कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

को ठूलो ?

काठमाडौँ — सिरूटार गाउँ निकै सुन्दर थियो । चारैतिर हरियाली थियो । ढकमक्क फुलेका गुराँस मनोहर थियो । फेरि राजधानी काठमाडौंबाट नजिकै पर्दथ्यो । सिरू पाखाभरि सेतै फुलेका देखिन्थे । त्यहीँ भएर सिरूटार भनिएको रहेछ ।

को ठूलो ?

जनता स्कुलका विद्यार्थीहरू चौतारीमा भेला भएका थिए । शुक्रबार भएकोले स्कुल छुट्टी भइसकेको थियो । उनीहरू हरेक शुक्रबार एउटा न एउटा विषयमा छलफल गर्ने गर्थे । विजय पनि दगुर्दै आइपुगे । रविले जिस्क्याउँदै भने, ‘कस्तो माटैमाटो भएर आउँछ है यो विजय !’ बिनु बीचैमा बोलिन्, ‘किसानको छोरा हो । अनि माटो नभएर के हुन्छ त ?’ राजुृले अलि फूर्ति देखाउँदै भन्न थाले, ‘मेरी मम्मी त नजिकैको स्कुलको हेड मिस हो । लुगा धोएर सधैं सफा बनाइदिनुहुन्छ । फोहोरमा त खेल्नै दिनुहुन्न ।’ शीलुले भनिन्, 'लुगा धोएर सफासुग्घर बन्न त हामी आफैं पनि सक्छौँ नि ! मेरो बाबाले भन्नुभएको शरीर सफा भयो भने मन पनि सफा हुन्छ रे । अनि दिमाग त सधैं तेजिलो !'

‘ल, ल भयो, धेरै आदर्श नछाँट । अब विषयमा प्रवेश गरौँ । आज के विषयमा छलफल गर्ने त ?’ विजयले भने । राजुले भने, ‘सरसफाइ र हाम्रो स्वास्थ्य विषयमा गर्ने कि ?’ पारूले असहमति जनाइन्, ‘यो त हामी सबैलाई थाहा भएकै विषय हो । फेरि केही दिनअघि मात्र यस विषय छलफल भइसक्यो नि ! किताबमा पनि पढेकै कुरा हो । ‘को ठूलो ?’ भन्ने विषयमा छलफल गर्दा कसो होला ?’ शीलुले विषय छानिन् । सबैले सहमति जनाए । ठीक छ, आज यसै विषयमा छलफल गरौँ न त ! जे होस्, शीलुको दिमागलाई मान्नै पर्छ । कति राम्रो विषय छनोट गरिन् ।


सबै जना सोचमग्न भए । त्यहाँको वातावरण नै शान्त बन्यो । निकै बेरसम्म कोही बोलेनन् । पीपलको हाँगामाथि बसेको सुँगा एक्लै बोल्न थाल्यो, ‘तैं चुप, मै चुप !’ विजयले सुँगातिर हेर्दै भने, ‘यहाँ आफ्नो दिमागले कामै नगरेको बेलामा तिमी नबोल न पट्टू,’ पारूले गम्भीर हुँदै भनिन्, ‘ल, अब विचार व्यक्त गर्नुपर्छ । गोला प्रथाद्वारा पालो निर्धारण गरौँ । लौ, अब गोला टिप्न आऔं त !’ उनले पनि डब्बाबाट एउटा पोका झिकिन् । सबैभन्दा पहिला राजुको पालो आयो । उसले कापीमा हेर्दे आफूले लेखेको उत्तर भन्न थाले, ‘मेरी मम्मी सबैभन्दा ठूलो मानिस हो । कसरी थाहा छ ? हाम्रा छिमेकीहरूले पनि हेड मिस भन्दै नमस्ते गर्छन् ।’


क्रमैसँग विजयको पालो आयो । उनी खुसी हुँदै भन्न थाले, ‘मेरा मम्मी–बाबा नै सबैभन्दा ठूला हुन् । कसरी थाहा छ ? उहाँहरूले खेतमा धेरै तरकारी र फलफूल लगाउनुभएको छ । त्यही खाएर त सबै जना बाँचेका छन् । नत्र भोकभोकै मर्थे होलान् ।’ राजु बीचमै कराए, ‘त्यस्तो फोहोरी किसान पनि ठूलो हुन्छ त ! किसानलाई कसैले नमस्ते त गर्दैन ।’ निरूले रिसाउँदै भनिन्, ‘राजु, तिमी बीचैमा प्वाक्क नबोल त ! पहिले सबैको पालो सकिन देऊ ।’


रविको बोल्ने पालो थियो । उनीले ठूलो स्वरमा भन्न थाले, ‘मेरो मामा नै सबैभन्दा ठूलो हो । अस्ति बिरामी भएर थला पर्नुभएको हजुरआमालाई बँचाउनुभयो । अहिले उहाँ हामीजस्तै
हिँड्न सक्ने हुनुभा’छ । अरू पनि धेरै बिरामीलाई निको बनाउनुभएको छ रे । कहिलेकाहीँ त मरिसकेको मान्छेलाई पनि बँचाउनुहुन्छ रे मेरो मामाले ।’


