कसरी बन्यो टुथ ब्रस ? 

त्रिचन्द्र प्रतीक्षा

काठमाडौँ — तिम्रो दाँत कीराले खाएको छ कि छैन ? यदि छैन भने, राम्रै भयो । श्वास गन्हाउनेलगायत अरू मुखसम्बन्धी रोगबाट बच्न हामी दाँत माझ्ने गर्छौँ । दिनहुँ दाँत सफा गर्नका लागि टुथ ब्रसले दाँत माझ्ने गर्दछौँ । तर हामीले प्रयोग गर्ने टुथ ब्रसको आविष्कार कसले गरेको थाहा छ ? त्यो एक जना जुत्ता सिलाउने व्यक्तिको अथक प्रयासले यो सम्भव भएको हो । 

कसरी बन्यो टुथ ब्रस ? 

यो घटना इंग्ल्यान्डको जेलको हो । विलियम एडिसलाई सहरमा दंगा भड्काउने कार्यमा संलग्न भएको आरोप लाग्यो । सन् १७७० मा जेल परेका उनी न्युगेट जेलमा सजाय काटिरहेका थिए । उनले नै सन् १७८० मा बस्दाबस्दै संसारकै पहिले टुथ ब्रस आविष्कार गरे ।

जेलमा भएका सबै कैदीजस्तै उनलाई पनि दाँत माझ्न ठूलो समस्या भइरहेको थियो । उनी कहिले औंलाले दाँत घोट्थे त कहिले कुनै रूखको नरम हाँगाले । एक दिन उनले मासु खाएर फालेका स–साना लाम्चा हड्डीहरूमध्ये एउटा छानेर ल्याए । त्यसको चुच्चोतिर स–साना छिद्र पारे । ती छिद्रमा जनावरका कडा खालको रौंलाई छिराइदिए । अनि तयार भयो, संसारकै पहिलो टुथ ब्रस ।

बिस्तारै जेलमा सबैले यस्तै खालको ब्रस बनाएर प्रयोग गर्न थाले । कैदीहरूले मात्र नभई जेलका प्रहरीलेसमेत ब्रस प्रयोग गर्न थाले । त्यसपछि एडिस जेलमा चर्चित मात्र होइन हिरोजस्तै भए । उनले बाँकी सजाय माफी पाए र जेलमुक्त भए । जेलबाट छुटेपछि उनले जुत्ता सिलाउने काम छोडेर टुथ ब्रस बनाउने काम थाले । निकै प्रयासपछि हड्डीको साटोमा कुनै धातु र काठबाट टुथ ब्रस बनाउन थाले । कच्चा पदार्थका रूपमा उनले साइबेरिया र उत्तरी चीनबाट सुँगुरका रौं आयात गर्न सुरु गरे । त्यसपछि उनको आम्दानी पनि बढ्यो । सन् १८०८ मा एडिसको मृत्यु भएपछि टुथ ब्रस बनाउने जिम्मेवारी उनका जेठो छोराले सम्हाले ।

त्यसो त टुथ ब्रसजस्तै खोज र आविष्कार १५ औं शताब्दीमा चीनमा पनि भएको मानिन्छ । मिंग वंशको राज होंग झीले सुँगुरका रौंबाट तयार पारेको टुथ ब्रसको प्रयोग चिनियाँहरूले पहिल्यै गरेका भए पनि त्यो आविष्कार चीनभित्रै मात्र सीमित रह्यो । यसभन्दा पहिले अरब क्षेत्रमा दतिवनबाट दाँत माझ्ने चलन थियो । दतिवनका लागि अरक नामको एक प्रकारको झाडीको नरम हाँगाहरू प्रयोग गर्ने गरिन्थ्यो । हाम्रो देशमा पनि निम र जामुनका नरम हाँगालाई दतिवनजस्तै प्रयोग गरेर दाँत माझ्ने चलन प्राचीनकालदेखि नै थियो ।

प्लास्टिक र नाइलनको आविष्कारपछि टुथ ब्रसको व्यापारमा क्रान्ति नै भयो । सन् १९३८ अमेरिकाको डोपान्ट कम्पनीले नाइलनको रौं जस्तै बनाएर टुथ ब्रस बिक्री गर्न थाल्यो । यो पहिलो नाइलनको ब्रसको नाम थियो– डाक्टर विस्टस् मिराकल । आज हामीले प्रयोग गर्ने ब्रसहरू पनि यस्तै नाइलनबाट बनेका टुथ ब्रस नै हुन् । सन् १९६१ मा बिजुलीबाट चल्ने टुथ ब्रससमेत बनाइएको भए पनि लोकप्रिय हुन सकेन । सन् १७८० मा एडिसले आविष्कार गरेको भए पनि टुथ ब्रसको पहिलो प्रतिलिपि अधिकार (पेटेन्ट राइट) संयुक्त राज्य अमेरिकामा छ । (स्रोत : एजेन्सी)

प्रकाशित : फाल्गुन २७, २०७४ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?