कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिचरा बगेडी

अब्दुल्लाह मियाँ

काठमाडौँ — नेपालमा धेरै प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये ‘बगाले बगेडी’ पनि एक हो । सुन्दर देखिने यी चरा तराईदेखि हिमालसम्मै पाइन्छन् । रंगीन बगेडीको पछिल्लो अवस्था भने विश्वभर नै दर्दनाक छ ।

बिचरा बगेडी

मासुका लागि यिनको सिकार अत्यधिक हुने गरेको छ । सिकारले यो चरा दुर्लभ बन्दै गएको भन्दै वैशाख दोस्रो साता आबुधाबीमा भेला भएका विश्वभरका चराविद्ले चिन्ता व्यक्त गरे । एक दशकअघिसम्म यी चरालाई केही बेरमै ४ सय वटासम्म पासो (जाल) मा पार्न सकिन्थ्यो । २०१७ को अध्ययनले भने यिनको अवस्था नाजुक देखाएको छ । अहिले दिनभरि पासो (जाल) राख्ने हो भने मुस्किकले १ देखि २ वटासम्म बगेडी चरा कब्जामा पर्ने गरेको चराविद्ले सुनाए ।

अध्ययनअनुसार चीनमा सबैभन्दा बढी बगेडी चरीको सिकार हुन्छ । चरा संरक्षण र अनुसन्धानमा काम गर्ने संस्था ‘बर्ड लाइफ इन्टरनेसनल’ का विशेषज्ञ भिकी जोन्सले चीनमा एक वर्षमा १० लाख वटासम्म बगेडीको सिकार हुने गरेको सुनाए । केही वर्षअघिसम्म सामान्य सूचीमा पर्ने बगेडी चरी अहिले आईयूसीएनको संकटोपन्न सूचीमा पर्न पुगेको छ । अध्ययनले ९० प्रतिशतले बगेडीमा गिरावट आएको समेत देखाएको छ ।

नेपालमा चराबारे अनुसन्धान गर्ने पन्छी संरक्षण संघ (बीसीएन) का चराविद् ज्योतेन्द्रज्यू ठकुरीका अनुसार नेपालमा पनि बगेडीको अत्यधिक सिकार हुन्छ । नेपालमा बगाले बगेडी भनिने उक्त चरा मासुका लागि मारिने गरिएको छ । पूर्व–पश्चिम राजमार्गका होटल, रेस्टुरेन्ट र मध्यपहाडी क्षेत्रका विभिन्न स्थानमा सिंगो बगेडी चरी प्लेटमा राखेर बेच्ने गरिएको छ । ‘देशैभरि सिकार हुने गरेकाले हामीकहाँ पनि यिनको संख्या घट्दो छ,’ ठकुरी भन्छन् ।

पछिल्लो अध्ययनले सबभन्दा बढी चाहिँ चीनमा मारिने गरेको देखाएको छ । हरेक वर्ष चीनमा हुने ‘बाउल फेस्टिबल’ मा बगेडी चरी खाने गरिन्छ । बर्ड लाइफका जोन्सका अनुसार त्यही फेस्टिबलका बेला बगेडीको बढी सिकार हुन्छ । बगेडी चरी जाडो छल्न नेपाल भित्रिने चरा पनि हो । चराविद् ठकुरीका अनुसार उत्तरी भूगोलबाट ती साना आकर्षक चरा नेपालसहित दक्षिण एसियाली मुलुकतिर जाडो छल्न आउँछन् । नेपालमै बच्चा कोरल्ने बगेडी संकटमा पर्दै गएकामा चराविद् चिन्तित छन् । त्यसो त नेपाल, चीनबाहेक अरब मुलुकहरूमा समेत यिनको सिकार अत्यधिक हुन्छ । बगेडीबाहेक विश्वमा अन्य प्रजातिका चराको अवैध सिकारको अवस्था पनि दर्दनाक छ । एक अध्ययनअनुसार, इटलीमा वार्षिक करिब ५० लाख, इजिप्टमा ५०, सिरियामा ३०, लेबनानमा २० र साइप्रसमा २० लाख ३० हजारको हाराहारीमा चराको सिकार हुने गरेको आँकडा छ ।


बसाइँसराइ गर्ने चरा र अन्य प्रजातिको दिगो संरक्षणका लागि राष्ट्रसंघले एउटा महासन्धि ल्याएको छ । ‘कन्भेन्सन अफ माइग्रेटेड स्पिसेज’ (सीएमएस) भनिने उक्त महासन्धिका विज्ञ बोर्जा हेरेडियाका अनुसार विगतमा लाखौंको संख्यामा देखिने चरा अहिले कम देखिनुको मुख्य कारण चोरीसिकार, बासस्थानमा ह्रास र बसाइँसराइ गर्ने बाटोको रोकावट/अवरोध मुख्य हुन् ।

सीएमएसमा १ सय २८ मुलुकले हस्ताक्षर गरेर पक्ष मुलुक बने पनि नेपालले हस्ताक्षर गरेको छैन । सीएमसएसमा नेपालमा पाइने चरा र वन्यजन्तु गरी ८० प्रजाति समेटिएका छन् । पन्छी संरक्षण संघ (बीसीएन) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईशाना थापाका अनुसार ७४ प्रजातिका चरा, ५ प्रजातिका स्तनधारी (हिउँ चितुवा, हात्ती, गैंडालगायत) र घस्रिनेमा एक प्रजाति (घडियाल गोही) छन् । चराविद् हेमसागर बरालले नेपाल पनि बसाइँसराइ गर्ने चरा र वन्यजन्तुको बाटोमा पर्ने भएकाले नेपालले उक्त महासन्धिमा हस्ताक्षर गरे चरा संरक्षणका साथै समस्यामा परेका पन्छी जोगाउन सहयोगको सहारा लिन सकिनेतर्क गरे । हरेक वर्ष सयौं प्रजातिका चरा नेपालका सिमसारमा आउने गरेका छन् । साइबेरिया, मंगोलिया, चीन, कोरिया, रसिया र मध्य–एसियादेखि बसाइँसराइ गरेर चरा भित्रिने गरेका छन् ।

विस्तृत अध्ययन नभए पनि १ सय ५० प्रजातिका चरा बसाइँसराइ गरेर यहाँ भित्रिने गरेको जानकारहरू बताउँछन् । जाडो छल्न हिउँद याममा अन्य मुलुकहरूबाट चरा नेपालका विभिन्न सिमसार क्षेत्रमा भित्रिने गरेका छन् ।

प्रकाशित : वैशाख ३०, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?