कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सानी पुतली

कथा
जानुका खतिवडा

काठमाडौँ — शनिबारको दिन थियो । बाबाले चिडियाखानामा थरीथरीका जनावर देखाउन लैजान्छु भन्नुभएको थियो त्यसैले उपासना दङ्ग थिइन् । बिहान उठेदेखि नै उनी फर्‍याकफुरुक गर्दै यताउता गरिरहेकी थिइन् । छिटोछिटो खाना खाएर निस्कने योजना भएकाले आमा भान्सामा व्यस्त हुनुहुन्थ्यो । हजुरआमाको पूजापाठ सकिएको थिएन । त्यतिकैमा डोरबेल बजेको सुनेर बुवा ढोका खोल्न जानुभयो । ढोकामा नचिनेका मान्छे उभिएको देखेर उपासना आफ्नो कोठाभित्र पसिन् । बुवाले पाहुनालाई बैठक कोठामा लैजानुभयो । निकैबेर उहाँहरूको भलाकुसारी चल्यो ।

सानी पुतली

आमा भान्सामा मीठामीठा पक्वान्न तयार पार्न व्यस्त हुनुहुन्थ्यो । उपासनाले कोठामै बसीबसी मीठो बास्ना थाहा पाइन् । उनलाई दौडिएर आमा भए ठाउँमा जान मन लाग्यो । बिस्तारै उनी ढोकासम्म आइन् । बैठकमा बसेका अपरिचित पाहुना देखेर उनलाई बाहिर निस्कने हिम्मत आएन ।

ढोकाको च्यापबाट अलिकति टाउको निकालेर उनले चारैतिर हेरिन् । हजुरआमा पनि पूजापाठ सिध्याएर पाहुना भएतिरै जानुभयो । उनलाई भने कसैले बोलाएनन् । ढोकासम्म पुग्दै फर्किंदै गरेको चौथो पटकसम्म पनि कसैले उनलाई नदेखेकाले उनको मन खिन्न भयो । उनी फर्किएर ऐना अगाडि गइन् । आफूलाई नै एकछिन टुलुटुलु हेरिरहिन् ।

‘नरिसाऊ है मेरी पुतली अर्को शनिबार पक्का लैजान्छु चिडियाखाना.. ।’ उनले बुवाले भनेझैं गरेर आफैंलाई जवाफ दिइन् । बुवाले अर्कोपल्ट जाऊँला है भन्नुभएको पनि यो समेत तीनपटक भइसकेको थियो ।कहिले के कामले बुवालाई बाहिर जानुपर्ने त कहिले पाहुना आइपुग्ने । सम्झिँदासम्झिँदै उनको अनुहार अँध्यारो भयो । आँखामा आँसु रसाएर भरियो ।

‘नरोऊ नरोऊ नानु...।’ उनले आफैंलाई ढाडस दिँदै आँसु पुछिन् । उनको पछाडि टेबलमा राखिएका खेलौनाहरू ऐनामा पनि छर्लङ्ग देखिएका थिए । तिनै खेलौनाहरूतिर उनको ध्यान खिचियो अनि उनी फर्किएर खेल्न थालिन् । तीन/चारओटा खेलौनालाई लस्करै मिलाएर राखिन् । उनको मनपर्ने पुतलीलाई भने हातमा लिइन् ।

‘ल हेर त मैले अस्तिदेखि देखाउँछु भनेको एकसिङे गैंडा... ।’ उनले पुतलीलाई टुकुटुकु हिँडाउँदै एउटा खेलौनाको अगाडि उभ्याइन् । लस्कर लगाएका खेलौनालाई एक–एक जनावरको नाम दिँदै उनी पुतलीसँग चिडियाखाना खेलिरहेका बेला अचानक पुतली उनको हातबाट खस्यो र त्यसको एउटा खुट्टै भाँचियो । आफ्नो प्यारो पुतली भाँचिएको देखेर उनलाई साह्रै नरमाइलो लाग्यो । उनले मन थाम्न सकिनन् र रुन थालिन् ।

उनी रोएको आवाजतिर सबैको ध्यान खिचियो । हजुरआमा उठेर उनी भए ठाउँमा आउनुभयो । पाहुनाहरू पनि उनलाई नै हेर्न थाले । ‘के भो मेरी नानीलाई...।’ हजुरआमाले प्याउले पारामा बोल्दै उनलाई बोकेर आँसु पुछिदिनुभयो ।‘मेरो पुतलीको खुट्टा भाँचियो,’ उपासनाले सुँक्कसुँक्क गर्दै भुइँको पुतलीतिर देखाइन् ।

