३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दुर्गमको नमुना

विद्या राई

काठमाडौँ — भोजपुरको घोडेटारस्थित सगरमाथा मावि, कक्षा ६ मा पढ्ने सविना थापा र उनका साथीहरू टिफिनको समय पुस्तकालय जान्छन् । उनीहरूका अगाडि टेबलभरि पत्रपत्रिका, पुस्तक हुन्छन् । सबैजना 
आफ्नो रुचि अनुसार पढाइमा मग्न हुन्छन् । उनीहरूलाई बालकथा, कविता, गीतहरू खुबै मन पर्छ ।

दुर्गमको नमुना

बालपत्रिका, समाचारमूलक पत्रपत्रिका, पुस्तकहरूमा कथा, कविता, गीतहरू खोजी–खोजी पढ्छन् । एक घण्टाको समय कति चाँडै बित्छ, पत्तै पाउँदैनन् ।

बालपत्रिकामा हुने शब्दजाल र जोडा मिलाऊजस्ता स्तम्भ उनीहरूका लागि खुराक बन्ने गर्छ । साथी–साथी मिलेर छलफल गर्दै जोडा मिलाउन, चित्रहरूमा रंग र खाली कोठा भर्न रमाइलो लाग्छ । कक्षा ६ देखि १२ सम्म पढाइ हुने यस विद्यालयमा उनीहरू गाउँका विद्यालयमा प्राथमिक तह सकेर आएका हुन् । प्राय:को उमेर १०/११ वर्षको छ । नयाँ विद्यालयमा कक्षाकोठा, खेलमैदान, शौचालय, शिक्षकहरू, पढाउने शैली सबै उनीहरूलाई नयाँ लाग्ने गरेको छ । ‘पुस्तकालय त झनै नयाँ लागेको छ र रमाइलो पनि,’

उनीहरू भन्छन् । खैराङस्थित एक स्थानीय प्राविमा पढेर आएकी ११ वर्षीया सुम्निमा राई पहिलो पटक पुस्तकालय छिर्दा अचम्मित भएकी थिइन् । यसअघि उनले पुस्तकालय भनेको पढ्ने ठाउँ हो भनेर मात्रै थाहा पाएकी थिइन् । तर लाइब्रेरी कस्तो हुन्छ भन्ने देख्न पाएकी थिइनन् । अहिले भने पुस्तकालय भएकाले टिफिनको समयमा पनि पढ्ने बानी बसेको छ । बेलामौका भलिबल, फुटबल खेल्न गए पनि अधिकांश समय उनीहरू पुस्तकालयमै बिताउँछन् ।

कक्षा ६ मै अध्ययन गर्ने हेमराज सुवेदी पहिले खेल्न खुबै रुचाउँथे । यहाँ पढ्न थालेदेखि पुस्तकालयमा पढ्न रुचाउँछन् । शान्त वातावरण, पुस्तकालयको सेटिङ, पुस्तक पत्रपत्रिकाको उपलब्धताले गर्दा साना भाइबहिनीहरूलाई अध्ययनमा रुचि बढेको कक्षा १२ का पुकार थापाले सुनाए । ‘हामी ठूला कक्षाकाले त पढ्नै पर्ने हुन्छ, पुस्तकालयमा आइन्छ, हाम्रो व्यवहार साना भाइबहिनीहरूले टपक्कै टिप्ने गरेका छन्,’ उनले भने । ठूला कक्षाका दाजुदिदीहरूलाई देखेर पनि साना कक्षाका नानीहरूमा पुस्तकालयमा अध्ययनको रुचि हुने गरेको छ । टेबल, कुर्सी मिलाइएका, क्याबिनसहितको पुस्तकालय छिर्दा अभिभावक तथा विद्यालयका पाहुनाहरू पनि छक्कै पर्छन् । पुस्तकालयको सेटिङ, थुपै्र किसिमका पुस्तक र पत्रपत्रिका सजाइएका चाङ, पुस्तकालयमा झुम्मिरहने विद्यार्थीको चापले यो राजधानीकै कुनै पुस्तकालय हो कि जस्तै भान पर्छ ।


सिंगापुर पुलिस फोर्सका भूतपूर्व लाहुरे जीवन खाहोङ राईलाई ०७१ सालमा पहिलो पटक पुस्तकालय छिर्दा यस्तै भान परेको थियो । उनी यस विद्यालयका भूतपूर्व विद्यार्थीसमेत हुन् । लाहुरबाट आएपछि पुस्तकालयलाई उनले नि:शुल्क पुस्तकहरू उपलब्ध गराएका छन् । उनकै पहलमा अब ई–लाइब्रेरी स्थापनको पहलसमेत हँुदै छ ।

०४१ सालमा स्थापना भएको यो पुस्तकालय विद्यालयको लगानीमा स्थापित उदाहरणीय पुस्तकालय मानिन्छ । पुस्तकालय प्रमुख दिलकुमार राईका अनुसार पाठयपुस्तकबाहेक यहाँ चर्चित लेखकका ८ हजार २ सयभन्दा बढी उपन्यास, कथा संग्रह, निबन्ध संग्रह तथा पुराना पुस्तक छन् । दुर्गमको यस विद्यालयमा सुगमको विद्यालयमा भन्दा व्यवस्थित र नमुनालायक पुस्तकालय छ । विद्यार्थीका लागि मात्र नभई अभिभावक र पाहुनाहरूका लागि समेत यो फुर्सको समय सदुपयोग गर्ने गतिलो माध्यम बनेको प्रधानाध्यापक हेमराज न्यौपानेले बताए ।

प्रकाशित : फाल्गुन १३, २०७४ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?