कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सगरमाथा माथि

सुरज कुँवर

काठमाडौँ — मानिस किन अग्ला पहाड वा हिमाल चढ्न चाहन्छन् होला ? यो जिज्ञासाको एउटै उत्तर पाइँदैन । फरक भूगोल । चुनौतीपूर्ण यात्रा । फरक खाले हावापानी, मौसम आदि । मानिस आनन्द लिन वा आफ्नो क्षमता जाँच्न अग्गा हिमाल आरोहण गर्छन् । नेपालका हिमाल र यहाँ हुने आरोहण विश्वभर चर्चित छन् । हिमाल आरोहणका लागि नेपाल मुख्य हब हो । सबैभन्दा धेरैले सगरमाथा आरोहण गर्न चाहन्छन् । तर, त्यहाँ पुग्न सजिलो छैन ।

सगरमाथा माथि

अनलाइनहरूमा उल्लेख भएअनुसार, सगरमाथाको उमेर कम्तीमा ६ करोड वर्षअघि भएको अनुमान छ । इस्ट इन्डिया कम्पनीका ब्रिटिस सर्भेयर जर्ज एभरेस्टले सन् १८४१ मा सर्भे गर्ने क्रममा अहिलेको ‘सगरमाथा’ पत्ता लगाएका थिए । सर्भेयर एभरेस्टले १ सय ७७ वर्षअघि सगरमाथाको उचाइ निर्धारण नगर्दासम्म यो धर्तीकै अग्लो चुचुरो हो भन्ने विश्वका धेरैलाई हेक्का नै थिएन । त्यस बेला सर्भेयरहरूले सगरमाथाको नाम अंग्रेजी अक्षर पिक अनि रोमन नम्बर एक्सभी (१५) राखिदिएका थिए । जसलाई नेपाली विद्वान्हरूले पछि पन्ध्रौं चुली भने ।

सन् १८८५ ताका बेलायती सर्जन क्ल्निटन थोमस डेन्टले ‘सगरमाथा आरोहण सम्भव छ’ भने । यो कुरा उनले आफ्नो पुस्तक ‘एभव द स्नो लाइन’ मा लेखेका थिए । सन् १९२१ मा बेलायती सेनाका लेफ्टिनेन्ट हर्बट मेलोरीले सगरमाथाको चचुरोमा पहिलो मानव पाइला राख्ने प्रयास गरे । तर, सफल भएन ।

त्यस बेला विदेशीका लागि नेपाल घुम्न खुला भइसकेको थिएन । उनले दार्जिलिङबाट तिब्बत हुँदै उत्तरी मोहोडाबाट पहिलो पटक सगरमाथा आरोहणको प्रयास गरेका थिए । दोस्रो वर्ष फेरि यही आरोहण दलले तिब्बततर्फबाट प्रयास गर्‍यो । त्यस वर्ष पनि सफल भएन । दुई वर्ष उत्तर भारतको बाटो हँुदै सगरमाथाको छेउछाउमा बिताएका उनी सन् १९२३ मा अमेरिका फर्किए । त्यस वर्षको मार्च १८ मा उनले न्युयोर्क टाइम्सलाई दिएको अन्तरवार्ता अहिलेसम्म चर्चित छ । ‘क्लाइम्बिङ माउन्ट एभरेस्ट इज वोर्क फर सुपरम्यान’ शीर्षकमा छापिएको त्यो अन्तरवार्तामा उनलाई पत्रकारले, ‘तपाईं किन सगरमाथा चढ्न चाहनुहुन्छ ?’ भनी सोधेका थिए । जवाफमा उनले, भनेका थिए, ‘बिकज इट्स देयर (किनकि त्यो त्यहाँ छ) ।’ भनेको यो उत्तर अहिलेसम्म पनि चर्चित छ ।

त्यो अन्तरवार्तापछि मेलोरी ३७ वर्षको उमेरमा फेरि तिब्बततर्फबाट सर्वोच्च शिखर चुम्न १९२४ मा सगरमाथातर्फ आए । तर सहयात्री एन्ड्रयु इर्विनसहित उनी बेपत्ता भए । सगरमाथामा पहिलो मानव पाइला पुर्‍याउने प्रयत्न गर्ने उनी सफल भए वा भएनन् ? अहिलेसम्म पुष्टि हुन नसकेको बहस छ । मेलोरी बेपत्ता भएको ७६ वर्षपछि १९९९ मे १ मा उनको मृत शरीर भेटियो । तर, उनले आरोहण गरेको प्रमाण अझै अनुसन्धानकर्ताहरूले जुटाउन सकेका छैनन् । मेलोरी बेपत्ता भएको २९ वर्षपछि मात्रै एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा चुचुरोमा पुग्न सफल भएका थिए ।

