१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बुबा खुसी पार्न ‘जोकर’

सुनिता साखकर्मी

काठमाडौँ — समीरको लक्ष्य फुटबल खेलाडी बन्ने थियो । पढाइ नबिग्रियोस् भनेर उनका बुबाले खेलकुदमा खासै प्रोत्साहन गर्दैन थिए । अँटेरी समीरको बानी देखेर बुबाले उनलाई धेरै पटक गाली पनि गर्नुभयो । समीर आज्ञाकारी पनि थिए । एक दिन सर्कस हेर्न पुगेका समीरले बुबाको मुहारमा अपार हाँसो देखे । त्यो कारण थियो, ‘सर्कसको जोकर ।’ जोकरले यति धेरै हँसाएको बुबालाई देखेर समीर आफूले पनि यसै गर्ने रहर पलाए ।

बुबा खुसी पार्न ‘जोकर’

त्यसपछि उनी फुटबल खेलाडी बन्ने सोच परिवर्तन गरेर जोकर बन्ने सपना बुने । नाटक ‘म जोकर बन्छु’ कथाको मूल सार यही थियो । धेरै बालबालिकाको जीवनमा यो कथाको मेल खान सक्छ । समीरले जस्तै बुबाआमाको खुसीमा आफ्नो सपना बुन्ने नानीहरू छन् ।

यही भावलाई समेटेर राजधानीमा हालै ‘म जोकर बन्छु’ मञ्चन गरिएको थियो । थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) र थिएटर मलले बालबालिकाका लागि गरेको १५ दिने अभिनय तथा नाटय कार्यशालाको अन्तिम दिन तीन नाटक मञ्चन गरिएका थिए । ‘लिटल थिएटर ग्यारेज’ को चौथो संस्करणमा ‘म जोकर बन्छु’ सँगै ‘टोपी’ र ‘मुसाको कथा’ नाटक मञ्चन गरिएका थिए । ‘म जोकर बन्छु’ कथा नेपाली बालसाहित्यका पिता शान्तदास मानन्धरले लेखेका हुन् भने अन्य दुई कथा लोककथामा आधारित छन् ।

लोककथामा आधारित नाटक ‘टोपी’ मा चाहिँ आमाको माया देखाइएको छ । आमाले ऊन र ममताको कुरुस चलाएर बुनेको टोपीको अन्य कुनै पनि मूल्यवान् र महँगा टोपी वा सामग्रीसँग तुलना नहुने सन्देश दिएको थियो । नाटकका राजन पात्रले आमाले बुन्दिएको टोपी राजाको श्रीपेचसँग पनि साट्न नमानेपछि दरबारमा कैद गर्न खोजिन्छ । दरबारबाट निस्कन गरेको संघर्षको कथाले अभिभावकप्रति सन्तानको स्नेह र सम्मानलाई मञ्चमा देखाइएको थियो ।

अर्को नाटक ‘मुसाको कथा’ मा मुसाहरूको परिवारमा सानादेखि ठूलासम्मले सबैले आ–आफ्नो कामको जिम्मेवारी लिँदै मिलीजुली खुसीसाथ जीवनयापन गरेका दृश्यहरू मञ्चमा प्रस्तुत भएका थिए ।


बालबालिकाहरूले १५ दिने कार्यशालामा १० दिन अभिनय र नाटकका प्रशिक्षण लिए भने ५ दिनमा नाटक तयार पारेका हुन् । ५ देखि १५ वर्षसम्मका २९ जना बालबालिका सहभागी भएको कार्यशालाको समापनमा ‘म जोकर बन्छु’ र ‘टोपी’ को निर्देशन टीसीसी नेपालका कला निर्देशक केदार श्रेष्ठले निर्देशन गरेका थिए भने ‘मुसाका कथा’ लाई थिएटर मलका प्रबन्ध निर्देशकसमेत रहेकी इलिना नकर्मीले निर्देशन गरेकी थिइन्, साथै कार्यशालाका संयोजक सञ्जिता पराजुलीले नृत्य निर्देशन गरेकी थिइन् ।

हरेक वर्ष अप्रिल २ बाट हुने कार्यशाला बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘आसितेज इन्टरनेसनल’ को नेपाल सेन्टर आसितेज नेपालको सहकार्यमा विगत चार वर्षदेखि हुँदै आएको केदारले बताए । तीन नाटकमा पालैपालो बालबालिकाहरूले अभिनय गरेका थिए । लैनचौरस्थित नेपाल जापान बाल पुस्तकालयमा भएको कार्यशालामा काठमाडौं उपत्यकाका विभिन्न स्कुलमा अध्ययन गरिरहेका बालबालिकाहरू सहभागी भएका थिए । कार्यशालामा आख्यान पुडासैनी, अदिति पौडेल, अनसूया पौडेल, अनमोल धरेल, अनमोल खनाल, अनुप पुरी, अर्विन खड्का, आर्यन जोशी, आर्यन पौडेल, असीम त्वनबसु, विराज भट्टराई, डेनियल डंगोल, गायत्री श्रेष्ठ, हिमांशु उप्रेती, कृति भट्टराई, मेघमाला श्रेष्ठ, न्हुजला श्रेष्ठ, निपुर्ण पौडेल, प्रशान्त कोइराला, प्रिन्स सिलवाल, क्विनसम जोशी, सक्षम श्रेष्ठ, सम्मान महर्जन, सम्यक न्यौपाने, सम्सृति थापा, श्रेया गिरी, सुजित गिरी, सुशान्त कोइराला र यशोसिका डंगोल सहभागी थिए ।

प्रकाशित : वैशाख ९, २०७५ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?