कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नयाँ वर्ष, नयाँ प्रण

काठमाडौँ — असंख्य सम्भावना बोकेर २०७५ साल हाम्रो जीवनमा प्रवेश गरिसकेको छ । नेपालीका लागि नयाँ वर्ष भनेको वैशाख १ गते नै हो । हरेक सालको यो पहिलो दिन हामी खानपान, रमझम, घुमफिर र रमाइलो गरी मनाउँछौँ । केही दिन नयाँ नौलो गर्न खोज्छौं ।

नयाँ वर्ष, नयाँ प्रण

त्यसपछि ‘चुच्चे ढुंगो उही टुंगो’ भनेझैं पुरानै बानी, चालचलन र रीतिरिवाजमा व्यस्त हुन थाल्छौँ । ओशो रजनीको भनाइ छ– ‘मानिसलाई नयाँ ज्ञान सिकाउन सजिलो छ तर पुरानो आदत हटाउन ज्यादै कठिन हुन्छ ।’ नयाँ वर्षको आगमनसँगै साल परिवर्तन हुन्छ, उमेर परिवर्तन हुन्छ तर के हाम्रा नराम्रा आदत पनि परिवर्तन हुन्छन् ?


गएको साल हामीले जुन–जुन काम समय र जीवनको महत्त्व नबुझी गरेका थियौँ, अब पनि त्यसलाई दोहोर्‍यायौं भने नयाँ वर्ष आउनु मात्रले खासै केही फरक पार्दैन । बिहानीको सम्बन्ध आँखा खुल्नु र जागा हुनुसँग हुन्छ । उठेर पनि समय र जीवनको महत्त्व बुझिँदैन भने त्यसलाई जागेको भन्न मिल्दैन । नयाँ वर्ष पनि त्यस्तै हो । यो हामीले आफ्नो क्षमतालाई बुझ्ने र विगतका कमीकमजोरी सुधार्ने एउटा सुनौलो अवसर हो ।


हाम्रो नयाँ वर्ष वसन्त ऋतुमा आउँछ । वसन्त आउँदैमा बगैँचा हराभरा हुन्छ नै भन्ने छैन । त्यसका लागि फूलहरू रोप्नुपर्छ । मलजल गर्नुपर्छ । बिनाप्रयत्न त्यसै केही पनि हुँदैन । आफूलाई कस्तो बनाउने भन्ने कुरा हाम्रो सोच, योजना र कार्यान्वयनमै निर्भर गर्छ । त्यसका लागि नयाँ वर्षको सुरुमै दृढ संकल्पको खाँचो छ ।


हाम्रो जीवन सम्भाव नै सम्भावनाको भण्डार हो । सबै कुरा सम्भव छ । तर त्यसका लागि मनस्थितिअनुसार परिस्थिति र परिस्थितिअनुरूपको मनस्थिति बनाउन सक्नुपर्छ । हामीले बितेको वर्ष आफ्नो अनुकूल परिस्थिति बन्ला कि भन्ने आशै आशमा बिताएका हुन सक्छौंँ । तर आशाले मात्र केही हुँदैन । सपना साकार हुन कामै गर्नुपर्छ ।


सोचअनुसारको परिस्थिति बनाउन सही समयमा सही लक्ष्य निर्धारण गर्नुपर्छ । भनिन्छ– भगवान् अचानक प्रकट भएर ‘१० सेकेन्डमा आफ्नो लक्ष्य बताऊ, म पूरा गरिदिन्छु’ भन्नुभयो भने हाम्रो जिब्रोबाट जे फयाट्ट उछिट्टिन्छ त्यही अन्तर्आत्माको आजाव नै वास्तविक लक्ष्य हो । अधिकांश मानिस यस्तो प्रश्नको उत्तर १० सेकेन्डमा होइन, पूरा जीवनमा पनि पत्ता लगाउन सकिरहेका हुँदैनन् किनभने उनीहरूलाई अरूको लक्ष्यमै रमाउने बानी परिसकेको हुन्छ । जसको आफ्नै लक्ष्य हुन्न, उसले अरूको लक्ष्यपूर्तिको माध्यम बन्नुको विकल्प पनि हुन्न । जीवनलाई आफ्नो तरिकाले जिउने हो भने लक्ष्य र योजना आवश्यक हुन्छ । त्यसका लागि पनि नयाँ वर्ष उपयुक्त अवसर हो ।


हामीले कैयौं वसन्त बिताइसकेका छौँ । पछाडि फर्केर हेर्ने हो भने, अलिकति खुसी, केही दु:ख र गुनासोले जीवन रंगिएको छ । जीवनको कुन वर्ष परिणाममुखी बन्यो र कुन समय व्यर्थमा बित्यो त्यसको लेखाजोखा गर्ने उपयुक्त समय पनि यही हो । मैले अहिले जे गरिरहेको छु, योभन्दा पनि केही बढी गर्न र बन्न सक्ने थिएँ भन्ने चेत मनको अन्तरकुन्तरमा थोरै मात्र पनि छ भने त्यसलाई सही ढंगले विकसित गराउने योभन्दा राम्रो अर्को अवसर आउने छैन । त्यसैले नयाँ वर्षको अवसरमा प्रत्येकले अरूभन्दा जिम्मेवार, अनुशासित, जानकार र सर्वोत्कृष्ट हुने प्रण गरौँ । प्रण मात्र हैन, त्यसलाई योजना बनाएर कार्यान्वयन नै गरौँ । एक वर्ष आफ्नो परीक्षा आफैं लिएर हेरौँ । परिणाम कस्तो आउँदो रहेछ, हेराँै र समीक्षा गरौँ ।
सचेत र जिम्मेवार रूपमा भित्री मनदेखि गरिएको संकल्पले जीवनको गोरटो अवश्य बदलिनेछ । भविष्य सुन्दर बन्नेछ । नयाँ वर्षलाई खुसी–खुसीले स्वागत गरौँ । परम्परागत तौरतरिकामा थोरै फरकपन ल्याऔँ । लक्ष्य र योजनाका साथ अघि बढौँ । सबैलाई नयाँ वर्ष २०७५ को मंगलमय शुभकामना !

प्रकाशित : वैशाख २, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?