२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सम्भावनाका सपनाहरु

निवन्ध

काठमाडौँ — प्रकृति जादूमयी अनि रोमाञ्चकारी छ । भयावह र जीवनदायी पनि ।

सम्भावनाका सपनाहरु

यसका अनेक रूप छन् । जीवन पनि प्रकृतिसँगै सम्बन्धित छ । जीवनमा हृदय प्रफुल्ल भएर नाच्ने र गाउने अवसर आउँछ । संघर्षका पहाडसँग लड्नुपर्छ भने सम्भावनाका सपनाहरू पनि हेर्नुपर्छ अनि बल्ल जीवन अर्थपूर्ण बन्न पुग्छ ।


वसन्त ऋतुका बेला वनपाखामा अनेकथरीका रंगीचंगी फूलहरू फुलेझैं मेरो मनमा पनि ती फूलहरूजस्तै नानाथरी कुरा खेल्छन् । घरी ती तातिन्छन् त घरी सेलाउँछन् । चाहनाका असीमित पोकाहरू मेरो मनभित्र छन् । ऋतुराजले नवउमङ्ग ल्याउँछ भन्ने कुरा सार्थक रहेछ । चैतको हावा सिरिरि चलिरहेको थियो, पुराना पात झरेर नयाँ पालुवाहरू पलाउन लागेका थिए । विद्यालयमा शुक्रबार हुन लागेको वक्तृत्वकला प्रतियोगिताको तयारीमा गुरुहरू व्यस्त हुनुहुन्थ्यो । त्यही क्रममा एक जना गुरुले मलाई सोध्नुभयो–‘पलक के तिमी भोलि हुन लागेको प्रतियोगितामा भाग लिन चाहन्छयौ ? मैले भने, ‘अहँ ।’ उहाँ अचम्मित हुनुभयो । उहाँले फेरि सोध्नुभयो, ‘किन त नि ?’ मैले भनेँ, ‘बोल्न डर लाग्छ ।’ गुरुले हाँस्दै भन्नुभयो, ‘पढाइमा मात्र अगाडि भएर कहाँ हुन्छ र ? अन्य क्रियाकलापहरूमा भाग नलिएसम्म तिमी त अगाडि नै बढ्न सक्दिनौं । यदि यसरी नै लजाएर, डराएर बस्ने हो भने, कहिल्यै प्रगति हुँदैन ।’ मलाई गुरुले त्यति मात्र के भन्नुभएको थियो, मैले त्यति बेला नै अठोट गरेँ ‘अब त म पक्का भोलिको प्रतियोगितामा भाग लिनेछु र अवश्य प्रतियोगिता जित्नेछु ।’


भनिन्छ, ‘ईख नभएको मान्छे र विष नभएको सर्प काम लाग्दैन ।’ साँच्चै नै यो भनाइ मेरा लागि सही सावित भयो, जब मैले प्रतियोगितामा जित्ने अठोट गरेकी थिएँ र जितेँ पनि । त्यस दिनबाट मेरो मनबाट बोल्ने डर हराएर कता हो कता बिलायो । मैले त्यस दिन गरेको अठोटले मलाई विद्यालयकै प्रखर वक्ता बनाइदियो ।


त्यस दिनदेखि मैले मेरो बोल्ने सीपलाई मेरो जीवनको प्रिय अंग नै बनाइदिएँ । त्यसपछिका दिनहरूमा मैले विभिन्न जिल्लास्तरीय वक्तृत्व प्रतियोगितादेखि राष्ट्रियस्तरको ‘रियल स्कुल अफ नेपाल’ जस्तो प्रतिष्ठित प्रतियोगितामा भाग लिँदै आएकी छु । हरेक प्रतियोगितामा म कुनै न कुनै स्थान हासिल गरेर ल्याउँछु । स्थान हासिल नगरे पनि अनुभव र हौसलाका पोकाहरू आफ्ना साथमा लिएर आउँछु ।


