रिय हुने जनावरहरूले यही ‘टेपिटम लुसिडम’ का कारण अँध्यारोमा पनि देख्न र सिकार गर्न सक्छन् ।’

आमाका कुरा सुनेर उपासनाको डर बिस्तारै हट्दै गयो । भूत भनेको त मनको डर मात्र पो रहेछ । कुरा बुझेपछि उनले आफ्नो मन बलियो बनाइन् । उनका आँखा निद्राले लोलाउन थालेका देखेपछि आमाले उनलाई ओछयानमा सुताइदिनुभयो । केही बेरमै उनी भुसुक्क निदाइन् ।

प्रकाशित : माघ २१, २०७४ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?