२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

स्वर्गकी ‘अप्सरा’ भेट्दा...

नियात्रा

काठमाडौँ — हाम्रो स्कुलको वार्षिक शैक्षिक क्यालेन्डरअनुसार गत वैशाख अन्तिम साता कक्षा ९ का विद्यार्थीको ‘राराको शैक्षिक भ्रमण’ थियो । जुम्लाको खलङ्ला (हालको चन्दननाथ नगरपालिका) स्थित कनिका निशा माविमा अध्ययनरत हाम्रा लागि यहीँको हावापानी र वातावरणमा हुर्केबढेको हुनाले भौगोलिक कठिनाइ र हिँडडुल गर्नु खासै गाह्रो कुरा थिएन । सोहीअनुसार हामीले छिमेकी जिल्ला मुगुको डुहुमा अवस्थित रारा भ्रमणमा पैदलै निस्कने चारदिने योजना बनायौँ ।

स्वर्गकी ‘अप्सरा’ भेट्दा...

जुम्लाबाट राराको पैदल यात्रा ८३ किलोमिटर पर्छ । लुगाफाटो, सरसामान र तयारी खानेकुराहरूले पुक्क परेका झोला भिरेर वैशाख २६ गते बिहान ६ बजेतिर हामी स्कुलमा भेला भयौँ । हाम्रो यात्रामा कक्षा शिक्षक सुनील धामी र पथ प्रदर्शनका लागि सीता देवकोटा म्यामसहित कक्षाका सबै विद्यार्थी थियौँ । प्रधानाध्यापकले शैक्षिक भ्रमणबारे जानकारी र आवश्यक निर्देशन दिएपछि हामी स्कुल प्रांगणबाट अघि बढयौँ ।

‘स्वर्गकी अप्सरा’ को उपमा पाएको राराबारे धेरै कुरा पढेका, सुनेका थियौँ । चारदिने यात्रामा जुम्ला र मुगुबीच पर्ने लेक चढ्नुपर्ने, तल झर्नुपर्ने र घना जंगल छिचोल्नुपर्ने कुरामा अवगत थियौँ । स्वर्गकी अप्सरालाई नजिकैबाट हेर्ने, स्पर्श गर्ने र तस्बिर खिच्ने तीव्र चाहनाले हामी निकै उत्साही थियौँ ।

खलङ्गा उपत्यकामा वैशाख–जेठमा पनि हल्का पानी पर्नेबित्तिकै वरिपरिका डाँडा हिउँले सेताम्यै हुन्छन् । यात्राको अघिल्लो रातभरि पानी दर्किएको थियो । चारैतिर हिउँले सेताम्यै थियो । तर यात्राको दिन भने पारिलो घाम झुल्किसकेको थियो । खलङ्गाबाट उकालो लागेर डाँफे लेक चढेपछि ओरालो झर्नुपर्ने थियो । झट्ट हेर्दा डाँफे बसेझंै देखिने हुनाले यो लेकलाई डाँफे लेक भनिएको हो । डाँफे लेकमा हिउँ बाक्लै देखिन्थ्यो । खलङ्गालाई पछाडि पार्दै हामी उकालो डाँफे लेकतिर लाग्यौँ ।

करिब ३ घण्टाको उकालो सकेपछि एउटा खुला मैदान देखियो । स्थानीयहरू यो मैदानलाई चेरे भन्दा रहेछन् । मैदानको माथिपट्टि डाँफे लेक हिउँको सप्को ओड्दै उभिएको थियो । बस्ती बाक्लो थिएन । मैदानमा भेडीगोठ देखिन्थे । घोडा चरिरहेका थिए । मैदानको बीचमा एउटा खाजा पसल रहेछ । हामीले त्यहाँ चाउचाउ पकाउन भन्यौँ । चेरेबाट जुम्ला उपत्यकाको दृश्य मनमोहक देखिँदो रहेछ । थकान मेट्दै खाजा खाएर फेरि पाइला चाल्यौँ । मैदानको पुछारतिर झुरुप्पै रुखहरू थिए । त्यहींबाटै डाँफे लेकको उकालो सुरु भयो । करिब साढे एक घण्टाको उकालो चढेपछि डाँफे लेकको टुप्पोमा पुग्याँै । चुचुरोमा हामीले केही सामूहिक तस्बिर लियौँ । त्यहाँबाट मुगु र जुम्लाको बीचमा निकै ठूला हिमशृंखला देखिए । त्यति बेलासम्म ११ बजिसकेको थियो । डाँफे लेकबाट हिउँ खेल्दै ओरालो झरेर खाली भन्ने ठाउँको होटल वसन्तीमा खाना खान पुग्यौँ । त्यहाँ लहरै तीन/चारवटा घर थिए ।