सरूले भनिन्, ‘मेरो काका पो ठूलो मानिस त ! उहाँले आकाशमा हवाईजहाज उडाउनुहुन्छ । यस्तो खतरा काम कसले गर्न सक्छ र ! चराजस्तो आकाशमा उड्नु ठूलो काम होइन र ! फेरि आफू मात्र कहाँ हो र, धेरै जनालाई उडाइसक्नुभएको छ रे ।’


पारूको पालो आयो । उनले रमाउँदै भनिन्, ‘मेरा आमा, बुबा र हजुरआमा ठूलो मान्छे हुनुहुन्छ । उहाँहरूले सबैको लुगा सिलाउनुहुन्छ । लुगा नै सिलाएन भने के लगाएर बस्नु ? स्कुल आउँदा पनि रूखको पात लगाउनुपथ्र्यो होला । कि त कपडा त्यसै बेरेर आउनुपर्‍यो महादेवले बाघको छाला बेरे जसरी ! साँच्चै हरिबिजोग हुन्थ्यो नि सबैको ! कोही त जाडोले मरिसक्थे होलान् ।’


आफ्नो पालो आउनासाथ बिनुले कड्केर भन्न थालिन्, ‘सबैभन्दा ठूलो त मेरो बाबा हो । थाहा छ, उहाँ त नेपाल प्रहरी हो नि ! उहाँले हामी सबैको सुरक्षा गर्नुभएको छ । देशलाई पनि शत्रुबाट जोगाउनुभएको छ । नत्र हाम्रो यो सुन्दर देशमा विदेशीहरूले आँखा लगाइसक्थे होलान् । प्रहरी नभएको भए हाम्रो सेते कुकुरलाई मारेर पैसा र मेरा किताब–कापी चोरले लगिसक्थ्यो होला, बुझयौ तिमीहरूले ?’


सबै जनाले बिनुलाई गिज्याउँदै भने, ‘छया ! चोरले कुकुरलाई मार्ने हो त ! कुकुरले पो चोरलाई टोकेर मार्छ त बुद्दू !” ल, अहिले धेरै विवाद नगरौँ । ढिलो पनि भइसक्यो । अब घरतिर जाऔँ । पर्सि आइतबार जीके सरलाई सोधौँला भन्दै सबै जना बिदा भएर हिँडे ।


जसले जे प्रश्न सोधे पनि सजिलै उत्तर दिने सर यसपल्ट भने नीलोकालो हुनुभयो । धेरै बेर सोचेपछि मात्र उत्तर दिनुभयो । उहाँले सबैलाई सम्झाउँदै भन्नुभयो, ‘सबै जनाको आफ्नो आफ्नो ठाउँमा ठूलो महत्त्व छ । त्यसैले कोही ठूला र कोही साना हँुदैन, सबै बराबरी ।’ राजु चिच्याए, ‘कसरी बराबर हुन्छन् र सर ? किसान त भरियाभन्दा पनि सानो हो ।’ सरले गालामा चड्कन दिँदै भन्न थाल्नुभयो, ‘किसानलाई सानो कसले भन्यो ? तिमी बर्ता जान्ने नहोऊ है राजु ।’


विजय निकै खुसी भए । उनले मनमनै भने, ‘खुच्चिङ्ग पर्‍यो राजुलाई !कति न आफ्नै मम्मीलाई ठूलो ठान्ने भा’को । अर्काको बाबा–मम्मीलाई सानो पो ठान्ने । कसैले नमस्ते नगरे के भयो त ? मेरा मम्मी–बाबा नै ठूला ।’


समय बित्दै गयो । यसको गतिलाई कसले नै रोक्न सक्छ र ! तिनीहरूको विवाद भने अझै टुंगिएको थिएन । त्यसै क्रममा विजयका बाबा सबैभन्दा उत्कृष्ट किसानमा पुरस्कृत हुनुभयो । उहाँलाई राष्ट्रपतिले पुरस्कार अर्पण गर्दै भन्नुभयो, ‘किसान त राजा, महाराजाभन्दा पनि ठूला हुन्छन् । किसानले उब्जाएको खानाले हामी बाँचेका हौँ । हामीले खाने प्रत्येक गाँसमा किसानको पसिना मिसिएको हुन्छ । हाम्रो प्राणदाता किसानको जय होस् !’

स्कुलको अफिस कोठामा टेलिभिजन हेरिरहेका सबै जना दङ्ग परे । सबै जना ट्वाल्ल परेर एकअर्कालाई हेरेको हेर्‍यै भए । विजय असाध्यै खुसी भए । उनले मनमनै भने, ‘धन्य भगवान् ! अब म पनि धेरै पढेर ठूलो किसान बन्छु, मेरो बाबाजस्तै !’

प्रकाशित : वैशाख २, २०७५ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?