कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नाच्दै घाटु

आश गुरुङ

काठमाडौँ — मुना गुरुङ र इन्द्रा गुरुङ लमजुङको त्रिभुवन विद्याश्रममा कक्षा ६ मा पढ्छन् । क्व्होलासोंथर गाउँपालिका–४, भुजुङका यी दुई भर्खर १२ वर्षका भए । दुवैलाई नाचगानमा औधि रुचि छ । त्यसैले उनीहरू अहिले पढाइसँगसँगै गाउँमै घाटु सिक्न थालेका छन् । 

नाच्दै घाटु

मौलिक पोसाकमा सजिएका दुवैजना ढाकाजस्तो कालो टोपी लगाएर घाटु गीतको ढिलो तालमा कम्मर मर्काइरहेका हुन्छन् । गत श्रीपञ्चमीदेखि नाच्न सिकेका उनीहरू दिनमा १/२ घण्टा होइन, ५ देखि ६ घण्टासम्म निरन्तर नाचिरहन सक्छन् ।

मुना र इन्द्रालाई ६ दशक कट्नै लागेका कौंसरी, अनिता र निता गुरुङले घाटु सिकाउँदै छन् । घाटुमा पुरुषले गीत गाउँछन् । महिला (घाटुसरी) नाच्छन् ।

‘सुरुमा धेरै गाह्रो भएको थियो । अहिले विस्तारै बानी पर्दै गयो,’ लजालु पारामा मुनाले भनिन् । घाटु–गुरुले यो नाच सिक्नका लागि उनको घरपरिवारमा भन्न आएका थिए । परिवारले अनुमति दिएपछि उनी नाच्न तयार भएकी हुन् । ‘घरमा सबैले राम्रो भन्नुभएको छ । मलाई पनि रमाइलो लागिरहेको छ,’ उनले भनिन् । मुनाभन्दा अलि ठूली देखिन्छन् इन्द्रा । ‘सुरुको दिन त निकै गाह्रो भयो,’ उनी भन्छिन्, ‘उभिएर विस्तारै घुम्दाघुम्दै कहिले त भुइँमै ढल्थेँ,’ उनी भन्छिन्, ‘सिक्दै गएपछि सजिलो हुन थालेको छ ।’

हरेक बिदाको दिन र स्कुल छुट्टी भएपछि उनीहरू घाटु सिक्न जान्छन् । सुरुमा अभिभावकसँग मागेर ल्याएपछि मुना र इन्द्रालाई घाटु–गुरु बुद्धिरासकै घरमा नाच्न लगाइएको थियो ।

गतवर्षसम्म घाटु नाच्दै आएकी सीता गुरुङ र सुस्मिता गुरुङले ७ वर्ष घाटु नाचे । घाटु नाचलाई हरेक बिजोर वर्षमा सेलाउने (अन्त्य गर्ने) चलन रहेको लालीगुराँस युवा क्लबका सचिव यमबहादुर

गुरुङ बताउँछन् ।


३, ५, ७ लगायत बिजोर वर्षमा घाटु सेलाउने गरिन्छ । गतवर्ष सेलाइएको र यस वर्ष पुन: घाटु नाच्न सुरुवात गरिएको हो । यसअघि घाटु नाचिसकेका सीता बेंसीसहर र सुस्मिता पोखरामा पढ्छन् । घाटु हेर्न भुजुङमा बर्सेनि हजारौं आन्तरिक तथा बाहय पर्यटक पुग्छन् । वैशाखपूर्णिमा ठूलो मेला लाग्छ । पर्यटन व्यवस्थापन उपसमिति, भुजुङका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार श्रीपञ्चमीबाट सुरु गरिएको घाटुलाई वैशाख पूर्णिमामा लगेर नचाइन्छ । त्यति बेला ४/५ दिनको मेला नै आयोजना गरिन्छ । ‘हामीले घाटुलाई पर्यटन प्रवद्र्धनसँग जोड्दै पनि लगेका छौं,’ उनले भने ।


घाटु गुरुङ समुदायले परम्परादेखि नाच्दै आएको एउटा लोपोन्मुख सांस्कृतिक नृत्य हो । यो उनीहरूको पौराणिक संस्कृति पनि हो । घाटु तीन प्रकारका हुन्छन् । घाटुबारे फरक–फरक धारणा छन् । लमजुङका ल्याइते राजा कालु शाहका छोरा प्रताप शाहको जीवन–चरित्र र मृत्यु वियोगमा यो गीत आधारित रहेको किम्वदन्ती छ । घाटुमा प्रतापलाई पसरामु (पर्शुराम) र पत्नीलाई हयोंमाउदी (यम्फावती) पात्र बनाइएको हुन्छ । शिरमा मुकुट, गुन्यू र चोली लगाएर नाच्ने घाटुसरी एउटालाई राजा र अर्कोलाई रानी बनाएर नचाइन्छ । ३ देखि ५ दिनसम्म रात–दिन गीत गाएर यो नाच नाचिन्छ । ढिलो ताल र लयमा नाचिने भएकाले घाटु नाच्दा घाटुनी (घाटुसरी) निकै थाकेको महसुस गर्छन् ।

घाटुमा पर्शुराम र यम्फावतीको विवाह, प्रेम, राज्यरोहण, सिकार खेलेको, युद्ध लडेको लगायतका विषयवस्तु गीतमा समेटिएका हुन्छन् ।

तस्बिर : आश गुरुङ

प्रकाशित : फाल्गुन ६, २०७४ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?