काठमाडौँ — आमा बिहानै धोक्रोमा पाँच पाथी मकै राखेर पल्लो गाउँमा रहेको पानीघट्टमा पिस्न जानुभयो । धोक्रोमा अनगिन्ती मकै थिए, सब चुपचाप थिए । तर एउटा मकै भने चिन्तित भयो– ‘ल अब त म पिठो हुने भएँ । मेरो मिति पुग्ने भयो । के गर्ने होला ?’ त्यो मकैको दानो सार्है छटपटायो ।
मकै यताउति हेर्दै सोच्यो, ‘कतै निस्कने पो ठाउँ छ कि ?’बल्लतल्ल धोक्रोको छेउमा मुसाले काटेको सानो प्वाल देख्यो, ‘आहा ∕ अब त केही होलाजस्तै छ है ।’ आमा थाप्लोमा नाम्लो राख्दै धोक्रो बोकेर पानीघट्टतिर जाँदै हुनुहुन्थ्यो । तर धोक्रोभित्रको त्यो मकैको गेडो भने आफ्नो ज्यान जोगाउन लागिपरेको थियो ।
ऊ धोक्रोको प्वालबाट बाहिर निस्कने उपाय खोज्न थाल्यो । यताउति गर्यो, चलमलायो र बाटो पन्छायो । बल्ल प्वालको मुखैमा आइपुग्यो र यताउति नहेरी फुत्त हामफाल्यो । ऊ गोरेटो छेउमा उम्रेको घाँसमाथि झर्यो ।
‘धन्न, ज्यान त जोगियो नि,’ ऊ खुसीले फुरुङ भयो ।एउटा परेवा भुर्र उडेर त्यही गोरेटोमा झर्यो । ऊ घाँसमा खानेकुरा खोज्न थाल्यो । मकैलाई पर्यो फसाद । ‘ल धोक्रोबाट निस्केर पिठो हुनबाट त जोगिएँ । अब परेवाको आहारा पो हुन लागेँ,’ मकै चिन्तित भयो । परेवा नजिक आउँदै थियो । मकैको ढुकढुकी बढ्न थाल्यो । धन्न त्यही बेला हावाले उडाएर ल्याएको एउटा पीपलको पात मकैमाथि खस्यो । त्यसले मकैलाई छोप्यो । परेवा भुर्र उड्यो ।
‘धन्न यो पीपलको पातले गर्दा मेरा ज्यान जोगियो,’ उसले मनमनै सोच्यो र पातलाई भन्यो, ‘धन्यवाद मकै खसेको कान्लामाथि बारी थियो । बारी भर्खरै मकै छर्नलाई भनेर खनिराखेको थियो । बाटोमा खसेको मकै कतै जान पाएन । एकछिनपछि हावाले पातलाई उडाएर लग्यो । फेरि मकै एक्लो भयो । ‘कुनै चरापन्छी आएर खाइदिने त होइन ?’ उसलाई फेरि चिन्ता लाग्यो ।
उसले एक जना बाजे हातमा कुटो बोकेर बारीमा मकै छर्न आएको देख्यो । बाजे कान्लामाथिको बारीमा मकै छर्दै थिए । मकैले मनमनै सोच्यो, ‘म पनि यसरी माटोमुनि जान पाएको भए त उम्रन पाउँथँे नि । तर कसरी जाने ? मेरो मनको कुरा कसले बुझ्ला र ?’
बाजे मकै रोप्दै छेउसम्म आइपुगे । मकै रोप्न सकिइसकेको थियो । उसले बारीमुनिको गोरटोको घाँसमा खसिराखेको एउटा मकै देख्यो ।‘ल, कहाँबाट मकै बाटोमा झरेछ ?’ यति भनी बाजेले मकै टिपे र कुटोले खाल्डो बनाई रोपिदिए । मकै धेरै खुसी भयो । तर उसलाई माटोभित्र उकुसमुकुस भयो, ‘ओहो, माटोमुनि त कस्तो गार्हो हुँदो रहेछ ।’मकै रोपेको धेरै दिन भएको थियो । तर पानी नपरेकोले बारीका मकै टुसाउन सकिरहेको थिएन । पानीले भिज्न नपाएर मकैलाई धेरै नै गार्हो भयो र प्याकप्याक भयो ।
एक दिन आकाशमा बादल गडयाङगुडुङ करायो । ठूलै पानी पर्न थाल्यो । बिजुली चम्क्यो । पानीको भेल बग्यो । घामले सुक्खा भएको माटो भिज्यो । पानी नपाएर प्याकप्याक भएको मकै भिजेपछि ढाडियो र धमाधम टुसाउन थाल्यो । केही दिनपछि नै त्यो मकै पनि टुसाउन थाल्यो र माटोमाथि टुसुक्क दुई पात देखाउँदै मुस्कुरायो । उसले दायाँ बायाँ हेर्यो । चारैतिर आफूजस्तै साथीहरू रहेछन् । सबै मकै शीतले भिजेर भर्खरै नुहाएझैं देखिन्थे । घाम लागेपछि त कस्तो चाँदीझैं टलक्क टल्केको १
त्यो मकै आज साह्रै फुरुङ्ग छ । आफूले नयाँ जीवन पाएकोमा रमाएर गीत गाउन थाल्यो–
‘आहा ∕ नयाँ बिहानी, राम्रो बिहानीनयाँ नयाँ जीवन, हाम्रो जीवन...’
गीत सुनेर वरपरका सबै मकै पात हल्लाउँदै सिरसिर चलेको बताससँगै नाच्न थाले ।