०००

सन् १९५३ न्युजिल्यान्डका एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले नेपालतर्फबाट सफल आरोहण गरे । यो अभियान नै विश्वकै अग्लो चुचुरोमा पुग्ने पहिलो ओराहण दल बन्यो । तर, सगरमाथाअघि नै सन् १९५० मा फ्रेन्च आरोही मौरिस हर्जोकले ८ हजार अग्लो अन्नपूर्ण प्रथम आरोहण गरेका थिए । सन् १९४९ देखि नेपालका हिमालमा आरोहण खुला गरिएको थियो । सरकारले ५ हजारदेखि ८ हजार ८ सय ४८ मिटरसम्म उचाइका १३ सय १० हिम चुचुरा पहिचान गरेको छ । यीमध्ये ४ सय १४ हिमाल आरोहणका लागि खुला छन् । पर्यटन विभागका अनुसार, सरकारले वर्षमा चारपटक (वसन्त, वर्षा, शरद र हिउँद याम) हिमाल आरोहणका लागि खोल्ने गरेको छ । यी चार सिजनमध्ये वसन्तकालीन याममा सबैभन्दा धेरै आरोही हिमालका आधार शिविर पुग्ने गर्छन् ।

०००

नेपालका हिमाल एक्लै आरोहण गर्न जान पाइँदैन । आरोहण गर्न पर्यटन विभागलाई दस्तुर बुझाउनुपर्छ । यसलाई सलामी भनिन्छ । सलामी तिरेपछि मात्रै आरोहणका लागि अनुमति पाइन्छ । सगरमाथा आरोहण गर्न चाहने विदेशीले ११ हजार डलर (११ लाख ९१ हजार ३ सय रुपैयाँ) तिर्नुपर्छ । यो वसन्तकालीन यामको सलामी दस्तुर हो । जाडो र वर्षामा विदेशीले २ हजार ७ सय ५० डलर तिर्नुपर्छ भने नेपालीलाई ७५ हजार रुपैयाँ मात्रै लाग्छ । ६ हजार ५ सय मिटरभन्दा साना हिमालमा सबैभन्दा कम दस्तुर विदेशीका लागि ७ हजार र नेपालीका लागि १ हजार रुपैयाँ लाग्छ । अहिले मध्य र सुदूरपश्चिमका हिमाल आरोहणका लागि भने दस्तुर तिर्नुपर्दैन ।

हिमाल आरोहण गराउनका लागि नेपालमा सयौं ट्ेरकिङ तथा एक्सपिडिसन कम्पनी छन् । उनीहरूले छुट्टै ज्याला लिन्छन् । यस्ता कम्पनीले कम्तीमा १० देखि ४५ लाख रुपैयाँसम्म ज्याला लिन्छन् । यिनले गाइड, हेल्पर, हाई अल्टिच्युट वर्कर, टेन्ट, खानेबस्ने सामग्री, यातायता आदिको सेवा उपलब्ध गराउँछन् । हिमाल आरोहण गर्दा चाहिने सामग्री आरोहीले किन्नुपर्छ । यस्ता सामग्रीमा हिउँमा लगाउने लुगा, बुट, आइस–एक्स, क्रमपोनस, क्लाइबिङ हार्नेस, कार्बिनर्स हेलमेटलगायत हुन्छन् ।

हिमाल आरोहण गर्न उच्च हिमालमा चढ्न सक्ने अनुभवी गाइड अनिवार्य हुनुपर्छ । गाइडसँगै सामान ओसार्ने भरिया हुन्छन् । हिमाल आरोहण गर्न जाने आरोहण दलका सबै सदस्यको स्वास्थ्य जाँच, दुर्घटना/औषधोपचार/ आपत्कालीन उद्धार आदि बिमा गरेको हुनुपर्छ । फोहोर मैला व्यवस्थापनका लागि धरौटी राख्नुपर्छ । आधार शिविरभन्दा माथि मोबाइल नेटवर्क नलाग्ने भएकाले वाकीट्वाकी वा सेटलाइट फोन लैजानुपर्छ । यसको पनि अनुमति लिनुपर्छ । सगरमाथा आरोहण गर्न कम्तीमा डेढ महिनादेखि बढीमा तीन महिनासम्म लाग्छ । उच्च भेगमा अक्सिजनको कमी हुने भएकाले आरोहीहरू धेरै समय तल–माथि गर्दै आफूलाई त्यहाँको मौसम, तापक्रम, आद्रता अनुकरण गर्न सक्ने बनाउँछन् । यस्तो अभ्यासलाई अक्लाइमटाइजेसन भनिन्छ ।

