झन्डै हराएको ! 

कान्तिपुर संवाददाता

काठमाडौँ — विद्यालयले नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीलाई शैक्षिक भ्रमण लैजाने निधो गर्‍यो । सबैजना खुसी भयौं । पहिलो दिन कक्षा १० का विद्यार्थीलाई शैक्षिक भ्रमण लैजान सुरु भयो ।

सुरु गरेकै दिन दाइदिदीले नयाँनयाँ लुगा लगाएको देख्दा आफ्नो शैक्षिक भ्रमणको पालो कहिले आउलाजस्तो लाग्न थाल्यो । सुरु गरेकै दिनबाट गन्दा तीन दिन मात्र बाँकी थिए । तर, ती ३ दिन पनि कति लामो समय पो हुँदो रहेछ । कक्षा ८ को शैक्षिक भ्रमणपछि हाम्रै कक्षाको पालो आयो ।


हाम्रा कक्षाका साथीलाई शिक्षकहरूले डोलेश्वर महादेव मन्दिर लैजाने निर्णय गर्नुभयो । हामी सबै खुसी भयौं । साथीहरू एकै ठाउँमा बसेर भोलि कुन लुगा लगाउने होला, केके खाँदै जाने होला, त्यो ठाउँ कस्तो होला भनेर छलफल गर्‍यौं । घर फर्केपछि पनि मनमा धेरै खुल्दुली लागिरहयो । बेलुकाको खाना आइसकेपछि म चाँडै सुतेँ । राति पनि बेलाबेलामा ब्युँझिरहुँ । कहिले ११ बजेको हुन्थ्यो त कहिले १ बजेको हुन्थ्यो । अलि पछि झस्याङ ब्युँझेको त बिहानको ५ बजिसकेको रहेछ । डोलेश्वर मन्दिर जाने भएपछि नुहाएर जानुपर्छ भनेको मैले सुनेकी थिएँ । त्यस कारण म नुहाउन गएँ । बिहान साढे ८ बजे म घरबाट शैक्षिक भ्रमणका लागि निस्कें ।


म विद्यालय पुग्दा ९ बजेको थियो । त्यस बेला साथीहरू आइसकेका थिए । सबै साथी जम्मा हुँदा प्रार्थनासभाको घण्टी पनि बज्यो । प्रार्थना सकेपछि हामी आफ्नो कक्षामा गयाैँ । गुरुआमाले हामी सबै जनालाई शुभयात्रा भन्नुभयो । यसले हामीलाई उत्साहित बनायो । त्यसपछि हामी शैक्षिक भ्रमणका लागि बसमा बस्न गयौं । कोटेश्वरको जामले हामीलाई अलि ढिलो गरायो । डोलेश्वर पुग्दा ११ बजेको थियो । त्यहाँ आधा घण्टाजति बस्याैँ । त्यहाँ एउटा भुलभुलैया मन्दिर रहेछ । त्यो भुलभुलैया मन्दिरभित्र धेरै शिवलिङ्ग रहेछन् । म त त्यहाँ हराएछु । धन्न, मेरा साथीहरू मलाई लिन आएछन् । म फर्किएर साथी भएतिर गएँ ।


त्यसपछि शिक्षकले हामीलाई गणेश पार्क लैजानुभयो । हामीले त पाइलोट बाबा आश्राम लैजानु भनेका थियौं तर त्यहाँ धेरै हिँड्नुपर्ने भएकाले उहाँले हामीलाई त्यहाँ लानु भएन । हामी गणेश पार्क जाँदा बाटोमा एउटा आर्मी ब्यारेक पनि पर्दो रहेछ । ब्यारेक हुँदै गणेश पार्क जानुपर्ने हुँदा हामीलाई अलि डर पनि लागेको थियो । तर, डराउनुपर्ने कुरै केही थिएन । हामी गणेश पार्क पुग्नसाथ एउटा समूहले नृत्य गरिरहेको देखियो । केही बेर त्यो रमाइलो हेर्‍यौँ । त्यहाँ पुग्न १ सय २६ सिँढी चढेर जानुपर्ने रहेछ । हिँड्न निकै गाह्रो हुँदो रहेछ । तर, हामीले हिँडेर नै पुग्यौँ । त्यसपछि हामीले त्यहाँ आफूले ल्याएको खाजा खायौँ । सबै साथी मिलेर रुमाल लुकाई खेल्यौँ । आधा घण्टा जति खेलेपछि शिक्षकले हामीलाई माथितिर देखाएर अर्को मन्दिर गएर आउन भन्नुभयो । त्यहाँ पुग्न पनि १०० भन्दा बढी सिँढी उक्लनु पर्ने रहेछ । बल्लतल्ल सबैजना गयौँ । रमाइलो रहेछ । त्यहाँ शिक्षकले हाम्रो सामूहिक फोटो खिचिदिनुभयो । त्यस बेलासम्म सवा २ भइसकेको थियो । जाडो मौसमका कारण हाम्रो स्कुलमा ३:२० मा छुट्टी हुन्थ्यो । त्यही भएर शिक्षकले हामीलाई विद्यालय फर्कनका लागि जानकारी गराउनुभयो । फर्कंदा पनि कोटेश्वरको जामका कारण हामीलाई ढिलो भयो । हामी विद्यालय पुग्दा सबै साथीहरू घर जान तयार भइसकेका रहेछन् । हामी पनि सधैंझैं समयमा नै आ–आफ्नो घरतर्फ लाग्याैँ ।


-मनवी तिमिल्सिना, कक्षा–७

हिन्दू विद्यापीठ नेपाल, ललितपुर

प्रकाशित : फाल्गुन २०, २०७४ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?