कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पढ्ने ठाउँ कस्तो ?

अध्ययन परिणाम भन्छ– बन्दकोठामा भन्दा प्राकृतिक वातावरणमा पढ्नु धेरै प्रभावकारी
कान्तिपुर संवाददाता

काठमाडौँ — सानो, मीठो, शान्त, सुगन्धी, अनुपम, बस ! मेरा निमित्त त्यही हो नेपाल ! यहाँ वाग्नर कोदाली खनिरहेछन् । शेक्सपियर हलो जोत्दा हुन् । टिसियन र टर्नर भेडा चराउँदा हुन् ।

पढ्ने ठाउँ कस्तो ?

सोक्रेटिज गुफामा घोत्लिरहेका होलान् । कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान् । मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन् । मेरो वनमा हेलेन केलरहरू गीत गाउँछन् । यहाँ कति सावित्रीहरू छन् जसका कथा संसारले सुनेकै छैन । यहाँ कति साहित्य छ, जो लेखिएकै छैन । न लेखिनेछ । नालाहरूका प्राकृतिक वेद बुझ्ने आजकल कति हृदय होलान् ? यहाँका सूर्योदयका सुनौला दृश्य कान्तिपुरीमा के जान्ने छैनन् ? के साना चराहरू हृदयाकाशमा अमर बेलीकुञ्ज बोल्दैनन् ? के गुलाबको छातीमा टप्केका रजनीघनीभूत मोतीदाने शीतलवजस्ता प्रेमका कणहरू, जो मभित्र खँदिलो भइरहेछन्, के ती साना छन् ?’

यो अनुच्छेद ‘के नेपाल सानो छ ?’ शीर्षक निबन्धको एक अंश हो । यसका निबन्धकार हुन्– महाकवि लक्ष्मीप्रसाद देवकोटा । निबन्धमा देवकोटाले नेपालको प्राकृतिक सौन्दर्य र सम्पदाको असाध्यै उत्कृष्ट चित्रण गरेका छन् । प्रकृतिको महत्त्व के हो भन्ने बुझाएका छन् । अनि हामीले प्रकृतिको महत्त्व बुझ्न नसकेको तथ्यलाई समेत उजागर गरिदिका छन् । देवकोटाको ठहर थियो– मानव जीवनका लागि प्रकृति आफैंमा एउटा सिंगो विश्वविद्यालय हो । देवकोटाले यो कुरा कुनै अनुसन्धान गरेर भनेका थिएनन् । तर हालसालै गरिएका अनुसन्धानहरूका नतिजाले पनि यो तथ्यलाई प्रमाणित गरिदिएको छ । कक्षाकोठाको बन्द वातावरणमा गुम्सिएरभन्दा प्रकृतिको नजिक रहेर गरिने सिकाइ क्रियाकलाप प्रभावकारी हुने अनुसन्धानले देखाएको छ । यस्तो शिक्षण पद्धतिले विद्यार्थीहरू प्रेरित हुने र उनीहरूको क्षमता अझ बढ्ने पाइएको छ ।

विद्यार्थीको सिकाइ कसरी राम्रो हुन्छ भन्ने प्रश्न अहिले संसारभर सबैमाझ छ । साइकोलजी टुडे डटकम नामको अनलाइनमा प्रकाशित एक अनुसन्धानमूलक लेखअनुसार विद्यार्थीलाई प्राकृतिक वातावरणमा पढाइयो भने त्यो ज्यादा प्रभावकारी हुन्छ । उक्त लेखमा भनिएको छ, ‘विद्यार्थीहरूलाई बन्द कोठाबाट बाहिर लैजानुपर्छ । प्रकृतिको नजिक लगिएको अवस्थामा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ ।’

विज्ञानजस्तो विषयका लागि त यो विधि झनै प्रभावकारी मानिएको छ । प्रकृतिको निकट रहँदा विद्यार्थीमा स्फूर्ति बढ्छ । आन्तरिक प्रेरणा राम्रो हुन्छ । उनीहरूले भनेको र सुनेको आधारमा मात्र नभई अनुभव नै गरेर ज्ञान आर्जन गर्ने अवसर पाउँछन् । नर्वेस्थित स्टाभान्गर विश्वविद्यालयका लेखक तथा अध्ययन टोलीका प्रमुख मनोवैज्ञानिक उलरिक डेटवेइलर भन्छन्, ‘कक्षाकोठाभित्र भन्दा बाहिर लगेर पढाएको अवस्थामा बालबालिकाको सिकाइ थप प्रभावकारी हुन्छ । यस प्रकारको सिकाइबाट विद्यार्थीहरूमा पढाइप्रति थप रुचिसमेत जाग्छ ।’ अध्ययनमा डेटवेइलरसँगै म्युनिख विश्वविद्यालयका जर्मन सहयोगीहरू तथा जोहानेस गुटेनबर्ग विश्वविद्यालयका शोधकर्ताहरू सहभागी थिए । उनीहरूले विद्यार्थीले सिक्नैपर्ने तीन कुराको जाँच गरेका थिए ।

ती हुन्– विद्यार्थीको क्षमता, स्वतन्त्र रचनात्मकता र सम्बन्ध विस्तार ।

अध्ययनका क्रममा जर्मनीमा करिब तीन सय विद्यार्थीलाई विज्ञानको पाठ पठाउन एक सातासम्म आवासीय कार्यक्रम चलाइएको थियो । यसमा दुईदिने अनुसन्धान कार्यक्रम पनि थियो । यो अध्ययनमा सहभागी हुनु अघि र पछिको अवस्थाबारे मूल्यांकन गर्न विद्यार्थीलाई प्रश्नहरू दिइएको थियो । ती प्रश्नको जवाफबाट विद्यार्थीले माथि भनिएका तीन बुँदाबारे कस्तो अनुभव गरे भन्ने कुरा पत्ता लगाइएको थियो ।

उनीहरूलाई सोधिएका मुख्य प्रश्न थिए– के तिमीले आफूलाई सक्षम महसुस गर्‍यौ ? के तिमीले आफ्नो सिकाइको स्तर वास्तविक रूपमै बढाउन सफल भयौ ? के तिमी स्वतन्त्र रूपमा आफ्नो विचार र निर्णय लिन सक्षम भयौ ? आफ्ना साथी र शिक्षकहरूसँगको तिम्रो सम्बन्ध कस्तो रहयो ?