गाइड र आरोहण गराउने सिपालु एक्सपिडिसन कम्पनीको पर्यटन विभागले जारी गरेको अनुमतिपत्र अनिवार्य हुनुपर्छ । भरियालाई ३० केजीभन्दा बढी भारी बोकाउन पाइँदैन । ८ हजार मिटर उचाइभन्दा माथि भरियाले १२ केजी मात्रै बोक्नुपर्छ । आरोहण दलसँगै सरकारले एक जना सरकारी अधिकृत खटाउँछ । यिनलाई सम्पर्क अधिकृत भनिन्छ । यी आधार शिविरमा बस्छन् । सगरमाथा आरोहण गर्न सोलुखुम्बुको लुक्ला पुग्नै पर्छ । काठमाडौंबाट लुक्लासम्म हवाई सेवा छ । लुक्ला २८६० मिटर उचाइमा छ । त्यहाबाट हिड्दै ५३८० मिटरको सगरमाथा आधार शिविर जानुपर्छ । त्यहाँ बस्ती छैन । हिउँमाथि टेन्ट गाडेर बस्नुपर्छ । एउटा हिमालको आरोहण अनुमति लिएर अर्कोमा आरोहण गर्न पाइँदैन । आरोहण सकेर फर्केपछि चुचुरोमा पुगेको फोटोसहितको प्रतिवेदन बुझाएपछि मात्रै हिमाल आरोहण गरेको प्रमाणपत्र पाइन्छ ।

सगरमाथाबारे तथ्य :
- उत्पत्ति ६ करोड वर्षअघि भएको अनुमान छ ।
- सगरमाथालाई तिब्बतीहरू चोमोलोङमा भन्छन् ।
- १६२ वर्षअघि यसको नाम ब्रिटिस सर्भेयरले पिक फिप्टिन (१५औं चुली) राखेका थिए ।
- ब्रिटिस सर्भेयर सर जर्ज एभरेस्टले नेतृत्व गरेको टोलीले यो चुचुरो ‘पत्ता’ लगाएको थियो ।
- सन् १८६५ यसको नाम माउन्ट एभरेस्ट राखियो ।
- सगरमाथाको बनोट चट्टानमाथि बाक्लो हिउँ छ ।
- चीनले सगरमाथाको आधिकारिक उचाइ ८८४३ मिटर मान्छ ।
- जीपीएस प्रविधिबाट १९ वर्षअघि सगरमाथा नाप्दा ८८५० मिटर देखियो ।
- नेपालले ८८४७.७३ मिटर मानेको छ । यो ६३ वर्षअघिको मापन हो ।
- भूकम्पछि नेपालले सगरमाथाको उचाइ पुन: नाप्न थालेको छ । यो २०२० मा सकिनेछ ।
- सगरमाथामा प्रतिघण्टा ३२१ किलोमिटरको गतिमा हावा चल्छ ।
- सगरमाथाको तापक्रम माइनस ६२ डिग्री सेलसियस पुग्छ ।
- सगरमाथा आरोहणको पहिलो प्रयास हर्बट मेलोरीले ९७ वर्षअघि तिब्बतबाट गरेका थिए ।
- ६५ वर्षअघि न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पा नेपालतर्फ सफल आरोहण गरेका थिए ।
- १३ वर्ष ११ महिनाको उमेरमा तिब्बतबाट चुचुरोमा पुग्ने अमेरिकी किशोर जोर्डनले रोमेरो सबैभन्दा कम उमेरका आरोही हुन् ।
- जापानी महिला जुन्को ताबेई पहिलो महिला सगरमाथा आरोही हुन् ।
- अस्ट्रियाका पिटर हाबेलेर ४० वर्षअघि बिनाअक्सिजन आरोहण गरेका थिए ।
- २२ पटक चुचुरोमा पुग्ने कामीरिता शेर्पा सर्वाधिक पाइला राख्ने आरोही हुन् ।
- तिब्बती मोहोडाबाट आरोहण गर्ने तेम्बा छिरिङ शेर्पा सबैभन्दा कान्छा नेपाली आरोही हुन् ।
- सगरमाथा चढ्न झन्डै २० हजार आरोहीले प्रयास गरेकामा करिब ७ हजार हाराहारी मात्रै चुचुरोमा पुग्न सफल भएका छन् ।
- आरोहण क्रममा करिब ३ सय जनाले ज्यान गुमाएका छन् ।
- दक्षिणतर्फ नेपालको सोलुखुम्बुबाट र उत्तरतर्फबाट तिब्बती मोहोडाबाट मात्रै आरोहण गर्न सकिन्छ ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?