कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जमिनमुनिको दरबार

तिलौराकोट बुद्धभन्दा ३ सय वर्षअघिको
मनोज पौडेल

काठमाडौँ — तिमीहरूकध्ये को–को कपिलवस्तुको तिलौराकोट पुगेका छौ ? कपिलवस्तु नगरपालिका–३ मा शान्तिका अग्रदूत भगवान् गौतम बुद्धका पिता राजा शुद्धोधनको राजप्रसाद थियो । शाक्यवंशीय राजधानी पनि थियो ।

जमिनमुनिको दरबार

त्यति बेलाको राजधानीमा कस्तो थियो होला ? उति बेलाको सहरमा के के थियो होलान् ? यस्तै जिज्ञासाको जवाफ खोज्न विगत ५ वर्षदेखि यहाँ उत्खनन्, अध्यनन र अन्वेषण भइरहेको छ । अन्वेषणका लागि विश्वकै अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ ।

तिलौराकोटमा बुद्धकालीन समयभन्दा ३ सय वर्षअघि नै मानव बसोबास रहेको वैज्ञानिक पुष्टि भएको छ । बेलायतका प्रयोगशालामा माटो, कार्बन डेटिङ परीक्षण गर्दा यो तथ्य प्रमाणित भएको हो । बुद्धको जन्म साढे २५ सय वर्षअघि भएको मानिन्छ । त्यसअघि नै तिलौराकोटमा मानवीय चहलपहल बढेर बस्ती बसेको पुष्टि भएको पुरातत्त्वविद् बताउँछन् ।
यहाँ ईशा पूर्व आठौं शताब्दीमै मानव बसोबास भएको पाइएको छ । त्यसको २ सय वर्षपछि ईशापूर्व छैटौं शताब्दीमा सहरीकरण भएको प्रमाण भेटिएको छ । त्यति बेला घर बनाउने इँटाको प्रचलनै थिएन । खरको छानो, माटोका भित्ता र काठ–बाँसको खाँबो गाडेर घर बनाउने प्रचलन थियो ।

यहाँ ठाउँठाउँमा त्यति बेलाका माटो र काठ–बाँसको प्वाल (पोस्ट होल) फेला परिसकेको छ । बेलायतको डुर्‍हाम युनिभर्सिटी र पुरातत्त्व विभागले ५ वर्षदेखि गरेको यो उत्खनन्/अन्वेषणले तिलौराकोट पस्नासाथ प्राचीन सहरको झल्को दिने गरी ठाउँठाउँमा संरचना रहेको पुष्टि गरेको छ । यस पटक ३ ठाउँमा उत्खनन् गरिएको छ । यस वर्षको उत्खनन्मा उति बेलाको एउटा ठूलो र भव्य भवनको पूर्वी र दक्षिणी दुवै द्वार फेला परेका छन् । पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवरले भने, ‘यसले तिलौराकोटमा भव्य र ठूलो प्रशासनिक संरचना थियो भन्ने देखाउँछ ।’



पाँचौं शताब्दीमा यहाँ आएका चिनियाँ यात्री फायहान र साताँै शताब्दीमा आएका ह्वेगंसानले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका तथ्य भेटिएपछि तिलौराकोटको प्राचीनता झन् पुष्टि भएको हो । उत्खनन्बाट व्यवस्थित सहर र घरका संरचना फेला परेका छन् । तिलौराकोटभित्र बाटो, नाली, सुरक्षा किल्ला पर्खाल र मानवबस्तीका अवशेष फेला परेका छन् । ठाउँठाउँमा ठुल्ठूला भवनका संरचना र पोखरी पनि पाइएका छन् । ‘दुवै चिनियाँ यात्रीले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका अधिकांश तथ्य यहाँ मिलेका छन्,’ वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यले भने । उत्खनन्का क्रममा माटोका मूर्ति, पुरुष मूर्तिका शिर, माटाका भाँडाका टुक्रा, तामाका मुद्रा र शिला पनि भेटिएका छन् । उत्खनन् टोलीमा बेलायतको डुर्‍हाम विश्वविद्यालय, अस्ट्ेरेलियाको लार्टोब विश्वविद्यालय, पुरातत्त्व विभाग पाकिस्तान, बंगलादेश र श्रीलंकाका प्राध्यापक र पुरातत्त्वविद् सहभागी थिए ।

प्रकाशित : वैशाख १७, २०७५ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?