कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चन्द्रमा छुने चित्र

अनुभूति

काठमाडौँ — मलाई बाल्यकालदेखि नै चित्रकलामा औधि रुचि थियो । सानैदेखि कागजमा केही न केही कोरिरहन्थेँ । कुनै कागजको टुक्रा भेट्नेबित्तिकै कलम खोजेर केरिहाल्ने मेरो स्वभाव थियो । सुरुमा खाली पानामा कलमले कोर्दा कुनै सार्थक चित्र बन्दैनथे । तैपनि आफूले कोरेको चित्र हेरेर रमाइलो मान्थेँ ।

चन्द्रमा छुने चित्र

विद्यालयमा भर्ना भएपछि अरू विषयसँगै चित्रकला पनि पढ्नुपथ्र्याे । म अरू पुस्तकमा भन्दा चित्रकलाकै संसारमा हराउँथेँ । चित्र निर्माण गर्न मसँग छुट्टै सेतो सादा कापी थियो । मैले आफूले बनाएका चित्रहरू आकर्षक बनाउन विभिन्न थरीका रङ पनि किनेकी थिएँ । कतैबाट प्राप्त भएको रकमलाई मैले यही काममा खर्च गर्थेँ । चित्र बनाउन बसेपछि मैले खाना खाने समय पनि बिर्सन्थेँ । चित्रलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर म घण्टौँसम्म त्यसैमा घोत्लिन्थेँ । मेरा लागि चित्रकला नै सर्वस्व थियो ।

मैले शिशु कक्षादेखि नै विभिन्न प्रकारका चित्रहरू बनाउन थालेकी हुँ । विद्यालयमा चित्रकलाकी शिक्षिकाले मैले बनाउन लागेका चित्रहरूमा निर्देशन गर्नुहुन्थ्यो । आफूले बनाएका चित्रहरूबाट मैले विद्यालयमा सबैको स्याबासी पनि पाउँथेँ । घरमा बुबाआमा र परिवारका अन्य सदस्यले अझ राम्रो चित्र बनाउन हौसला दिइरहनुहुन्थ्यो । यसरी चित्रकलामा मेरो लत नै बस्यो ।

मैले सानो कक्षादेखि नै राम्रा राम्रा चित्र बनाउन थालिसकेकी थिएँ । विद्यालयमा कुनै काम पर्‍यो भने मेरै चित्रकला सबैका रोजाइमा पर्थे । आफ्नो कक्षाकोठा सजावटमा पनि म खुब मिहिनेत गरेर चित्र बनाउँथेँ । चित्र बनाउने क्रममा मैले कक्षाकोठा र विद्यालयका अन्य साथीहरूलाई पनि निर्देशन गरिरहन्थेँ । विद्यालयबाट कतै चित्रकला प्रतियोगितामा भाग लिन जानुपर्‍यो भने प्राय: म नै छनोटमा पर्थेँ । म धेरैपटक अन्तरविद्यालय चित्रकला प्रतियोगितामा सहभागी भएर पुरस्कृत पनि भएकी छु । आजसम्म सिर्जना गरेका चित्रकलाहरूको छुट्टै संग्रह पनि बनाएकी छु । हाम्रो विद्यालयले विभिन्न अन्तर्राष्ट्रिय प्रतिष्ठानहरूसँग शैक्षिक, प्राविधिक र सांस्कृतिक क्षेत्रमा सहकार्य गर्दै आइरहेको छ । पूर्वअमेरिकी राजदूत थियोडोर क्रोनमिलर र उहाँका छोरा अमेरिकी युवा वैज्ञानिक माइकल क्रोनमिलरले हाम्रो विद्यालयको ड्रोन परियोजना र स्टिम प्रयोगशाला सञ्चालनमा निरन्तर सहयोग गर्दै आइरहनुभएको छ । उहाँहरू समय समयमा हाम्रो विद्यालयमा सञ्चालित उक्त परियोजना अवलोकन गर्न आइरहनुहुन्छ । विद्यालयमा आउँदा उहाँहरूले मैले बनाएका चित्रहरू खुब मन पराउनुभएको थियो ।

पछिल्लो समय उहाँहरू पृथ्वीलाई अन्तरिक्षसँग जोड्ने अभियानमा क्रियाशील हुनुहुँदो रहेछ । यस क्रममा उहाँहरूको समूह छिट्टै चन्द्रमामा पुग्ने योजनामा रहेछ । यो कुरा विद्यालय भ्रमणमा आउँदा उहाँले हामीलाई अवगत गराउनुभयो । काञ्जीरोवाबाट पनि नेपालको प्रतिनिधित्व हुने कुनै एउटा चिनो चन्द्रमामा पुर्‍याउन सकिने कुरा उहाँहरूले सुनाउनुभयो । सोहीअनुसार हाम्रो विद्यालयका सबै विद्यार्थी चित्र बनाउने तयारीमा लाग्यौँ ।

