अटिजम सचेतना दिवस

कान्तिपुर संवाददाता

काठमाडौँ — विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रले विश्व अटिजम सचेतना दिवस मनाएको छ । अटिजम दिवसका दिन (२ अप्रिल २०१८) आयोजित कार्यक्रममा स्वागत मन्तव्य दिँदै अटिजम भएका बालक आदेशराज काफ्लेले अवसर पाए आफूहरूले पनि केही गर्न सक्ने बताए ।

अटिजम भएका बालबालिकालाई सहयोग, अवसर र शिक्षाको खाँचो रहेको उनले बताए । त्यस अवसरमा अटिजम भएका बालबालिकाले सन्देशमूलक नृत्य, गीत र कविता सुनाउनुका साथै ‘फेसन सो’ र चित्रकला प्रदर्शन गरेका थिए । कार्यक्रममा संस्थाको भवन निर्माणमा सघाउन संस्थाकी अध्यक्ष तथा कार्यकारी प्रमुख सविता उप्रेतीले अनुरोध गरिन् । संस्थाले ८ वर्षदेखि अटिजम भएका बालबालिकाको हेरचाह, शिक्षा, थेरापी सेवा, सीपमूलक तालिम दिनेलगायत काम गर्दै आएको छ । संस्थामा हाल अटिजम भएका ४५ बालबालिकाले शिक्षा लिइरहेका छन् । कार्यक्रममा अटिजम सचेतनामा उल्लेखनीय योगदान पुर्‍याएका सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । अटिजम भएका बालबालिकालाई पनि मेडल र पुरस्कार वितरण गरिएको थियो ।

प्रकाशित : वैशाख २, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्

फेरिएको लक्ष्य

कान्तिपुर संवाददाता

काठमाडौँ — विद्यालयको वार्षिक परीक्षामा उत्तीर्ण भएको खुसियालीमा म र आमा–बाबासँगै काठमाडौंको गल्फुटारमा रहेको वृद्धाश्रम गयौँ । त्यहाँ धेरै उमेरका हजुरआमाहरू हुनुहुँदो रहेछ । म उहाँहरूसँग कुरा गर्न थालेँ । कसैले मलाई काखमा राखेर खुसी हुँदै आशीर्वाद दिनुभयो भने कसैले मायाले सुम्सुम्याउनुभयो ।

एक जना हजुरआमा त धेरै रुनुभयो । उहाँ रोएको देखेर मलाई नरमाइलो लाग्यो । मैले बाहिर आएर उहाँहरूलाई सेवा गर्ने दिदीलाई कारण सोधेँ । दिदीले भन्नुभयो, ‘सबै आमाका छोराछोरी, आफन्त र घर छ । तर परिवारका कोही विदेश गएका छन् त कतिले आफ्नै कामले व्यस्त भएर उहाँहरूलाई हेर्न भ्याउनुभएको छैन । त्यसैले उहाँहरूलाई यहाँ ल्याइएको हो ।’ उहाँको यस्तो जवाफ पाएपछि मलाई मनमनै लाग्यो– ‘त्यस्तो कस्तो काम जसले आफ्नो बुबा–आमालाई हेर्न समय निकाल्नै सकिँदैन ? म त जति व्यस्त भए पनि बुबा–आमालाई धरै माया गरेर आफैंसँग आफ्नै घरमा राख्छु ।’


यस्तो सोच्दै मत कल्पनामा हराएँछु । दिदीले भन्नुभयो, ‘हजुरआमाहरूको खाना तयार भयो ।’ अनि म पनि खुसी हुँदै हजुरआमाहरूलाई खाना खुवाउने काममा सहभागी भएँ । उहाँहरूलाई फेरि भेट्न आउँछौं भनेर हामी त्यहाँबाट फर्कियौँ । बाटोमा आउँदै थियौँ, मैले रोइरहेको एउटा कुकुरको बच्चा देखेँ । मलाई माया लागेर आयो । मैले त्यसलाई नजिकैको पसलबाट बिस्कुट किनेर खुवाएँ । घर फर्केपछि मलाई लाग्यो– ‘ठूलो भएर म डक्टर, इन्जिनियर होइन, जनावरलाई सहारा दिने काममा लाग्नेछु । मानिस त बोल्न सक्छ । आफ्ना कुरा भन्न सक्छ । तर जनावर त बोल्द पनि सक्दैन । त्यसैले म जनावरलाई हेर्छु । मेरो फेरिएको लक्ष्य बाबा अमालाई सुनाएँ । उहाँहरू पनि खुसी हुनुभयो ।
-रिस्ता न्यौपाने
अपी स्कुल, काठमाडौं

प्रकाशित : वैशाख २, २०७५ १२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्