आज म कक्षा १० मा अध्ययनरत छु । सफलताका बाक्साहरूलाई आफूतिर तान्ने कोसिस गरिरहेकी छु । यसो सोच्द छु, मैले आजको दिनसम्म कति कुराहरू जानिसकेकी छु र अझै पनि जान्दै छु । जीवनको कथालाई बुझ्दै छु, ज्ञानविज्ञान बटुल्दै छु । यी सबै कुराहरू के गर्दा हासिल गर्न सकेकी हुँला भनेर मनन् गर्दा सबै कुराहरू झलझली सम्झन्छु ।
म आज जे छु त्यसको पछाडि मेरो मात्र एकल प्रयास नभई मेरो बुबा, मेरी आमा र मेरा गुरुहरूको समान सहायता र सहभागिता पनि रहेको छ । साँच्चै भन्नुपर्दा मेरा सफलतापछाडिको हात मेरा आमाबुबाको प्रेरणा र हौसला हो । उहाँहरूको हौसला र उपदेशको देन हो ।


मैले उहाँहरूबाट सिकेको सबैभन्दा ठूलो उपदेश भनेको ‘घोडा चढ्ने मान्छे लड्छ ।’ तर जो लडेर पनि उठ्छ ऊ अगाडि बढ्छ । हो, मैले पनि जीवनका अँध्यारोलाई देखेकी छु, महसुस गरेकी छु र सामना पनि गरेकी छु । मलाई पनि कुनै समयमा जीवनदेखि घृणा लाग्न थालेको थियो तर मेरा बुबाआमाको हौसलाले मलाई अगाडि बढ्ने प्रेरणा दियो र आज म यहाँसम्म आइपुग्न सफल भएकी छु ।


आमाबुबापश्चात् मेरो सफलताको मुख्य पात्र भनेको मेरा गुरुहरू हुन् । जसले मलाई सदैव पढाइका साथै अन्य क्रियाकलापहरूमा आफ्नो ज्ञान र अनुभव बाँड्नुहुन्छ । गुरुहरूबाट प्राप्त भएका ज्ञान र सीपमूलक शिक्षाले दिनहुँ कलम तिखारेझैं तिखारिन्छु म । ओहो, मैले त हजुरहरूलाई भन्नै बिर्सेछु कि आमाबुबा र गुरुहरू मात्र नभई मलाई हरेक पक्षमा सहयोग गर्न मेरो भाइले खुब ठूलो भूमिका निर्वाह गरेको छ । उसको सल्लाहले मभित्र नयाँ ऊर्जा भरिएर आउँछ । भाइ साथसाथै मेरा हजुरबुबा र हजुरआमाको ओठमा फैलने मुस्कानले समेत मलाई नयाँ काम गर्ने उत्साह प्रदान गर्छ र आज त्यही उत्साह, हौसला, ऊर्जा र प्रेरणाका कारण नै आज मैले देखेको नदेखेको सपनाहरू विपनामा परिणत भएका छन् र आगामी दिनहरूमा समेत कडा मिहिनेत, परिश्रम र लगनशीलताको बलमा अगाडि बढ्नेछु ।


अन्तत: हरेक असम्भवभित्र सम्भावनाहरू लुकेका हुन्छन् र हरेक सम्भावनाहरूमा सफलता । त्यसैले हरेक व्यक्तिले आफ्नो जीवनमा आइपर्ने सम्भावनाहरूलाई सफलतामा परिणत गर्नका लागि कडा मिहिनेत, साधना, अठोट र दृढ संकल्प गर्नुपर्छ ।


कल्पनाभित्र सपना, योजना अनि त्यसलाई विपना बनाउने कार्यलाई सफलीभूत पार्ने मुख्य भूमिका लगनशीलता हो, आत्मबल, आत्मविश्वास हो । त्यसैले जीवन नदीझैं निरन्तर बग्नुपर्छ, अनि घडीको सुईझंै अनवरत हिँड्नुपर्छ । हामी सबैले, हामी सबैले ।
-पलक क्षेत्री, कक्षा–१०
स्मल हेभन मोडेल स्कुल, चितवन

प्रकाशित : वैशाख ३०, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?