कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

चुनिए चाइल्ड आइकन

अभिभावकहरू बाबुनानीका क्षमता बुझेर प्रतिभा उजागर गर्न अघि सरेका छन् । यसमा बेलाबखत आयोजना हुने विभिन्न प्रतियोगिता राम्रो अवसर बन्छन् ।  
राजाराम पौडेल

काठमाडौँ — हरेक व्यक्तिसँग एक न एक प्रतिभा हुन्छ । तर कतिले आफ्नो प्रतिभा देखाउन खोज्छन्, कतिले खोज्दैनन् । जसले प्रतिभा देखाउँछ, उसको चर्चा परिचर्चा हुन थाल्छ । अवसर नपाएका कारण प्रतिभा बाहिर आउन नसेका पनि कैयौं छन् ।

चुनिए चाइल्ड आइकन

यसमा परिवारको साथले मुख्य भूमिका खेल्छ । आफ्ना बाबुनानीको रुचि र क्षमताबारे खोजी गर्नुभन्दा परिवारको इच्छाअनुसार उसलाई काम गर्न लगाइन्छ । फलस्वरूप कतिपय बाबुनानी असफल हुन्छन् । प्रगति गर्न सक्दैनन् । तर पछिल्लो समयका अभिभावक सचेत बन्न थालेका छन् । उनीहरू आफ्ना बाबुनानीका क्षमता बुझेर प्रतिभा उजागर गर्न अघि सरेका छन् । यसमा बेलाबखत आयोजना हुने विभिन्न प्रतियोगिता राम्रो अवसर बन्छन् ।


सुन्दर नगरी पोखरामा हालै आयोजित ‘चाइल्ड आइकन पोखरा, सिजन वान’ प्रतियोगिता प्रतिभा प्रस्फुटन गर्नेका लागि राम्रो अवसर बन्न पुग्यो । त्यसका लागि मंसिर २७ देखि पोखराका विभिन्न १० विद्यालयमा आयोजकले अडिसन लिएका थिए । झन्डै दुई सय विद्यार्थी जुनियर र सिनियर चाइल्ड आइकनमा सहभागी बने । अडिसनमा सहभागी प्रतियोगीले आफ्नो रुचि र क्षमताअनुसार प्रतिभा देखाएका थिए । यसरी प्रतिभा प्रदर्शन गर्नेमध्येबाट ५४ जना अन्तिम प्रतिस्पर्धामा छानिएका थिए । यसरी छानिएका प्रतिभालाई व्यक्तित्व विकास, सामाजिक चेतना, पारिवारिक चेतनालगायत तालिम दिइएको थियो । त्यसपछि उनीहरूले पोखरा सभागृहमा उपाधिका लागि अन्तिम प्रतिस्पर्धा गरे । जुनियर चाइल्ड आइकनका लागि १५ र सिनियर चाइल्ड आइकनका लागि ३६ जना स्टेजमा उत्रिएका थिए । उनीहरूलाई सघाउन साथी र अभिभावक सभागृहमा पुगेका थिए ।


टयालेन्ट राउन्डमा प्राप्त गरेको अंक र ग्रान्ड फिनालेमा उनीहरूले दिएको प्रस्तुतिका आधारमा विजेता छनोट गरिएको थियो । जसअनुसार सिनियरतर्फ सेन्ट मेरिजमा अध्ययनरत आयुशा थापाले उपाधि जितिन् । मदरल्यान्डमा अध्ययनरत प्रमिस थापा मगर फस्ट रनरअप र सेन्ट मेरिजमै पढ्ने प्रियंका तामाङ सेकेन्ड रनरअप बनिन् । जुनियरतर्फको उपाधि स्टेप वाई स्टेप कक्षा ३ मा अध्ययनरत प्रिजन परियारले हात पारे । सरस्वती वृद्धाश्रम कक्षा ३ मा अध्ययनरत आज्ञा छत्याल फस्ट रनरअप र कास्की मोर्डनाइज्ड एकेडेमीमा कक्षा ५ मा अध्ययनरत सिजन गुरुङ सेकेन्ड रनरअप भए । अन्य प्रतियोगीले पनि विभिन्न सवटाइटल हात पार्दै आफूसँग भएको प्रतिभाबारे जान्ने मौका पाएका थिए ।


विजेता र उपविजताले अब टर्की, बुल्गेरिया, ब्राजिल, साउथ अफ्रिकालगायत देशमा प्रतिस्पर्धा गर्न पाउने आयोजक संस्था मिडिया ल्यान्डले जनाएको छ । यसअघिका विजेता र उपविजेता ती मुलुकमा सहभागी भइसकेका छन् ।


यो प्रतिस्पर्धा पहिलो पटक सन् २०१० बाट काठमाडौंमा सुरु भएको थियो । त्यसको दुई वर्षपछि जुनियर र सिनियर प्रतिभा एउटै मञ्चबाट छान्न थालियो । सन् २०१६ बाट यसलाई छुट्टाछुट्टै रूपमा आयोजना गर्न थालिएको छ । हालसम्म झन्डै २५ सय बाबुनानीलाई अडिसनमार्फत सामेल गराइसकेको यो संस्था मोफसलमा पहिलो पटक पोखरा आइपुगेको हो । बिस्तारै देशका सबै सहरमा पुर्‍याउने आयोजकले जनाएका छन् ।

प्रकाशित : फाल्गुन २७, २०७४ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?