कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चित्रबाट सहयोग

मधु शाही

काठमाडौँ — एसईई परीक्षा दिइसकेपछि तिमीहरू ब्रिज कोर्स पढ्न थालेका हौला । कति घुमफिरमा व्यस्त होलाउ । मैतीदेवी बस्ने ज्वाला ढकालले यी दुवै काम गरिनन् । १६ वर्षीया ज्वालाले एसईई दिएकै दिनदेखि क्यानभासमा आकृति कोर्न थालिन् ।

चित्रबाट सहयोग

पहिला उनी रहर मेट्न चित्र कोर्थिन् । तर केहीपछि उनको उद्देश्य फेरियो । आफूले सिर्जना गरेका चित्रहरू बेचेर अनाथ आश्रमका नानीहरूलाई कम्प्युटर उपलब्ध गराउने उनको सोच बन्यो । त्यसका लागि उनले राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा आफूले बनाएका चित्रहरूको एक सातासम्म प्रदर्शनी गरिन् ।

ज्वालाका धेरैजसो साथीहरू ब्रिज कोर्स पढ्न लागे । कमलो मनकी उनी भने अनाथ बालबालिकालाई केही सहयोग जुटाएपछि मात्र ब्रिज कोर्सतिर लाग्ने योजनामा छिन् । स्कुल पढ्दा पनि उनी अनाथ बालबालिकालाई पढाउन पुग्थिन् । शनिबार र सावर्जनिक बिदाका दिन पारेर बालुवाटारमा रहेको प्रयास नेपाल अनाथ आश्रमका नानीहरूलाई पढाउँथिन् । त्यहाँ पनि उनी बालबालिकालाई चित्र लेख्न सिकाउँथिन् । उनीहरूसँग नजिक हुँदै गर्दा ज्वालाले कम्प्युटरको खाँचो देखिन् । ‘कम्प्युटर नहुँदा धेरै कुरा सिक्न पाएका छैनन् नानीहरू,’ ज्वालाले भनिन्, ‘त्यसैले कम्प्युटर किनिदिन मन लाग्यो ।’

ज्वालाले १ सय १० वटा चित्र बनाइन् । शनिबारसम्म प्रदर्शित उनका चित्रको थुप्रैले प्रशंसा गरे । केही चित्र बिक्री पनि भए । बाँकी रहेका चित्र भविष्यमा बिक्री हुने उनको विश्वास छ ।

‘मेरा कला समाज, प्रकृति र वास्तविक जीवन गाँसिएका छन्,’ ज्वाला भन्छिन्, ‘विदेशमा रोजगारीमा गएका नेपालीको वेदना, महिला र प्रकृतिबीचको सुन्दरता, बालअधिकार, मानवअधिकारजस्ता विषय पनि क्यानभासमा उतारेकी छु ।’

‘डिफरन्ट स्टेज अफ अ हुमनविङ’ थिममा कोरिएको चित्रमा ज्वालाले मान्छेको विकास क्रम देखाएकी छन् । बच्चा, बालक, किशोर, अधबैंसेपछि वृद्ध अवस्थामा देखिने शारीरिक उतारचढाव चित्रमा मन छुने तरिकाले उतारेकी छन् । उनले बनाएका चित्रमध्ये, मैनबत्तीको धुवाँले छापेको आकृति अनौठो छ । ‘रंगबिना नै धुवाँले चित्र कोर्दा कस्तो होला ?’ उनको मनमा यस्तै प्रश्न खेलिरहेको थियो । यसलाई अभ्यास नै गरेर हेर्न मन लागेछ । मैनबत्ती बालिन् । धुवाँ उडिरहेको थियो । कागजका पाना हल्का धुवाँ भएको भागमा घुमाइरहिन् । कालो छाप बसेकोमा ज्वालाले मनभरि आए जतिका आकृति कोरिन् ।

‘अर्मूत चित्र पो बनेछ,’ आफ्नो काम आफैंले हेरेर दंग पर्दै भनिन्, ‘ब्ल्याक एन्ड ह्वाइट ब्युटी देखाउन यस्तो गरेकी हुँ ।’ प्रदर्शनीमा राखिएका ज्वालाका चित्रको मूल्य ५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म राखिएको थियो ।

प्रकाशित : वैशाख ३०, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?