खाली जुम्लाकै कनका सुन्दरी गाउँपालिकामा पर्छ । हिउँले ढपक्कै ढाकेको यो ठाउँ मनमोहक लाग्यो । होटलको आँगनको पर्खालमा साहुनीले हामीलाई राडी बिछयाइदिइन् । स्थानीय चामलको भात, आलुको तरकारी र सिमीको दाल अँगेनामा पकाउन समय लाग्ने निश्चित थियो । हामीले हिउँको पानीले भिजेका जुत्ता फुकालेर घाममा सुकाउन राख्यौँ । सुधारिएको चुलोमा आगो दन्किरहेको थियो । केही साथीहरू आगो ताप्दै साहुनीसँग व्यापार व्यवसायबारे जिज्ञासा राखिरहेका थिए ।

खाना तयार भयो । हामीले खायौँ । पहिलो रात जुम्लाकै कनका सुन्दरी गाउँपालिकाको चौथा भन्ने ठाउँमा बस्ने योजना थियो । खाना खाइसकेपछि न्याउरीगाडसम्म ओरालो झर्‍यौँ । जुम्लाबाट मुगु जोड्ने भर्खरै खोलेको सडक भेटियो । सडकै सडक पाइला सोझयायौँ । बाटामा एक हूल विदेशीको टोली भेटियो । उनीहरूलै नै पहिले हामीलाई नमस्ते भने । हामीले पनि नमस्ते फर्कायौँ ।

साँझको ५ बजिसकेको थियो । चौथा पुग्न अझै करिब आधा घण्टा लाग्ने एक जना स्थानीयले बताए । हल्का पानी पर्न थाल्यो । हामीले हाम्रो हिँडाइको गति बढायौँ । दुइटा अग्ला पहाडको कन्दरामा भीरमुनि केही घर रहेछन् । यही ठाउँ रहेछ चौथा । त्यो साँझ होटल हिमालमा बस्याँै । फरासिली स्वभावकी साहुनीले त्यहाँ पनि स्थानीय चामल नै उमालिन् । उनी महिला स्वयंसेविका पनि रहिछन् ।

चौथाबाट रारा आधा दिनको बाटो रहेछ । उनले छोटो बाटो गए उकालो चढ्नुपर्ने तर छिटो पुगिने बताइन् । खाना खाइवरी हामीले थाकेको शरीर चौथाको होटल हिमालमा बिसायौँ । होडिङ बोर्डमा होटल एन्ड लज लेखेको भए पनि बस्ने ठाउँ भने त्यति व्यवस्थित थिएन । रातो माटोले लिपेको भित्ताका चारैतिर चर्केका भ्वाङ थिए ।

बिहान ५ बजे हामी त्यहाँबाट स्थानीय जडीबुटीको चिया र बिस्कुट नास्ता गरेर दुइटा पहाडको बीचैबीच अगाडि बढयौँ । करिब आधा घण्टापछि भुलभुले भन्ने ठाउँमा कालिकोटको नाग्म र मुगुको गमगढी जोड्ने सडक खण्ड भेटियो । भुलभुलेबाट सडक भएर केही अगाडि बढेपछि नेपाली सेनाको इन्ट्री पोस्ट रहेछ, त्यहींबाट रारा जोड्ने सडक, पैदल छोटो बाटो र लामो बाटो छुट्टिन्छ । त्यो ठाउँ हामीलाई सुन्दर र शान्त लाग्यो । मरुभूमिजस्तै नांगो भए पनि रोमाञ्चक ठाउँ थियो । चुच्चीमारे लेकको टुप्पोबाट पर चारैतिरबाट हिमाल थिए भने हिमालमुनि सदावहार जंगलको बीचमा स्वर्गर्की अप्सरा आफ्नो सुन्दरता फिजाउँदै लम्पसार थिइन् ।

