कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

वल्र्ड टप विश्रुत

काठमाडौँ — क्याम्ब्रिज युनिभर्सिटीअन्तर्गत अन्तर्राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने ए लेभल परीक्षाको अंग्रेजी विषयमा विश्व प्रथम । यसमा विश्वका १६५ मुलुकका विद्यार्थी सहभागी थिए ।

वल्र्ड टप विश्रुत

दमक, झापा मूलघर भएका विश्रुत भट्टराईको नाम धेरैले सुनेका छैनन् । तर, उनी पढाइको तीक्ष्णता र विशेष गरी अंग्रेजी भाषामा विश्वभरकै अब्बल विद्यार्थी बनेर निस्किएका छन् । काठमाडौंमा जन्मे–हुर्केका विश्रुतले प्राइमरी स्कुल चोभारको मोर्डन इन्डियन स्कुलमा पढेका थिए । लगत्तै अस्ट्रेलियाको मेलबर्न पुगेका थिए— आमाबाबुको पढाइसँगै । विश्रुतकी आमा व्यञ्जना शर्माले मेलबोर्नको मोनास विश्वविद्यालयमा अस्ट्रेलियन छात्रवृत्ति पाइन् । आमाले मास्टर्स र लगत्तै पीएचडी सकुन्जेलमा विश्रुतले पनि उतैबाट स्कुले शिक्षा पूरा गरे । विश्रुतका लागि ‘अंग्रेजी भाषा दैनिक बोलीचालीको भाषाजस्तै’ भयो । ‘अंग्रेजी मेरो मातृभाषा बराबर बन्न पुग्यो,’ उनी भन्छन्, ‘अन्य विषय सँगसँगै अंग्रेजी विषयप्रति रुचि बढ्दै गयो ।’

आमाबाबुसँगै तीन वर्षअघि काठमाडौं फिरेका विश्रुत चेल्सी इन्टरनेसनल एकेडेमीमा ए लेभलमा भर्ना भए । ‘ए लेभलको पाठ्यक्रम नै यस्तो छ कि घोकेको विद्याले राम्रो अंक ल्याउन सकिन्न,’ उनले भने, ‘घोकेको ज्ञानलाई जीवनमा खासै उपयोगमा ल्याउन पनि सकिँदैन ।’

तर त्यसो भन्दैमा विश्रुत कोर्सबाहिरका आफूलाई नचाहिने र समय खर्चने किताबमा त्यति ध्यान दिँदैनन् । ‘बरु विभिन्न वेबपेज, भिडियोजस्ता माध्यममा उपलब्ध विविध सामग्रीहरू हेर्ने र पढ्ने गर्छु,’ उनी भन्छन्, ‘फिक्सनभन्दा पनि जानकारीमूलक विषयवस्तु पढ्न रुचाउँछु ।’ विश्रुतको बुझाइमा नेपालको पढाइ ज्यादा सैद्धान्तिक छ । ‘अस्ट्रेलियाको चाहिँ प्रयोगात्मक शैली छ,’ उनले भने ।

विश्रुतले आफ्नो पढाइमा प्रेरणाको मुख्य स्रोत आमालाई मानेका छन् । आमा व्यञ्जनाले अंग्रेजी भाषा शिक्षण सिकाइ विषयमै पीएचडी गरेकाले त्यसबाट पनि उनले सिकाइ र बुझाइको अवधारणा जान्ने मौका पाए । ‘म स्कुल भर्ना हुनुभन्दा अगाडिदेखि नै आमाले मलाई अंग्रेजी पढाउन थालिसक्नुभएको थियो,’ उनले सुनाए, ‘वर्कबुक किनेर मलाई अक्षर चिनाउने कामचाहिँ बुबाले गर्नुभएको हो ।’

आफूलाई अंग्रेजीमा ‘वल्र्ड टप’ हुन सक्छु भन्ने विश्वास नभए पनि आफ्ना आमाबाबुलाई भने विश्वास रहेको उनले सुनाए । विश्रुतले कम्प्युटर विज्ञान र एनालिटिक्समा उच्च अध्ययन गर्न चाहेका छन् । त्यसका लागि छात्रवृत्ति पाएकाले उनी अर्को महिना अमेरिकाको युनिभर्सिटी अफ टेक्सास एट टाइलरमा पुग्दै छन् । उच्च शिक्षामा जानुअघि विश्रुत अहिले आफ्नै आमाबाबुले दमकमा खोलेको मन्टेश्वरी सिकाइ पद्धतिमा आधारित आधारभूत विद्यालय विद्याशिल्प एकेडेमीमा ससाना नानीहरूलाई कक्षा लिइरहेका छन् । उनी दिनहँु ससाना नानीहरूलाई भनिरहेका हुन्छन्— घोकेर होइन, बुझेर पढौं ।

प्रकाशित : जेष्ठ २७, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?