विद्यार्थीहरूबीच आन्तरिक प्रतियोगिता भयो । सयौँ विद्यार्थीहरूले भाग लिए । म पनि यसमै लागेँ । आफ्नो चित्रमा कुन कुन कुरा समावेश गर्ने होला भन्ने कुरामा म निकै सोचमग्न भएँ । अरू बेलाको भन्दा यस पटकको चित्र नितान्त पृथक् हुनु जरुरी थियो । धेरै बेर सोचेपछि मैले यसमा नेपालको समग्र चिनारीलाई एउटै चित्रकलामा समेट्ने योजना बनाएँ । विदेशी पर्यटकहरू नेपाल आउँदा सबैभन्दा पहिले टेक्ने भूमि भनेको राजधानी काठमाडौं नै हो । पशुपतिनाथ, बाग्मती, बौद्धनाथ, स्वयम्भू आदि यहाँका प्रमुख चिनारी हुन् । त्यसैले मैले आफ्ना चित्रमा पनि यिनै कुरालाई समेट्ने निर्णय गरेँ र सोहीअनुसार मेरो चित्रले पूर्णता पायो ।

आन्तरिक प्रतियोगिताबाट मेरो चित्रकला उत्कृष्ट ठहर भयो । अन्तत: मैले बनाएको चित्र चन्द्रधरातलमा पुग्ने पक्का भयो । क्रोनमिलरको विशेष पहलमा विज्ञान र प्रविधिका क्षेत्रमा क्रियाशील विद्यार्थीको संस्था एस्ट्रोबोटिक्स परियोजनाले उक्त चित्र चन्द्रधरातलमा पुर्‍याउने व्यवस्था मिलाएको रहेछ । मैले सुनेसम्म नेपालका तर्फबाट आजसम्म कुनै पनि वस्तु चन्द्रमामा पुगेको छैन रे १ सायद मैले बनाएको नेपाल झल्काउने प्रतीकात्मक चिनो नै चन्द्रमामा पुग्ने पहिलो सामग्री हुनेछ । यो मेरा लागि मात्रै नभएर सिंगो नेपालकै लागि गौरवको विषय हो ।

मलाई आफ्नो चित्रकला उत्कृष्ट हुनु नौलो कुरा थिएन । तर, यसरी चन्द्रमामा पुग्छ होला भनेर सोचेकीसम्म पनि थिइनँ । चित्रकलाको नतिजा सार्वजनिक हुँदा म आफ्नो परिवारसँग भारत भ्रमणमा थिएँ । विद्यालयबाट यो खबर पाउनासाथ म हर्षले तीन बित्ता उफ्रेँ । मनमा खुसीको सीमा नै रहेन । मलाई त भ्रमण छोट्याएर तुरुन्त घर फर्किहालूँजस्तो पो लाग्यो । तर, भ्रमणका सबै कार्यक्रम पूर्वनिर्धारित भएकाले आउन पाइनँ । भ्रमणबाट फर्केर नेपाल आएपछि मलाई बधाई दिनेहरूको ओइरो लाग्यो । परिवार, आफन्तजन, साथी र शुभचिन्तकहरूले मलाई घरमै आएर बधाई दिए । विदेशमा हुनेहरूले फोन, इमेल, भाइबर र फेसबुकबाट बधाई ज्ञापन गरे ।

नेपालका तर्फबाट मेरो चित्र छनोटमा परी चन्द्रमामा पुग्ने निश्चित भएपछि हामीले उक्त चित्रकलाको प्रतिकृति नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई सिंहदरबारमै पुगेर हस्तान्तरण गर्‍यौँ । राजधानीमा आयोजित एक कार्यक्रममा अमेरिकी दूतावासका सांस्कृतिक मामिला अधिकृत ट्रिस्ट्रम पेरीलाई पनि चित्रकलाको प्रतिकृति हस्तान्तरण गर्ने अवसर प्राप्त भयो । कुनै पनि कुरामा एकाग्रता, साधना र अभ्यास भयो भने सबैको बधाई अनि स्याबासीको पात्र बनिँदोरहेछ भन्ने कुरा मैले आफ्नो सफलताको यसै घटनाबाट सिकेँ । साथै यस क्षणले मलाई आफ्नो रुचि जुन क्षेत्रमा छ त्यही क्षेत्रमा निरन्तर लागियो भने सफलता हासिल हुँदो रहेछ भन्ने जीवनोपयोगी सन्देश पनि सिकायो ।

विपिना शर्मा, कक्षा–१०
काञ्जीरोवा नेसनल स्कुल, काठमाडौँ

प्रकाशित : जेष्ठ २७, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?