चुच्चीमारेबाट एक घण्टाको ओरालो झरेपछि हामी रारा राष्ट्रिय निकुञ्जको क्षेत्रमा पुग्यौँ । साँझपख हुनै लाग्दा हल्का चिसोले उत्ताउलो बनेको वातावरणमा चराचुरुंगीको चिर्बिराहट, भेडा बथान, साना ठूला पाटन साँच्चिकै धर्तीको स्वर्ग जाने बाटोझैं प्रतीत भयो । स्मृतिको पानामा सजिएको रारा तालको सुन्दरताले हामीलाई त्यहाँ पुग्दा दिनभरिको थकाइ एकैछिनमा मेटाइदियो । रारा वास्तवमै विशाल, भव्य र आकर्षक भएको भान भयो । जब हामी राराको छेउमा पुग्यौँ तब यसको सुन्दरताले मन यति प्रफुल्लित भयो कि झन्डै डेढ दुई घण्टासम्म रारा किनारको यात्रा हँुदै कसरी रिसोर्टसम्म पुगियो, हामीलाई पत्तै भएन ।

मुगु जिल्लामा पर्ने रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो । समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित छ रारा ताल । १५ सय ८३ हेक्टर क्षेत्रफलमा फैलिएको तालको चौडाइ २.७ लम्बाइ ५.१ किलोमिटर छ । तालको अधिकतम गहिराइ १ सय ६७ मिटर मापन गरिएको छ । यो ताललाई हिमाली क्षेत्रकै ताल मानिन्छ । रारा राष्ट्रिय निकुञ्जको सबैभन्दा आकर्षणको केन्द्र भनेकै रारा ताल हो । विश्व सीमसार क्षेत्रमा सूचीकृत यस तालको मुख्य विशेषता भनेको स्वच्छ मूलबाट आएको पानी हो । सन् १९७६ मा रारा राष्ट्रिय निकुञ्जको स्थापना नै यहाँको जैविक विविधताको संरक्षणका लागि भएको हो । ताल क्षेत्रलाई प्रदूषणमुक्त बनाउन र वातावरणीय सन्तुलन कायम गर्न इन्जिन जडित कुनै पनि साधन तालवरिपरि लैजान नपाइने व्यवस्था निकुञ्जले गरेको छ । आकर्षक गन्तव्य रारा तालमा जति मात्रामा बाहय पर्यटकको आगमन हुनुपर्ने हो, त्यति हुन सकेको छैन । आन्तरिक पर्यटक भने उल्लेखनीय रूपमा पुग्ने गर्छन् ।

ताल परिक्रमा गर्दै त्यस रात हामी रारा किनारमै रहेको डाँफे होटलमा बास बस्याँै । भोलिपल्ट बिहान हामी चिया खाँदै ताल अवलोकन गर्दै अगाडि बढयौँ । ताल अवलोकन गरेर फर्किंदा हामी निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको क्याम्प हुँदै डुंगा स्थल पुग्यौँ । स्वर्गकी अप्सराको उपमा पाएको रारा साँच्चिकै स्वर्गकी अप्सरा नै लाग्यो । हामी राराको यही सुन्दरतालाई क्यामेरा र मानसपटलमा अंकित गर्दै फर्कियौँ । फर्किंदा पनि बाटोभरि रारा तालले मन तानिरहयो ।


(जुम्लाको चन्दननाथ नगरपालिकास्थित कनिका निशा माध्यमिक विद्यालय, कक्षा ९ का विद्यार्थीहरूले कक्षा शिक्षकको सहयोगमा तयार पारेको नियात्रा)

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?