अस्पतालमै स्कुल

भिषा काफ्ले

काठमाडौँ — १३ शा राई सुनसरीको चिल्ड्रेन हट एकेडेमीमा कक्षा ७ मा पढ्छिन् ।  खुट्टाको हड्डी र नसामा समस्या देखिएपछि आयुशा एक महिनादेखि बनेपास्थित विकलांग मित्र समूहले सञ्चालन गरेको अपांग बाल अस्पतालमा उपचार गरिहेकी छन् ।

अस्पतालमै स्कुल

चिकित्सकले उनलाई अझै यही अस्पतालमा बसेर दुई महिना उपचार गर्नुपर्छ भनेका छन् । उनीजस्तै बझाङकी ११ वर्षीया शान्ति नाथ श्री भैरव प्राथमिक विद्यालयमा कक्षा ३ मा पढ्छिन् । उनको पनि खुट्टाको हड्डीमा समस्या आएर यहाँ उपचार गर्न बुबासँग आएकी हुन् । उनलाई पनि कम्तीमा दुई महिना उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

आयुशा, शान्तिजस्तै हड्डीमा समस्या देखिएका कक्षा ३ मा अध्ययनरत डडेलधुराका जीवन ठगुन्ना, जनकपुरकी ९ वर्षीया चन्दन यादवलाई पनि कम्तीमा २ महिना अस्पतालमा नै बसेर उपचार गर्न चिकित्सकले सुझाव दिएका छन् । उनीहरू सबैलाई सुरुमा अस्पताल आएर यति लामो समयसम्म उपचार गर्नुपर्छ भन्दा पढाइ छुट्ला भन्ने ठूलो पीर थियो । तर अहिले आयुशा, शान्ति, जीवन, चन्दनहरूलाई पढाइ छुट्ने पटक्कै चिन्ता छैन । किनकि उपचार भइरहेको अस्पतालले उनीहरूजस्ता लामो समय बसेर उपचार गर्नुपर्ने बिरामीहरूको पढाइ नछुटोस् भनेर नि:शुल्क कक्षा सञ्चालन गर्दै आएको छ ।

उपचारका लागि भर्ना भएका बालबालिकाको पढाइ नछुटोस् भनेर अस्पतालले नै बहुकक्षा शिक्षण विधिमा आधारित कक्षा सञ्चालन गरी नियमित पढाइ सञ्चालन गरिरहेको छ । १८ वर्षमुनिका बालबालिकाको उपचार हुने यस अस्पतालमा कक्षा १० सम्मका विद्यार्थीलाई बहुकक्षा शिक्षण विधिमा अध्यापन गराइरहेको शिक्षिका नारायणी अधिकारी बताउँछिन् । ‘लामो समय अस्पतालमा बसेर उपचार गर्नुपर्दा विद्यार्थीको पढाइ नबिग्रियोस् भनेर यो कक्षा सञ्चालन गरेको हो,’ उनले भनिन् ।

सुरुमा दुई महिना यहीँ बसेर उपचार गर्नुपर्छ भन्दा आफ्नो पढाइको छुट्ला भन्ने आयुशालाई ठूलो चिन्ता लागेको थियो । अस्पतालमै नै पढ्ने व्यवस्था भएको थाहा पाएपछि भने उनलाई पढाइको चिन्ता हटेको बताउँछिन् । सुरुमा आयुशाले उपचार गर्न आउनेका लागि पढाइ पनि हुन्छ भन्दा पत्याउँदै पत्याइनन् । ‘अस्पतालमा पढाइ हुन्छ र भनेर पत्याउँदै पत्याइनँ,’ उनले कोपिलासँग भनिन्, ‘पढ्न थालेपछि मात्र विश्वास भयो ।’ उपचारसँगै पढाइ पनि सँगै भएपछि चैतमा हुने अन्तिम परीक्षाको दिन आफ्नै विद्यालय जाने सोच बनाएकी छन् । उनीजस्तै उपचारका क्रममा यहीँ अध्ययन गरेका तर परीक्षाका लागि आफ्नो विद्यालय पुग्न नसक्नेहरूका लागि अस्पतालले नै सम्बन्धित विद्यालयसँग सहकार्य गरी त्यहीँ

