हामी बालक

कान्तिपुर संवाददाता

काठमाडौँ — कोही मुना आजका कोही कोपिला,फक्रेपछि फुल्नछौँ हामी जोसिला ।

कोही मुना आजका कोही कोपिला,
फक्रेपछि फुल्नछौँ हामी जोसिला।
भोलि देश हाँक्नेछौँ हामी चालक,
भविष्यका हामी नै राष्ट्रपालक ।
मलजल पाएमा हामी बढ्नेछौँ
पढाउनु बाआमा ∕ धेरै पढ्नेछौँ।
लक्ष्य हाम्रो दूर छ : माथि चन्द्रमा,
अलिक परै पुग्नेछौँ चौध—पन्ध्रमा ।
नदीजस्तै बगेर समुद्र भेट्नेछौँ,
आज दिनु सहारा भोलि प्यास मेट्नेछौँ।
देश राम्रो फूलबारी हामी हौँ फूल,
भविष्यका जलदाता हामी नै मूल ।
हाम्रा पुर्खा गोर्खाली गाउँ वीर—गाथा,
चढ्ने भोलि हामी नै सगरमाथा।
कलिलो यो बिहान घाम नछेक,
हामीलाई भुसुना कहिल्यै नदेख ।

प्रकाशित : वैशाख २, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्

अटिजम सचेतना दिवस

कान्तिपुर संवाददाता

काठमाडौँ — विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रले विश्व अटिजम सचेतना दिवस मनाएको छ । अटिजम दिवसका दिन (२ अप्रिल २०१८) आयोजित कार्यक्रममा स्वागत मन्तव्य दिँदै अटिजम भएका बालक आदेशराज काफ्लेले अवसर पाए आफूहरूले पनि केही गर्न सक्ने बताए ।

अटिजम भएका बालबालिकालाई सहयोग, अवसर र शिक्षाको खाँचो रहेको उनले बताए । त्यस अवसरमा अटिजम भएका बालबालिकाले सन्देशमूलक नृत्य, गीत र कविता सुनाउनुका साथै ‘फेसन सो’ र चित्रकला प्रदर्शन गरेका थिए । कार्यक्रममा संस्थाको भवन निर्माणमा सघाउन संस्थाकी अध्यक्ष तथा कार्यकारी प्रमुख सविता उप्रेतीले अनुरोध गरिन् । संस्थाले ८ वर्षदेखि अटिजम भएका बालबालिकाको हेरचाह, शिक्षा, थेरापी सेवा, सीपमूलक तालिम दिनेलगायत काम गर्दै आएको छ । संस्थामा हाल अटिजम भएका ४५ बालबालिकाले शिक्षा लिइरहेका छन् । कार्यक्रममा अटिजम सचेतनामा उल्लेखनीय योगदान पुर्‍याएका सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । अटिजम भएका बालबालिकालाई पनि मेडल र पुरस्कार वितरण गरिएको थियो ।

प्रकाशित : वैशाख २, २०७५ १२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्