डेटवेइलरका अनुसार अध्ययनको उद्देश्य विद्यार्थीले कक्षाकोठाभित्रको तुलनामा बाहिर पढाउँदा उनीहरूले बढी प्रेरक व्यवहार देखाउँछन् कि देखाउँदैनन् भन्ने पत्ता लगाउनु थियो । कक्षाकोठाभित्र भन्दा बाहिर विद्यार्थीले रामो प्रदर्शन गरेको पाइयो । विद्यार्थीहरूको सम्बन्धको स्तर भने शिक्षकसँग राम्रो र आफ्नै साथीसँग कम देखिएको थियो ।

अध्ययनका क्रममा कोर्स पूरा गरिसकेपछि विद्यार्थीको अवलोकन र कुराकानीका आधारमा तथ्यांकहरू बटुलिएको थियो । कक्षाकोठा भित्र र बाहिरको दुवै सन्दर्भमा उनीहरूको मस्तिष्कमा कुनचाहिँको राम्रो प्रभाव पर्‍यो भन्ने पनि उनीहरूलाई लेख्न लगाइएको थियो । डेटवेइलर भन्छन्, ‘इनडोर (कक्षाभित्रको) शिक्षणद्वारा बनाइएका विषयहरूको सूचीको तुलनामा आउटडोर (कक्षाबाहिरको) शिक्षा बढी सार्थक देखियो ।

विद्यार्थीले अध्ययनमा खर्चेको उत्तिकै समयमा वनस्पतिहरूको बोटानिकल नाम (वैज्ञानिक नाम) जस्ता विषयमा प्राकृतिक वातावरणमा विस्तृत ज्ञान हासिल गर्न सकेको उल्लेख गरेका थिए । प्राकृतिक वातावरणमा पढ्दा तनावको स्तर पनि धेरै नै घटेको उनीहरूले महसुस गरेका थिए । अध्ययन अवधिमा डेटवेइलर र केही सहयोगीहरूले दिनहुँ दुई समूहमा रहेका बालबालिकाका तनाव हर्मोन ‘कोर्टिसोल’ को स्तर मापन गरेका थिए ।

सामान्य रूपमा स्वस्थ्य व्यक्ति बिहान कोर्टिसोलको स्तर निकै बढ्ने गर्छ । मध्याह्नसम्ममा यो घट्छ भने मध्याह्नपछि यसमा एकरूपता (स्थिर) जस्तो देखिन थाल्छ । तर, ४ या ५ बजे बेलुकादेखि बेडमा नगएसम्म ‘कोर्टिसोल’ घट्छ । अध्ययनका क्रममा हरेक दिन तीन पटकसम्म विद्यार्थीहरूको र्‍यालको नमुना लिएर परीक्षण गरिएको थियो । नमुना लिइएकामध्ये ३७ जना विद्यार्थीको एक समूहलाई हरेक साता एक दिन नजिकैको जंगलमा गएर पढ्ने अवसर दिइएको थियो । बाँकी समय उनीहरूले सामान्य रूपमा आफ्नो स्कुलमा बिताएका थिए । त्यस्तै, अर्को समूहका ११ जना विद्यार्थीले भने घरभित्रै बसेर पढेका थिए । आउटडोर समूहका बालबालिकाको ‘कोर्टिसोल’ स्तर सामान्य थियो । तिनीहरूको स्वास्थ्य पनि राम्रो थियो । तर कोठाभित्रै रहेर पढाइ गरेका बालबालिकाको ‘कोर्टिसोल’ बेलुकीपख चाहिनेजति भन्दा कम भएको पाइएन ।

‘तिनीहरूमा दिनभरिको तनाव उच्च थियो,’ डेटेवेइलरले भने, ‘यस्तो अवस्थामा बालबालिकाले राम्रो सिकाइ गर्न सक्तैनन् ।’ डेटवेइलरले बाहिर रहँदा बालबालिकाको मस्तिष्कमा कस्तो प्रभाव पर्छ भन्ने कुराको समेत अध्ययन गरेका थिए । उनी भन्छन्, ‘एकपटक बालबालिकालाई बाहिर त लग्नुस्, आश्चर्यजनक परिणाम पाउनुहुनेछ ।’ उनलाई थाहा छ कि, सबै कार्यक्रममा सधंै बालबालिकालाई प्राकृतिक वातावरणमा सहभागी गराउन सकिन्न । तर आउटडोर सिकाइका लागि सक्दो प्रेरित गर्न भने सकिन्छ । ‘यो दिनभरि नै गर्नुपर्छ भन्ने छैन,’ उनी भन्छन्, ‘नियमित रूपमा आधा घण्टा मात्रै प्रकृति नजिकै रमाउन पाउनु पनि काफी छ । यसले बालबालिकाको सिकाइमा औधि चाख बढाउँछ ।’

– साइकलोजी टुडे

प्रकाशित : फाल्गुन १३, २०७४ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?