परीक्षा दिने व्यवस्था पनि गरेको शिक्षिका अधिकारीले बताइन् ।

अस्पतालमा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म नियमित कक्षा सञ्चालन हुन्छ । उपचार हुने र खानपानबाहेक अन्य समयमा पढाइ हुने गरेको छ । विद्यार्थीहरूले अस्पताल आउँदा पुस्तक तथा कापी कलम ल्याउँदैनन् भनेर कक्षा १ देखि १० सम्मका पुस्तकहरू अस्पतालले आफंै व्यवस्थापन गरिदिने गरेको अस्पतालका प्रशासकीय अधिकृत राजीव श्रेष्ठ बताउँछन् । सन् २०१४ देखि सुरु भएको यो विद्यालयमा हालसम्म २६ सयभन्दा बढी बालबालिकाले अध्ययन गरिसकेका छन् । यहाँ उपचार पूरा भएपछि उनीहरू पुन: आफ्नै विद्यालयमा पढ्न फर्कन्छन् ।

१८ वर्षमुनिका बालबालिकाको उपचार हुने यो अस्पतालमा पढाइ मात्र नभएर उनीहरूको सम्पूर्ण उपचार नि:शुल्क हुने गर्छ । यदि कुनै अभिभावकले आफ्नो गच्छेअनुसार स्वेच्छाले दिएको सहयोग भने अस्पतालले लिने गरेको अधिकृत श्रेष्ठले जानकारी दिए । १९८५ मा स्थापना भएको विकलांग मित्र समूहले अहिलेसम्म ८३ हजार बालबालिकालाई नि:शुल्क उपचार गरिसकेको छ । विशेषगरी हाडजोर्नी तथा नशासम्बन्धी समस्या र लामो समय थेरापीमार्फत गर्नुपर्ने उपचार सेवा यहाँ उपलब्ध छ । गत वर्ष मात्र यस केन्द्रमा आएर उपचार गर्ने बालबालिकाको संख्या २६ हजार ६ सय ५४ रहेको थियो ।


अरूभन्दा यो अस्पताल अन्य कुराले पनि फरक छ । अरू अस्पतालमा बिरामी आफैं उपचारका लागि आउँछन् तर यो अस्पतालमा आई नपुग्ने बिरामी खोज्न कर्मचारी गाउँगाउँ पुग्छन् । बिरामी भेट्टाएपछि कतिपयलाई त्यहीँ उपचार गर्छन् । त्यहाँ उपचार सम्भव नभएकालाई बनेपा ल्याएर उपचार गर्छन् । बनेपा ल्याएर उपचार गर्नुपर्ने बिरामी लामो समयका लागि आउने हँुदा बिरामी पत्ता लागेपछि अभिभावक र बालबालिकालाई परामर्श पनि दिने गरिन्छ । उपचार पूरा भएपछि पनि उनीहरूलाई छोटो या लामो अवधिका लागि पुनस्र्थापना गर्ने र समाजमा स्थापित गर्ने खालका काममा अस्पतालले सहयोग गर्दै आएको छ । बालबालिकाको उपचार गर्ने अस्पताल भएकाले यहाँ बाल अधिकारको पूर्ण प्रत्याभूति गराइएको छ । अन्तर्राष्ट्रिय बाल अधिकारका कानुन यहाँ लागू हुन्छन् । अस्पतालले अपांगता भएका र अन्य बालबालिकाहरूको अधिकार संरक्षणका लागि भनेर बिरामीका अभिभावक, कार्यरत कर्मचारी र अन्य सरकारवालाहरूका लागि २१ बुँदे आचारसंहिता पनि लागू गराएको छ । यहाँ बालबालिकासँग एक्लै, एकान्त या कोठाभित्र बस्न पाइँदैन । उनीहरूको इच्छाविपरीतका कुरा पनि गर्न पाइँदैन ।

प्रकाशित : फाल्गुन १३, २०७४ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?