कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

राताम्मै वन

चन्द्र कार्की

काठमाडौँ — तस्बिरमा देखिएको ठाउँ हो– तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थलमा पर्ने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रको गुराँस वन । समुद्र सतहबाट २ हजार ५ सय मिटरदेखि २ हजार ९ सय मिटर उचाइमा रहेको यो वनमा यति बेला एकै ठाउँमा २८ प्रजातिका गुराँस तँछाडमछाड गर्दै फुलिरहेका छन् ।

राताम्मै वन

वर्षको बाह्रै महिना चिसो र ठन्डा हावापानी रहने यो ठाउँमा यति बेला गुराँस हेर्न आउनेहरूको भीड छ । कुम्भकर्ण, मकालु र कञ्चनजंघा हिमाल आरोहणको प्रमुख पदमार्गमा पर्ने यो वनमा अहिले यस भेगका मात्र नभई पहाडदेखि तराईसम्मकै बालबालिका आफ्ना अभिभावक र शिक्षकका साथ आइरहेका छन् ।

वनै राताम्मै हुने गरी फुलेका फूलमा सबैभन्दा अग्लो प्रजातिका लालीगुराँसदेखि होचो प्रजातिका चिमालका फूलसमेत छन् । गुराँस हेर्न यहाँ आउने बालबालिकाबीच फूल टिपेर खेलाउने, चौरमा मायाको चिह्न बनाउने र टिपेर घर लैजाने प्रतिस्पर्धा नै चल्छ । शनिबार र विद्यालय बन्द भएको मौका पारेर गुराँस वनका चौरमा रमाउन र वनभोज खान आउने बालबालिका र युवायुवती अझ धेरै हुन्छन् । लालीगुराँस नगरपालिका १ देउरालीदेखि पाथीभरा डाँडाको खुला चौरसम्म विभिन्न समूहले फूलबाट रमाइला–रमाइला आकृति बनाइरहेका भेटिन्छन् ।

सहरबजारको कोलाहलपूर्ण वातावरणबाट केही समय भए पनि मुक्ति पाउन आफू धनकुटाको हिलेबजारबाट छोरीसहित आएको रमेश तामाङले बताए । उनकी १३ वर्षीया छोरी सुमिता हिलेकै डनबस्को सेकेन्डरी स्कुलमा ५ कक्षामा पढ्छिन् । ‘रमाइलोले गर्दा घर नै नजाउँmजस्तो लागिरहेको छ,’ सुनसरीको इटहरीबाट आएका १४ वर्षीय प्रवीन तामाङले भने । उनी आफ्ना अभिभावकका साथ लागेर यहाँ घुम्न आएका हुन् ।

गुराँस वनमा रमाईलो गर्दै दिनभर बिताएपछि बालबालिका जंगलमै नाचगान गर्छन् । ‘विद्यार्थीलाई शैक्षिक भ्रमणमा ल्याउने नयाँ ठाउँ पहिचान भयो,’ धनकुटाको भाषा उच्च माविका शिक्षक दिनेश भण्डारीले भने । गुराँसको सौन्दर्य हेर्न दैनिक सयांै विद्यार्थी र तिनका अभिभावक आएको देखेर स्थानीय पनि निकै हौसिएका छन । ‘साना ठूला सबैका लागि यो रमाइलो ठाउँ हो,’ घुर्मिसेका स्थानीय बासिन्दा ध्रुव खड्काले भने ।


गुराँस वनको सौन्दर्य जोगाउन सरकारले यो ठाउँलाई संरक्षण क्षेत्रको रूपमा घोषणा गर्ने तयारी गरिरहेको छ । ‘समुदायकै सहभागितमा संरक्षण क्षेत्र घोषणा गरीनुपर्छ’ प्रदेश सभासद तथा राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिका संयोजक लक्ष्मण तिवारीले भने । तीनजुरेको फेदीमा रहेको आरआर गार्डेनमा बालबालिकाकै मनोरञ्जनका लागि भ्यागुता, गोही, बाघ, छेपारो, कछुवा, हिमाल लगायतका आकृति पनि कुदिएको छ ।

प्रकाशित : जेष्ठ २०, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?