१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सगरमाथामाथि पखेटा !

चेतनाथ आचार्य

काठमाडौँ — चीनको राजधानी बेइजिङमा रहेका तीनजना नेपाली बालबालिकाले चर्चित अन्तर्राष्ट्रिय चलचित्रमा अभिनय गरेका छन् । अंग्रेजी भाषाको यो चलचित्रको निर्माण भर्खरै सुरु भएको र मुख्य गरेर चीन, नेपाल र क्यानाडामा छायांकन हुने बताइएको छ । 

सगरमाथामाथि पखेटा !

‘विङ ओभर एभरेस्ट’ अर्थात् ‘सगरमाथामाथि पखेटा’ नामक अंग्रेजी भाषाको चलचित्रमा मुख्य कलाकार चिनियाँ, जापानी र क्यानाडेली रहेका छन् । गत जनवरीदेखि बेइजिङबाट छायांकन सुरु भएको यो चलचित्र ब्रिटिस कोलम्बियाका पर्वत, नेपालका हिमाली शृंखला र क्यानाडामा छायांकन गरिनेछ । चलचित्रमा हिमाल आरोहण गर्नेको कथा देखाइनेछ । यो चलचित्रमा जापानका ख्यातिप्राप्त अभिनेता कोजी याकुसो र चीनकी चर्चित अभिनेत्री चाङचिङछुले मुख्य भूमिका निर्वाह गर्नेछन् । चलचित्रको कार्यकारी निर्माता थेरेन्स छाङ हुन् । चलचित्रको लेखन र निर्देशन यु फेईले गर्दै छन् । चलचित्रमा क्यानाडाका प्रख्यात कलाकार भिक्टर वेभस्टारले पनि अभिनय गर्नेछन् ।

एक साताअघि बेइजिङको ह्वाइरोस्थित चलचित्र छायांकन स्टुडियोमा नेपाली बालबालिकालाई अभिनय गराइएको थियो । अन्तर्राष्ट्रिय चलचित्रमा अभिनय गर्ने नेपाली बालबालिकाहरूमा १२ वर्षीय अमन कट्टेल, ७ वर्षीय शुभम लम्साल र ६ वर्षीया सिजल अधिकारी छन् । अमन बेइजिङस्थित पाकिस्तानी स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । शुभम पनि सोही स्कुलमा कक्षा १ मा अध्ययनरत छन् । सिजल चिनियाँ पूर्वप्राथमिक तहमा अध्ययन गर्दै छिन् । उनीहरू सबैका अभिभावक चीनमै विभिन्न पेसामा छन् ।

नेपाल भ्रमणमा आएका विदेशी पर्यटकसँग नेपाली बालबालिकाले देखाउने व्यवहार र झुम्मिने बानीलाई चलचित्रमा छायांकन गरिएको छ । विशेष गरी ठमेल क्षेत्रका सडक बालबालिका कसरी पर्यटकसँग झुम्मिछन् भन्ने कुरा यसमा देखाइएको छ । अन्य क्षेत्रका बालबालिकाले पनि विदेशीसँग गर्ने व्यवहार र पर्यटकले उनीहरूलाई चकलेटलगायत खानेकुरा दिने गरेको विषय छायांकन गर्न चलचित्र निर्माण समूहले नेपाली बालबालिका खोजी गरेको थियो । छायांकनको समयमा बेइजिङमा तीनजना मात्र नेपाली बालबालिका रहेकाले केही पाकिस्तानी र बंगलादेशी बालबालिकालाई पनि नेपालीकै रूपमा चलचित्रमा समेटिएको छ ।

बेइजिङमा यति बेला निकै जाडो छ । तापक्रम माइनस १० डिग्री हुँँदा पनि बालबालिकाले राम्रो अभिनय गरेको चलचित्रको निर्माण समूहले बताएको छ । चलचित्र छायांकन गर्नका लागि काठमाडौंका गल्लीहरू झल्किने खालका साजसज्जा गरिएको थियो । नेपाली झण्डा र नेपाली नम्बर प्लेटका गाडीसहित नेपाली विभिन्न विज्ञापनका पोस्टर राखेर स्टुडियोभित्रै मिनी नेपाल बनाइएको थियो ।

प्रकाशित : माघ २८, २०७४ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?