कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्लास्टिक प्रदूषणको जड

काठमाडौँ — हाम्रो आसपासमा रहेका प्राकृतिक र मानव निर्मित भौतिक, सामाजिक र सांस्कृतिक संरचना नै हाम्रो वातावरण हो । पृथ्वीमा रहेको जलमण्डल, भूमण्डल र वायुमण्डलबीचको अन्तरसम्बन्ध नै वातावरण हो । यस्तो वातावरणमा जीवनका लागि प्रतिकूल परिस्थिति निर्माण हुनुलाई प्रदूषण भनिन्छ । वातावरणीय प्रदूषणले वातावरणीय समस्या निम्त्याउँछ । बढ्दो तापक्रम र अस्वाभाविक मौसम परिवर्तनले हाम्रो वातावरणमा असन्तुलन पैदा भएको संकेत गर्छन् ।

प्लास्टिक प्रदूषणको जड

भौतिक विज्ञान र विकासको असन्तुलित प्रयोगले बोटबिरुवा र जीवजन्तुहरू लोपोन्मुख अवस्थामा पुगेका छन् । प्राकृतिक सन्तुलन कायम नराख्ने हो भने केही वर्षभित्रै ती लोपोन्मुख जीवजन्तु यस धर्तीबाटै हराउनेछन् । मानिसले तत्काल महसुस नगरे पनि कालान्तरमा जटिल समस्याहरू भोग्नुपर्नेछ । त्यस्तो स्थिति आउन नदिन संसारभरका मानिसमा वातावरणीय चेतना हुनु अत्यावश्यक छ ।

वातावरण प्रदूषणका प्रमुख कारणमध्ये प्लास्टिक पनि एक हो । अचेल हाम्रा ल्यान्डफिल साइटहरू प्लास्टिकले भरिएका छन् । प्लास्टिककै कारण निकासको पानी र ढल अवरुद्ध भएका छन् । सहरका बीचबीचमा फोहोरको डंगुरका रूपमा प्लास्टिकका पहाड थुप्रिएका छन् । प्लास्टिक खाएर कैयौं घरपालुवा जनावरको मृत्यु भएको छ । नदीनाला र पोखरीका जलचर प्राणीसमेत प्लास्टिक प्रदूषणले प्रभावित छन् । सहजै नसड्ने, नगल्ने हुनाले प्लास्टिकले हाम्रो सुन्दर सहरलाई कुरूप बनाउँदै लगेको छ ।

सहर मात्र होइन, हाम्रा गाउँबस्तीसमेत प्लास्टिकजन्य पदार्थको बढ्दो उपयोगले प्रदूषणको सिकार बन्दै गएका छन् । एकचोटि प्रयोग गरेपछि व्यवस्थित तरिकाले विसर्जन नगर्ने हाम्रो बानीले प्लास्टिकजन्य फोहोर स्वच्छ वातावरणका लागि ठूलो चुनौती बनेको छ । प्लास्टिकले उत्पादनदेखि विसर्जनसम्मका हरेक तहमा वातावरणीय प्रदूषण बढाउँछ ।

प्रयोग भइसकेका प्लास्टिक संकलन गरेर पुन: प्रयोगमा आउने गरी उत्पादन गर्नु त्यति सजिलो प्रक्रिया होइन । प्लास्टिक प्रदूषण र यसको घातक असरबाट वातावरण जोगाउने कार्य निकै चुनौतीर्पूण छ । यसका लागि व्यक्तिगत र सामूहिक प्रतिबद्धता आवश्यक छ । सरकारले प्रदूषण न्यूनीकरणका लागि उत्पादकको चर्को विरोधका बीच प्लास्टिकका झोला बिक्री–वितरणमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यद्यपि, यो प्रतिबन्ध पूर्णत: कार्यान्वयनमा आउन भने त्यति सहज देखिन्न । हामी सबैले आआफ्नो तहबाट प्लास्टिकजन्य पदार्थ सकेसम्म उपयोग नै नगर्ने हो भने सरकारद्वारा घोषित उद्देश्य हासिल गर्न सजिलो हुन्छ । प्लास्टिक ब्यागको विकल्पका रूपमा कपडा, जुट या कागजका झोला लिने बानी बसाउनुपर्छ । त्यसका लागि शिक्षा, तालिम, गोष्ठी आदिका माध्यमबाट सर्वसाधारणलाई प्लास्टिकका खराबीबारे जानकारी गराउनु आवश्यक छ । साथै, अनधिकृत रूपमा सञ्चालित प्लास्टिक उद्योग बन्द गर्नुपर्छ । वातावरण जोगाउन सबै मिलेर प्लास्टिक हटाऔं । आफू निरोगी बनौं र अरूलाई पनि स्वस्थ रहन सिकाऔं ।

-सरिता रुवाली, कक्षा–१०
विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय, काठमाडौं

प्रकाशित : जेष्ठ २०, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?