कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

टिफिन

कथा
कुम्भराज राई

काठमाडौँ — ‘मामु मलाई आज टिफिनमा के ल्याइदिनुहुन्छ ?’ समर्पणले स्कुल जाने बेला आमालाई सोधे । ‘तिमीलाई मन पर्ने खाजा अण्डा, रोटी र स्याउ ल्याइदिन्छु नि, है ।’ समर्पणले मक्ख पर्दै टाउको हल्लाए । मुख मिठयाउँदै उनले हात हल्लाए, ‘बाई मामु सी यु ।’ उनले दाहिने हातको हत्केला चुमेर देखाउँदै आमालाई मायाको संकेत गरे । उसकी मामु पनि छोराको माया देखेर मक्ख पर्नुभयो ।

टिफिन

समर्पण यसैपालि नर्सरीमा भर्ना भएका हुन् । उनी सुरुसुरुमा स्कुल जान मानिरहेका थिएनन् । टिफिनको मीठो खाजा र स्कुलको साइकल, पिङजस्ता खेलौनाले उनलाई बिस्तारै बानी पार्‍यो । अहिले उनी साथीहरूसँग झयाम्मिएका छन् । स्कुल जाने बेला भएपछि हतारिन्छन् । साथीभाइ भेट्ने हतारोले उनका पाइलाहरू छिटछिटो चल्ने गर्छन् । टिफिन पनि भयो । मामुले ल्याइदिनुभएको टिफिन बक्स खोलेर समर्पण बेन्चमा मात्र के बसेका थिए, उनको अघिल्तिर खाजाको टिफिन बक्स खोलेर अरू साथीहरू पनि बसिहाले । उनले देखे, ‘निहाङको खाजामा त फ्रुटी पनि रैछ । सुम्निमाकी मामुले त रोटी पनि पठाइदिनुभएछ ।’ अनि उनले मनमनै सोचे, ‘मेरो खाजा चै नमीठो, साथीहरूका मामुले कति मीठो मीठो पठाइदिएको ।’

आफ्नो खाजा नचाखीकनै उनले निहाङसँग फ्रुटी मागे । तर निहाङले दिएनन् । निकै जिद्दी र सहनै नसक्ने स्वभावका समर्पणले निहाङको फ्रुटी खोसेर पिइहाले । निहाङले खोस्न खोजे पनि सकेनन् । त्यसपछि निहाङले मिसलाई सुनाए । मिसले समर्पणलाई सम्झाउनुभयो । तर समर्पणले पटक्कै मान्दै नमानी निहाङको फ्रुटी स्वाट्टै पारिदिए । त्यसपछि मिसहरूले समर्पणको खाजा निहाङलाई खाऊ भनेर दिनुभयो तर निहाङले पटक्कै मानेनन् ।

समर्पणले प्राय: यस्तै बानी दोहोर्‍याएपछि मिसहरू पनि दिक्क भइसक्नुभएको थियो । उहाँहरूले समर्पणकी मामुलाई यो कुरा सुनाउनुभयो । स्कुलबाट फर्केर होमवर्क गरिसकेपछि समर्पण कार्टुन हेर्दै थिए । त्यतिखेरै बिजुलीको लाइन झयाप्पै गयो । यही मौका छोपेर मामुले समर्पणलाई काखमा राखेर सोध्नुभयो, ‘आज के–के पढयौ स्कुलमा ?’ समर्पणले आफूले पढेको कुराहरू सुनाउँदै गए । विस्तारै मामुले अरूको खाजा खाइदिएको प्रसंग कोटयाउनुभयो । समर्पणले आफूलाई अरूको खाजा मन परेको कुरा बताए । ‘जहिले पनि आफ्नो मात्र खाजा खानुपर्छ । अरूको खोस्नुहुन्न,’ मामुले सम्झाउँदै भन्नुभयो, ‘यदि मन मिल्ने साथीको खाजा मन परिहाल्यो भने, आफ्नो खाजा पनि साथीलाई मन पर्‍यो भने सल्लाह गरेर बाँडेर खानुपर्छ है ।’ समर्पणले मामुका कुरा सुनी मात्र रहे ।

