पाण्डा

चेतनाथ आचार्य

काठमाडौँ —  विश्व वन्यजन्तु कोषको प्रतीकचिह्न अर्थात् लोगोमा पाण्डाको चित्र छ । शारीरिक रूपमा आकर्षक देखिने पाण्डा लजालु प्रकृतिको हुन्छ । यसले प्रायजसो अरूलाई आक्रमण गर्दैन ।

पाण्डा

पाण्डाको आँखा वरिपरि र कान कालो हुन्छ । चारवटा खुट्टा काला हुन्छन् । अगाडि खुट्टादेखि माथिल्लो कुमसम्म पनि कालै रङले ढाकेको हुन्छ । पाण्डाको खानेकुरामा विशेषगरी बाँस हो । बाँस अथवा बाँस प्रजातिका मालिङ्गा, निगालोलगायत वनस्पतिका टुसा र घाँस पाण्डाले सबैभन्दा मन पराउने खानेकुरा हुन् । यसले अन्य सागपात र फलफूल पनि खाने गर्छ । भालुले जस्तै यसले पनि जंगलका मौरी र अन्य कीराफटयांग्रा खान्छ र एउटा वयस्क पाण्डाले दैनिक ९ देखि १४ किलो बाँसको टुसा खान सक्छ । धेरै खाएकै कारणले पाण्डाले एक दिनमा ४० पटकसम्म मल त्याग गर्छ ।

नेपालको पूर्वी पहाडी क्षेत्रमा रातो पाण्डा पाइन्छ । रातो पाण्डालाई सानो पाण्डा पनि भनिन्छ । ठूलो पाण्डा कालो र सेतो रङ मिसिएको हुन्छ । झट्ट हेर्दा यो भालुजस्तै देखिन्छ । यसको अनुहारचाहिँ बिरालाको जस्तै हुन्छ ।

पाण्डा चीनको राष्ट्रिय जनावर हो । प्राकृतिक रूपमा पाण्डा पाइने ठाउँ चीन मात्र हो । चिनियाँ भाषामा पाण्डालाई ‘ता सिओङ मावो’ भनिन्छ । यसको अर्थ ठूलो भालु बिरालो भन्ने हो । चीनले उपहारमा दिएका पाण्डा विश्वका विभिन्न देशका चिडियाखानामा राखिएका छन् । चीनको मध्य भागमा पर्ने सिचुवान, पल्लो सान्सी र कान्सु प्रान्त पाण्डा पाइने क्षेत्र हुन् । सिचुवान प्रान्तलाई पाण्डाको राजधानी भनिन्छ ।



एउटा वयस्क पाण्डा शरीरको आकार अनुसार १ दशमलब २ देखि १ दशमलब ९ मिटर लम्बाइ र साठीदेखि ९० सेन्टिमिटर उचाइको हुन्छ । सामान्यत: भाले पाण्डा १६० किलोसम्म र पोथी पाण्डा १२५ किलोसम्मको हुन्छ । पाण्डा जंगलमा २० वर्षसम्म बाँच्न सक्छ । संरक्षण गरेर राखिएको पाण्डा सरदर ३० वर्षसम्म बाँच्छ ।



पाण्डाको बच्चा जन्मँदा एक सयदेखि दुई सय ग्रामको मात्र हुन्छ । यसको लम्बाइ १५ देखि १७ सेन्टिमिटर हुन्छ । पोथी पाण्डाले गर्भवती भएको लगभग तीनदेखि पाँच महिनामा बच्चा जन्माउँछ । आधाजसो पाण्डाले एक पटकमा जुम्ल्याहा बच्चा जन्माउँछन् । आधाजसो एउटा मात्र बच्चा जन्माउँछ । जंगलमा प्राकृतिक रूपमा जन्मेका जुम्ल्याहा बच्चामध्ये एउटाले मात्र बाँच्ने अवसर पाउँछ । किनभने जुम्ल्याहामध्ये जुन ठूलो र सबल छ उसलाई मात्र माउले दूध खुवाउँछ । दुईवटै बच्चा दूधले नअघाउने हुनाले माउले एउटालाई मात्र दूध खुवाउने गरेको मानिन्छ । संरक्षण केन्द्र वा चिडियाखानामा जन्मिएका जुम्ल्याहा बच्चाचाहिँ दुवै बाँच्न सक्छन् । पाण्डाको बच्चा जन्मँदाको तौलको अनुपात माउको ८ सय भागको एक भाग मात्र हुन्छ । स्तनधारी जनावरमा माउको तौलको तुलनामा सबैभन्दा सानो जन्मिने नै पाण्डाको बच्चा हो । जन्मँदा बच्चा गुलाबी रङको हुन्छ । कुकुर बिरालाको छाउराजस्तै आँखा खुलेको हुँदैन र दाँत पनि पलाएको हुँदैन । पाण्डाको बच्चा ७५ दिनको भएपछि मात्र घस्रेर हिँड्न सक्ने हुन्छ । ६ महिनाको भएपछि यसले बाँसको तामा खान सक्छ । एक वर्षसम्म पाण्डाको बच्चाको मुख्य खानेकुरा माउको दूध नै हो । एक वर्षमा पाण्डा ४५ किलोग्रामको भइसकेको हुन्छ । बच्चाहरू लगभग दुई वर्षसम्म आफ्नो माउसँग बस्छन् ।



सन् १९५० पछि चीनले कूटनीतिक सम्बन्ध सुधारका लागि विभिन्न मुलुकलाई पाण्डा उपहार दिने गरेकामा हालसम्म रूस, उत्तर कोरिया, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, जापान, स्पेन, मेक्सिको लगायत ९ मुलुकलाई २३ पाण्डा दिइसकेको छ । वन्यजन्तुको अवैध सिकार, बासस्थानको अतिक्रमण, प्राकृतिक खाना बाँसको विनाश, अन्य हिंस्रक वन्यजन्तुको आक्रमण, अत्यन्त कम जन्मदर आदि कारणले पाण्डाको संख्या न्यून हुँदै गएपछि चीनले सन् १९८४ पछि कुनै पनि मुलुकलाई पाण्डा उपहार दिन छोड्यो । सन् १९८४ पछि चाहिँ चीनले कुनै पनि मुलुकलाई पाण्डा उपहार नभई १० वर्षका लागि भाडामा दिन थाल्यो । एक जोडी पाण्डाको चीनले वार्षिक दस लाख अमेरिकी डलर शुल्क लिने गर्छ । दस लाख डलर भनेको १० करोड रुपैयाँभन्दा बढी हो । दस वर्षपछि पाण्डा चीनलाई फर्काउनुपर्छ । नभए सम्झौता पुन: नवीकरण गर्न पनि सकिन्छ । त्यसबीचमा पाण्डाले बच्चा जन्मायो भने त्यो बच्चा पनि चीनकै सम्पत्ति हुन्छ ।

प्रकाशित : जेष्ठ २७, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?