कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

छोरी, अब स्कुल जाऊ

आमाको अनुभूति

काठमाडौँ — छोरी, तिमी अहिले दुई वर्ष ६ महिनाकी भयौ । मैले भर्खर मात्रै तिमीलाई स्कुल पठाउन थालेँ । तिमीलाई यति कलिलो उमेरमै स्कुल पठाएर कतै मैले गल्ती त गरिनँ ? मलाई थाहा छ, तिम्रो यो उमेर आमाबाबासँग घरमा रमाउने बेला हो ।

छोरी, अब स्कुल जाऊ

तर मैले वरिपरि दायाँबायाँका मानिसका कुरा सुनेर तिमीलाई स्कुल पठाउन थालेँ । सुरुसुरुमा तिमी भन्थ्यौ, ‘मामु म स्कुल जाँदिनँ । माम खाएर हजुरकै काखमा नुनु गर्छु ।’ तर मैले तिमीलाई फकाईफुल्याई स्कुल पठाएँ ।

तिमी स्कुल जान थालेको अब त एक महिना पूरा भइसकेको छ । सुरुका दुई दिन तिमी स्कुल पुगेपछि ‘मामु पनि स्कुलमै बस्ने’ भनेर धेरै रोयौ । मलाई छोड्नै मानिनौ । मैले तिमीलाई जबरजस्ती स्कुलमा छाडेर आएँ । त्यसपछि त जानै पर्ने रहेछ भन्ने बुझेर होला तिमी नरोईकन स्कुल जान तयार हुन्छयौ । छिट्टै लिन आइस्यो है भन्दै ‘बाई बाई’ गरेर जान्छयौ । तिमीले नरोईकन बाई बाई गरेको दिन म मनमनै यति धेरै रोएँ, भनिसाध्यै छैन । अब तिमी मामुलाई छाड्न बाध्य भयौ भन्ने सम्झीसम्झी रुन मन लागिरहयो ।

मलाई थाहा छ, तिम्रो यो उमेर स्कुल जाने हुँदै होइन । तर के गर्ने ? अब मैले पनि केही गर्नुपर्छ । घरमा तिम्रो बाबा, म र तिमी मात्रै हौँ । घरमा तिमीलाई छाडेर म काममा जान मिल्ने वातावरण छैन । तिमी डेढ वर्षकी हुँदादेखि नै मलाई कामका प्रस्तावहरू आएका थिए । तिम्रै लागि ती प्रस्ताव अस्वीकार गरेकी हँु । साँच्चि, छोरी तिमी छयौ र म छु जस्तो लाग्छ ।
तिम्रै लागि मैलै तिमी जन्मनुभन्दा चार दिन अघिदेखि गरिरहेको काम छाडेकी थिएँ । दुई वर्ष ६ महिना भयो, तिमीसँगै घरमा बसेकी । अरूले त भने । तिमी ६ महिनाको हुँदादेखि नै जागिर खाऊ । ‘घरमा एकजना काम गर्ने मान्छे राखे हुन्छ’ भन्ने उनीहरूको सुझाव थियो । तर हाम्रो मनले त्यसो गर्न मानेन ।

तिम्रो बाबा त अहिले पनि मान्नुहुन्न तिमीलाई स्कुल पठाउन । साढे तीन वर्ष भएपछि मात्र पठाउने भन्नुहुन्छ । तिमीले अहिले नै ‘ए’ देखि ‘जेड’ सम्म र ‘ए फर एप्पल’ देखि ‘जेड फर जेब्रा’ सम्म भन्न र चिन्न सक्छयौ । त्यस्तै ‘वान’ देखि ‘थर्टी’ सम्म भन्न सक्छयौ । ‘ए’ ‘बी’ ‘सी’ र ‘ई’ चार अक्षर लेख्न सक्छयौ । तिमीलाई घरमा नै सिक्ने वातावरण छ भन्दै बाबा त ‘छोरीलाई धेरै दु:ख दिनुहुन्न अहिले स्कुल नपठाऊ’ भन्नुहुन्छ ।

कलिलै उमेरमा स्कुल पठाउने अहिले फेसनजस्तै बनेको छ । मलाई कति मेरा आफन्तले ‘काम गर्नको अल्छीले यसले छोरीलाई स्कुल नपठाएको’ सम्म भन्न भ्याए । ‘छोरी सानै छे’ भनेर बहाना बनाएको ठाने उनीहरूले । अब तिमीलाई स्कुल पठाएर म आफंै पनि केही गरौं भन्ने लाग्यो । त्यही भएर तिमीलाई स्कुल पठाएकी हँु ।

छोरी, मेरो र तिम्रो बाबाको पहिलो प्रयास नै तिमीलाई निरोगी र खुसी बनाउने हो । त्यसपछि हाम्रो प्रयास तिमीलाई असल र ज्ञानी बनाउने हुनेछ । अरूका झैं अभाव र अप्ठयारा त हाम्रा पनि छन् । सीमित आयस्रोतका कारण मैले अब बिस्तारै काम गर्नुपर्ने हुन्छ । तिमीलाई स्कुल पठाएर मैले आफ्नो करिअरका बारेमा सोच्नुपर्ने छ । तिम्रो स्कुलका प्रिन्सिपल भन्नुहुन्छ, ‘मन्टेश्वरी भनेको आमालाई रिप्लेस गर्ने ठाउँ हो । यहाँ सबै कुराको हेरविचार हुन्छ । मायाममता हुन्छ । खान्छन्, खेल्छन् रपढ्छन् । मनुश्रीलाई ढुक्कले स्कुलमा छाडेर अब हजुरले जागिर गरे हुन्छ ।’

जवाफमा मैले उहाँलाई भनेँ, ‘तपार्इंको स्कुल भएर मात्र यस्तो भन्नुभयो, नत्र आमाको काखजस्तो त अरू कुनै पनि ठाउँ हुनै सक्दैन ।’मनुश्री, स्कुल जानु सामान्य प्रक्रिया हो । सबैले जानै पर्छ । तिम्रो अलि छिटो भयो कि भन्ने मात्र हो । तिमी अहिले जम्मा ६ घण्टाका लागि मामुबाट अलग्गिएकी हौ । फेरि स्कुलमा तिमीले साथीहरूसँग रमाउँदै केही जान्ने र सिक्ने अवसर पनि पाउँछयौ । तिमी स्कुल गएकोमा मनले जति दु:ख माने पनि म बेखुसी छैन । तिमी स्कुलमा राम्रोसँग पढ । राम्रा कुरा सिक । असल बन । यो देशलाई असल मान्छेको खाँचो छ । सधंै असल बन्ने प्रयास गर ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?