हीरा

काठमाडौँ — स्कुलको खाजाखाने घण्टी बज्यो , सबै केटाकेटीहरू हुर्रर कक्षाकोठाबाट निस्किए । कोही खाजाखानतिर लागे भने, कोही खेल्नतिर । हीरा र अर्पण पनि कक्षाकोठाबाट बाहिर निस्किए । उनीहरू आफ्नै धुनमा हिँडिरहेका थिए ।

हीरा

अचानक अस्मितले छिर्के लगाइदिएर हीरालाई लडाइदियो । ऊसँग भएका अरू केटाहरू गलल्ल्ल हाँसे । ‘तिमीहरूको काम छैन ? सधंै उसलाई किन दु:ख दिइरहन्छौ ?’ अर्पणले अस्मितलाई गाली गर्दै हीरालाई उठायो ।


‘त्यही त भनेको, काम नभएर त यसलाई दु:ख दिन मन लाग्छ नि,’ अस्मितले हाँसेर भन्यो । अनि अर्पणलाई हेर्दै ‘तैंले के यस्तो हनुमानजस्तो अनुहार भएकोलाई साथी बनाइरहेको नि । आइज, हामीसँग साथी बन्न एउटा पुच्छर गाँसिदियो भने त ठयाक्कै हनुमान । नामचाहिँ हीरा रे । खै कताबाट देखिन्छ यो टलक्क टल्किने हीरा जस्तो ।’ अस्मितले हीराको वरिपरि घुम्दै भन्यो । उसको कुरा सुनेर उसका सबै जना साथीहरू फेरि हाँसे । बिचरा हीरा, केही बोल्न सकेन । ‘तिमीहरू जस्तो दुष्टको साथी मलाई बन्नु छैन । अब आइन्दादेखि हीरालाई केही भन्यौ भने, म सरलाई गएर भनिदिन्छु,’ अर्पणले आँखा तरेर भन्यो । ‘जा जा गएर कसलाई भन्नुपर्छ, भनिदे । डराउँदिनँ,’ अस्मितले अर्पणलाई पिटौँलाजस्तो गरेर भन्यो ।


उनीहरूको गलफगतीमा खाजाखाने समय पनि सकियो । कक्षा सुरु हुने घण्टी बज्यो । अर्पण हीराको हात समातेर कक्षाकोठातिर गयो ।


स्कुल छुट्टी भएपछि हीरा र अर्पण घर फर्कंदै थिए तर दुवै मौन थिए । अर्पणले हीराको अनुहार मा हेर्‍यो । हीराको अनुहारमा पीडा देखेर अर्पणले केही भन्न सकेन ।
घर फर्केपछि, हीरा कसैसँग नबोली आफ्नो कोठामा गयो । हिजो–अस्ति भएको भए उसलाई आफ्नो अनुहार ऐनामा राम्रोसँग हेर्न मन लाग्दैन थियो । तर आज उसले स्कुलको ब्यागलाई खाटमा राखेर दराजको ऐनामा आफ्नो अनुहार हेर्न गयो । उसले आफ्नो अनुहारलाई राम्ररी नियालेर हेर्‍यो । उसलाई आफ्नो रूप कुरूप लाग्न थाल्यो । जति नियालेर आफ्नो अनुहारलाई हेर्‍यो उसका आँखाबाट तपतप गर्दै आँसु बग्न थाल्यो । सहन नसकेर ऊ खाटमा बसेर घोप्टो परेर रुन थाल्यो ।


सधंै आमा म आएँ भन्ने छोरा आज केही नबोली कोठाभित्र छिरेको देखेर आमालाई ‘आज हीरालाई पक्कै पनि केही भएको छ’ भनेर उसको कोठामा जानुभयो । त्यहाँको दृश्य देखेर आमा आत्तिनुभयो र हत्तपत्त हीरालाई समाएर भन्नुभयो, ‘बाबु, के भयो तिमीलाई ? किन रोएको ?’ आमाको मायालु स्वर सुनेर ऊ झनझन भक्कानिन थाल्यो । उसको मुखबाट केही पनि शब्द निस्कन सकेन ।


‘मेरो ज्ञानी छोरालाई आज के भयो ? म तिम्रो आमा मात्र हैन, तिम्रो साथी पनि त हँु नि । आमालाई नभने पनि साथीलाई त आफ्नो कुरा भन्न सक्छौ नि । केही नभनी मनमा कुरा गुम्स्यायो भने गाह्रो हुन्छ,’ आमाले हीराको कपाल मुसारेर भन्नुभयो ।


आमाको कुरा सुनेर हीराले बिस्तारै आफ्नो टाउको माथि उठायो । उसको आँखाबाट आँसु बग्न छोडेको थिएन । उसका आँखा राता भएका थिए । ऊ बोल्न खोज्यो तर बोली फुटेन । आमाले टेबलमा भएको बोतलको पानी खान दिनुभयो । एकछिन् कोठामा मौनता छायो । एकछिन्पछि आमाले सोध्नुभयो ‘ल भन, अब आज स्कुलमा के भयो ?’
‘ममी मेरो अनुहार किन यति नराम्रो भएको ?’ उसले आमाको आँखामा हेरेर सोध्यो ।


‘कसले भन्यो मेरो छोरालाई नराम्रो ? ल आज स्कुलमा कसले के भन्यो सबै भन,’ आमाले अलि आत्तिएर सोध्नुभयो । हीराले स्कुलमा भएको सबै घटना भन्यो । आमाले ध्यानपूर्वक सुनिरहनुभयो । उसको कुरा सकिएपछि आमाले भन्नुभयो, ‘ओठ काटिएर जन्मनु तिम्रो दोष त हैन तर पनि भन्नेको मुखलाई टाल्न सकिँदैन । जसको सोचाइ राम्रो छ, उसले सबैलाई राम्रो देख्छ । जसको सोचाइ राम्रो हुँदैन, उसले राम्रोलाई पनि नराम्रो देख्छ । त्यसैले त्यस्तोको कुरा सुनेर किन चित्त दुखाउनु ।’


राम्रो अनुहार भएको व्यक्ति मात्र राम्रो हुने हैन । बानीव्यहोरा राम्रो हुनपर्छ । मिहिनेत गरी पढयौ भने एक दिन तिमी पक्कै पनि ठूलो मान्छे हुनेछौ । त्यतिखेर तिम्रो अनुहारलाई नराम्रो भन्नेहरूले तिम्रो तारिफ गर्नेछन् । उसलाई फकाउँदै आमाले भन्नुभयो, ‘तिमी त हाम्रो परिवारको हीरा हौ नि । त्यही भएर त तिम्रो नाम नै हीरा राखिदिएको । ल हिँड खाजा खान जाऊँ । मैले आज मेरो छोरालाई मन पर्ने गाँजरको हलुवा बनाइदिएकी छु ।’


आमाले सम्झाउनुभएपछि बिस्तारै हीराको मन हलुका हुँदै गयो । उसका आँखाबाट आँसु बग्न छोडयो । उसले आमालाई अँगालो हालेर भन्यो, ‘ममी, अब मलाई जसले नराम्रो भने पनि चित्त दुखाउदिनँ । म असल व्यक्ति बनेर एक दिन हीराजस्तै चम्किनेछु । उसको अनुहारमा आत्मविश्वासको चमक चम्किरहेको थियो ।आमाको आँखामा सन्तोष झल्किरहेको थियो ।

प्रकाशित : वैशाख ३०, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?