अर्को दिन समर्पणलाई मामुले त्यसैगरी टिफिनको समयमा खाजा लगिदिनुभयो । तर समर्पण आज साथीहरूको हूलमा बसेनन् । अलि पर एक्लै बसेर कुपुकुपु आफ्नो खाजा मात्र खाइरहे । सबै साथीहरू र मिसले उनलाई हेरिरहनुभएको थियो । कसैले केही भन्न सकेनन् । कतिपय साथीहरूले कानमा खुसुखुसु समर्पणको कुरा काटे । तर उनी जिद्दी र झगडालु स्वभावको भएकाले सुन्ने गरी केही भनेनन् ।

लगातार केही दिनदेखि उनले उस्तै किसिमले अरूभन्दा पर बसेर खाजा खान थाले । एक दिन निहाङ पनि समर्पणको नजिकै गएर टिफिन बक्स खोलेर बसे । उनको टिफिनमा पुरी तरकारी थियो । उनले टिफिन खोलेर सुरुमै एउटा पुरी समर्पणलाई दिए । तर समर्पणले वास्ता गरेनन् । ‘समर्पण यो पुरी लेऊ न, तिमीलाई मैले दिएको क्या ।’ निहाङले मुख खोले, ‘नरिसाऊ न मेरो खाजा तिम्ले खाँदा केही हुन्न त, म तिम्रो साथी हो नि ।’

समर्पण एकछिन केही बोलेनन् । त्यसपछि निहाङतिर फर्किँदै भने, ‘त्यसो भए यो अण्डा दिन्छु तिम्लाई तिमी पनि खाऊ है,’ निहाङले सहमति जनाउँदै टाउको हल्लाए । त्यसपछि निहाङले दिएको पुरी समर्पणले र समर्पणले दिएको अण्डा निहाङले खाए । ‘आहा कत्ति मीठो ।’ दुवैले मनमनै सोचे । एक अर्कालाई हेरे र मुसुक्क हाँसे । यो सबै गतिविधि उनका साथीहरूले खासै वास्ता गरेनन् । भोलिपल्ट पनि त्यसैगरी उनीहरूले आ–आफ्नो खाजा बाँडेर खाए । सँगै बसेर उनीहरूले खाजा बाँडेर खाएको देखेपछि अरू साथीहरूले मीठो मानेर घुटुक्क थुक निले । एकअर्कामा मुखामुख गरे । त्यतिखेरै सुम्निमाले भनिन्, ‘हामी पनि खाजा बाँडेर खाऊँ न ।’ सबैले एकै स्वरमा, ‘हुन्छ’ भने । त्यसपछि एकअर्कामा मिल्ने साथीहरूबीचमा बाँडेर खाए । एउटा साथीले अर्को साथीको खाजा खाँदा मीठो भएजस्तो लाग्यो ।

खाजा खाने बेला नियालिरहनुभएका मिस भने छक्क पर्नुभयो । सधंै खाजामा झगडा गर्ने समर्पण साथीहरूसँग रमाउँदै मीठो मानेर खाजा बाँडीबाँडी खाइरहेका थिए । निहाङ, सुम्निमा लगायतका साथीहरू पनि रमाइरहेका थिए । कसैले झगडा गरिरहेकै थिएनन् । यस्तो दृश्य देखिसकेपछि मिसहरू खुसी हुनुभयो । भोलिपल्ट टिफिन ल्याइदिने क्रममा समर्पणको मामुले मिसलाई सोध्नुभयो, ‘समर्पणले आफ्नै खाजा खाँदै छ कि अरूको खोसिराको छ, हिजोआज ?’ मिसले सबै यथार्थ बताइदिनुभयो । समर्पणकी मामुले पनि मिसलाई सम्झाउँदै भन्नुभयो, ‘केटाकेटीहरूको बानी आफ्नोभन्दा अरूको मीठो मान्ने, आफ्नोभन्दा अरूकै राम्रो देख्ने हुन्छ । त्यसैले उनीहरूमा यस्तो स्वभाव अन्त्य नभएसम्म बाँडेर खाने, मिलेर बस्ने बानी सिकाउनुपर्छ नि ।’

मिसलाई समेत समर्पणकी मामुको कुरा चित्त बुझ्यो । त्यतिखेर यता नर्सरीका केटाकेटीहरू भने मिलेर खुसीसाथ खाजा खाइरहेका थिए । सुरुमा खोसेर खानेहरू पछि मागेर खाने भए । हुँदाहुँदै अहिले कसैले नमागे पनि आफंैले बाँडेर खाइरहेका थिए ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?