बुक बस

मनोज पौडेल

काठमाडौँ — रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको तेनुहवा सामुदायिक माविमा कक्षा ९ मा पढ्ने रिना माली बुक बसमा रहेको शब्दकोश हेर्दै थिइन् । ‘बृहत् नेपाली शब्द कोशबाट धेरै शब्दको अर्थ थाहा पाएँ,’ उनले भनिन्, ‘अध्ययनमा राम्रो सहयोग पुग्यो ।’

बुक बस

कक्षा ९ कै अनिता यादवले नेपाली लोक साहित्यबारे थाहा पाइन् । ‘साहित्यकारका नाम र उनीहरूको प्रसिद्धिबारे कसैले सोधे, भन्न सक्ने भएँ,’ उनले भनिन्, ‘ज्ञान र क्षमता बढयो ।’ उनीहरूजस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको तेनुहवा सामुदायिक माविका अधिकांश विद्यार्थी बुक बसमा पढिरहेका छन् । ठूलो बसमा बनाइएको पुस्तकालय नै बुक बस हो । बसको एकतिर किताब राख्ने र्‍याक छ । त्यसमा इतिहास, लोकसंस्कृति, विज्ञान, साहित्य, मनोरञ्जन, सामाजिक शिक्षा र अंग्रेजीका किताब छन् । आईएलटीएस तयारी, सामान्यज्ञान, नेपाली–अंग्रेजी शब्दकोश, भूगोल, कथा, कविता, उपन्यास, कार्टुन र वातावरणका पुस्तक पनि छन् । ४ हजार ५ सयभन्दा बढी किताब रहेको वाताअनुकूलित बुक बसमा टीभी स्क्रिनसमेत छ । आवश्यक पर्दा श्रव्यदृश्यबाट पनि विषयवस्तु बुझाउन सकिन्छ ।


पढ्ने बानी बसाउन र अतिरिक्त पुस्तक अध्ययन गरी ज्ञान र क्षमता विकास गर्न बसलाई घुम्ती पुस्तकालयमा रूपमा प्रयोग गरिएको हो । मंगलबारदेखि शुक्रबार ४ दिनसम्म विद्यालय समयमा बुक बसलाई विद्यालय हातमा राखिन्छ । इच्छुक सबै विद्यार्थीलाई पालैपालो अध्ययनको मौका दिइन्छ ।

अमेरिकी दूतावासद्वारा सञ्चालित घुम्ती पुस्तकालय यहाँ सतोरी संस्थाले सञ्चालन गरिरहेको छ । ३ साताको अभियानका लागि यहाँ आएको बुक बस लुम्बिनी आसपासका करुणा गल्र्स कलेज, मेत्ता गुरुकुल, लिनसन मावि र एक मद्रसामा सञ्चालन भइसकेको छ । एक विद्यालयमा ३ देखि ५ दिनसम्म बुक बस राखिन्छ ।


‘विद्यार्थीलाई चाहिएको पुस्तक कसरी खोज्ने सिकाउँछौँ,’ सतोरी संस्था निर्देशक प्रणवमान सिंहले भने, ‘सृजनात्मक ज्ञान कसरी बढाउन सकिन्छ भन्ने पनि सिकाउँछौँ ।’ विद्यार्थीदेखि शिक्षकसम्मलाई कसरी राम्ररी पढ्न–लेख्न सकिन्छ भन्ने सीप र व्यावहारिक ज्ञान पनि दिने उनले बताए ।


विद्यार्थीलाई बोल्ने कला, सृजनात्मक लेखन र समय व्यवस्थापनबारे पनि सिकाउने गरिएको छ । ‘सृजनात्मक चित्रहरू बनाउने र त्यसलाई कसरी राम्रो आर्ट गर्ने भन्नेबारे पनि सिकाइन्छ । यसले विद्यार्थीको उत्कृष्ट कला प्रस्फुटन भएको छ,’ उनले भने । मौका पाए भने गाउँका विद्यार्थी पनि सहरबजारका भन्दा कम छैनन् भन्ने स्पष्ट हुन्छ । यसले गर्दा विद्यार्थीमा लुकेर रहेको प्रतिभा बाहिर आएको उनले बताए । शिक्षकलाई नयाँनयाँ प्रविधिको विकाससँगै कसरी राम्ररी अध्ययन– अध्यापन गराउन सकिन्छ भनेर पनि ज्ञान दिइएको छ । ‘सधैं पुस्तककै भरमा पढाउने शिक्षक पनि ज्ञान पाएपछि उत्साहित बनेका छन्,’ प्रधानाध्यापक मोहम्मद इलियास खानले भने, ‘यसले विद्यार्थीको सिकाइ उपलब्धि बढ्छ । त्यसैले यस्तो कामलाई निरन्तरता दिनुपर्छ ।’

प्रकाशित : फाल्गुन २७, २०७४ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?