‘भैगो नरोऊ अर्को नयाँ किनुम्ला,’ हजुरआमा उनलाई फकाउँदै बैठक कोठातिर जानुभयो । सबैका आँखा उपासनातिरै तानिएका थिए ।‘ज्ञानी मेरी पुतली अंकल आन्टीलाई नमस्कार गर,’ हजुरआमाले पाहुनातिर संकेत गर्नुभयो । उनले लजाउँदै नमस्कार गरिन् । पाहुना आन्टीले आफ्नो ब्यागबाट निकालेर उनका हातमा चकलेट राखिदिनुभयो ।

‘म त चकलेट नखाने, टिचरले भन्नुभाको चकलेट खायो भने दाँतमा कीराले खान्छ ।’‘ओहो ∕ कति ज्ञानी नानी, अरू केके सिकाउनुभएको छ नि टिचरले,’ पाहुना आन्टीले सोध्नुभयो । उपासनाले लजाएर हजुर–आमातिर हेरिन् । ‘लौ अस्तिको गीत सुनाइदेऊ त आन्टीलाई .. ।’ हजुरआमाले उपासनालाई काखबाट ओरालेर भुइँमा राख्दै थप्पडी बजाउन थाल्नुभयो । उपासनाले लजाउँदै दुई लाइन गीत गाइन् ।

‘नाच्न पनि आउँछ नि मेरी नानीलाई ल नाचेर देखाइदेऊ मेरी गुडिया,’ उनले मन नलागी नलागी पनि नाचेर देखाइदिइन् । अनि लजाएर हजुरआमाको कुममा मुख लुकाउन गइन् । त्यसपछि बुवाले उनलाई फुक्र्याउँदै अंग्रेजीमा बोल्न पनि लगाउनुभयो । चाबी भरेको गुडियालेझैं उनले केही बेर सबैको अनुरोधअनुसारको काम गरिन् । सबैजना दङ्ग पर्नुभयो ।
मदारीले नचाउन ल्याउने जमुरेजस्तै बन्नुपरेकाले केहीबेर पछि उनलाई झर्को लाग्न थाल्यो । भोक पनि लाग्न थालिसकेको थियो । चिडियाखाना जान पाउने उनको आशा पनि मरिसकेको थियो ।

‘कत्ति सिपालु रहिछिन् नानी त, ठूली भएर के बन्ने छोरी ?’ पाहुना अंकलले सोध्नुभयो तर यसपटक उपासना केही बोलिनन् । के बन्ने भन्नु खै..? उनले निकैबेर सोचिन् । दिमागमा केही आएन ।

‘भनिदेऊ न त के बन्छे हाम्री गुडिया ?’ हजुरआमाले पनि फुक्र्याउनुभयो तैपनि उपासना बोलिनन् ।
‘भनिदेऊ न ठूली भएर म त काकाजस्तै डाक्टर बन्ने हो,’ बुवाले उनलाई तानेर काखमा बसाउनुभयो । अस्तिका पाहुनाले सोध्दा बुवाले पाइलट बन्ने हो भन्न लगाउनुभएको थियो । फेरि यसपल्ट डाक्टर बन्छु भन्न लगाउनुभयो । उपासनाले अलमल्ल परेर बुवातिर हेरिन् ।
भनिदेऊ मेरी छोरी के बन्ने रे ? बुवाले फेरि उक्साउनुभयो ।

‘म त ठूली भएर काकाजस्तै डाक्टर बन्ने अनि बिरामीको उपचार गर्ने हो,’ उपासनाले जवाफ दिइन् । पहिले धेरैचोटि पाहुनाको अगाडि बुवाले भन्न लगाउनुभएकाले उनलाई कण्ठस्तै थियो । उनको जवाफ सुनेर बुवाको अनुहार उज्यालो देखियो ।
उपासना बुवाको काखबाट ओर्लिएर दौडिँदै भान्सातिर गइन् अनि आमाको हात सामातिन् ।
‘एकछिन उता बस त छोरी चियाले पोल्छ ।’ आमा कपमा चिया खन्याउन लाग्नुभएकोरहेछ ।
‘चियाले पोल्यो भने घाउ हुन्छ अनि हस्पिटल जानुपर्छ हगि आमा ?’
‘हो नि ।’ आमा उपासनातिर फर्किनुभयो ।
‘आमा म त डाक्टर नबन्ने । मलाई हस्पिटलमा बिरामी देखेर कस्तो रुन मन लाग्छ,’ उपासनाले आमाको नजिकै गएर सानो स्वरमा भनिन् । अनि खुर्रर दौडिएर आफ्नो कोठातिर गइन् । उनको कुरा नबुझेर आमाले एकतमासले उनी गएकातिर हेरिरहनुभयो ।

प्रकाशित : जेष्ठ ६, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?