२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

छुट्टीको समयमा नाच्दै गाउँदै

राजाराम पौडेल

काठमाडौँ — वार्षिक परीक्षापछिको खाली समयको सदुपयोग गर्दै बालबालिकाले गीत गाए, चित्र कोरे, नाचे, बोले अनि रमाए । यो अवसर प्रदान गरेको थियो– पोखराको जोजिजू म्युजिक सेन्टर तथा म्युजिक स्कुलले । जहाँ यूकेजीदेखि ९ कक्षासम्ममा अध्ययनरत बाबुनानीले फुर्सदको समय यसरी रमाइलो गर्दै बिताए । झन्डै एक सय जनाको हाराहारीमा रहेका बालबालिकाले आफ्नो प्रतिभा देखाए । गीत, संगीत, नृत्य, उत्प्रेरणा जगाउने, चित्रकला, उद्घोषणलगायत सिकाउँदै उनीहरूको आत्मविश्वास बढाइयो ।

छुट्टीको समयमा नाच्दै गाउँदै

उनीहरूलाई सानु जोजिजू, गोविन्द थापा, राजु गुरुङ, डेडिज खड्की, विनीत जोजिजू लगायतले प्रशिक्षण गराएका थिए । तीन समूहमा विभाजन गरेर १५ दिनसम्म तालिम दिएपछि उनीहरू सबैले पोखरा उद्योग वाणिज्य संघको हलमा उत्प्रेरणा सांगीतिक मञ्चमार्फत आ–आफ्ना प्रतिभा देखाए । उनीहरूको प्रतिभा हेर्न पाउँदा दर्शक–अभिभावक खुसी देखिन्थे ।

नयाँ शैक्षिक सत्र सुरु हुनुपूर्व विद्यार्थीमा अतिरिक्त क्रियाकलापमा रुचि बढाउने उद्देश्यले ‘भ्याकेसन प्याकेज’ कार्यक्रमको कोर्स पूरा गरेसँगै उनीहरूले प्रतिभा प्रस्फुटन गरेको सेन्टरका प्रबन्ध निर्देशक एवं गायक विनीत जोजिजूले बताए ।


कार्यक्रममा विश्वकै कम उमेरका ड्रमर उत्प्रेम जोजिजूले समेत आफ्नो प्रस्तुति दिए । उनले सोलो ड्रम प्रस्तुति दिँदा सहभागी उत्साहित भए । ५ वर्षीया बालिका पल थापाले कलात्मक ढंगले कार्यक्रमको सञ्चालन गर्दा कार्यक्रममा रौनकता थपियो । विनीतले पाँच वर्षको अवधिमा भ्याकेसनको समयमा मात्रै ८ सयभन्दा बढी बालबालिकालाई संगीत कोर्स सिकाएको जोजिजूले बताए ।

प्रकाशित : वैशाख ९, २०७५ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?