१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उठाऔँ आवाज !

मनोज पौडेल

काठमाडौँ — फागुन बिहेका लगन भएको महिना पनि हो । यति बेला धेरै युवायुवतीले वैवाहिक जीवनको थालनी गर्नु स्वाभाविक हो । तर हाम्रो मुलुकका गाउँबस्तीमा उमेरै नपुगी बिहे गरिदिने चलन अझै छ । मुलुकमै बढी बालविवाह हुने ५ जिल्लामध्ये कपिलवस्तु पनि हो । त्यसैले यहाँ बालविवाहविरुद्ध अभियान चल्दै आएको छ । 

उठाऔँ आवाज !

यसै सिलसिलामा केहीअघि आयोजित एक कार्यक्रममा नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय चन्द्रौटामा कक्षा ८ मा पढ्ने गीता अग्रहरिले भनिन्, ‘बालविवाह समाज, परिवार र राष्ट्रकै लागि घातक छ । म आफू पनि गर्दिनँ र समाजमा पनि यस्तो हुन दिन्नँ ।’

१३ वर्षे गीताका अनुसार बालविवाह हुनु भनेको मृत्यु शय्यामा पठाउनुजस्तै हो । ‘त्यही भएर यसविरुद्ध आजैबाट लाग्ने प्रतिबद्धता गर्छु,’ उनले भनिन् । उनी जस्तै प्रकाश उच्च मावि सुन्दरीडाँडामा कक्षा ७ मा पढ्ने हरिकला केसीले पनि बालविवाहविरुद्ध आवाज बुलन्द गरिन् । ‘उमेर नपुग्दै बच्चाबच्ची पाउनुपर्दा अनेक समस्या आउँछन्,’ १३ वर्षे हरिकलाले भनिन्, ‘अकालमै ज्यान पनि जान सक्ने रहेछ । त्यसैले म पनि बालविवाहविरुद्ध लाग्ने प्रण गर्दछु ।’

कार्यक्रममा बालविवाहविरुद्ध अभियानमा सक्रिय नायिका रेखा थापाले मर्मस्पर्शी मन्तव्य दिएकी थिइन् । ‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान’ अन्तर्गत बालविवाह अन्त्यका लागि संकल्प सम्मेलनमा उनको मन्तव्य सुनेपछि कार्यक्रममा सहभागी सबै बालबालिकाको मन प्रफुल्ल भयो । उनीहरू सबैले छातीमा हात राखेर आफू बालविवाह नगर्ने र हुन पनि नदिने प्रतिबद्धता जनाए । कार्यक्रम कपिलवस्तुको चन्द्रौटास्थित नेपाल राष्ट्रिय उच्च माविमा भएको थियो ।

‘नेपाली नारी पछाडि पर्नुको मुख्य कारण बालविवाह पनि हो र छोरीलाई छिटो विवाह गराउनु भनेको अपांग बनाउनुजस्तै हो । यसो गर्दा उनीहरूको पढाइ पूरा हुन पाउँदैन । सानैमा बच्चा जन्माउनुपर्दा अनेक शारीरिक समस्या आउँछन् । जीवनभर पुरुष निर्भरतामा बाँच्नुपर्छ । अनि नारीका सपना कहिल्यै पूरा हुन पाउँदैनन् । त्यसैले त्यस्तो विकृति र कुसंस्कारलाई जरैदेखि फाल्नुपर्छ,’ नायिका थापाले भनिन् ।

नायिकाका यी शब्द खस्न नपाउँदै प्रकाश मावि सुन्दरी डाँडाँमा कक्षा ८ मा पढ्ने १४ वर्षे शिशिर घर्ती मगरले माइक समाते र भने, ‘छोरीलाई छिट्टै घरबाट धपाउन पाए राम्रो हुन्थ्यो भन्ने गलत संस्कार नेपाली समाजमा छ । अवसर पाए नारी पनि पुरुषभन्दा कम हुँदैनन् । त्यसैले यो कुरामा सबै सचेत हुन जरुरी छ ।’

कार्यक्रमा नायिका थापाले आफूले सानैदेखि घरमा गरेको विद्रोह पनि सुनाइन् । ‘दाइ क्यारेमबोर्ड खेलेर राति अबेर आउँदा हुने, म टयुसन पढेर साँझ ६ बजेपछि आउँदा गाली गर्ने ? चित्त बुझेन । घरमै विद्रोह गरँे,’ उनले भनिन्, ‘त्यसपछिबाट आमाले केही भन्नुभएन ।’

कार्यक्रममा चन्द्रौटा आसपासका १० विद्यालयका हजारभन्दा बढी विद्यार्थी सहभागी थिए । अभियानको परिकल्पनाकार नरबहादुर कार्कीले कसैसँग सहयोग नदिई

आफ्नै खर्चमा यो अभियान चलाएको बताए । ‘संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मानव अधिकार प्रतिवेदनमाथि छलफल हुँदा बालविवाहका विषयमा नराम्रो सन्देश जाँदा मुलुककै बेइज्जत भयो,’ उनले भने, ‘त्यही पीडाले मन छोयो । त्यसैले यस्तो अभियानमा लागेका हौं ।’

उनका अनुसार यो अभियान सन् २०१६ को मार्चमा सुर्खेतबाट सुरु गरिएको थियो । ‘सधैंभरि अभियानमा लाग्न सक्दैनौं,’ उनले भने,’ ‘हामी दुवैले समय निकालेर अहिलेसम्म १५ जिल्लाभन्दा बढी पुगिसकेका छौँ ।’ कम्तीमा ३ वर्षभित्र बालविवाहमुक्त नेपाल बनाउने चाहना रहेको उनले सुनाए ।

प्रकाशित : फाल्गुन २०, २०७४ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?