३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

आयो फुटबलको महोत्सव !

काठमाडौँ — विश्वकै सबैभन्दा चर्चित खेल फुटबलको महोत्सव ‘फिफा विश्वकप २०१८’ बिहीबारदेखि सुरु भएको छ । युरोपेली राष्ट्र रूसले आयोजना गर्ने विश्वकप असार ३१ सम्म चल्नेछ । सन् १९३० बाट सुरु भएको विश्वकपको यो २१ औं संस्करण हो । विश्वभरका उत्कृष्ट ३२ टोलीले छनोट चरण पार गरेर यस महत्त्वपूर्ण प्रतियोगितामा स्थान बनाएका छन् । सहभागी राष्ट्रलाई ४–४ राष्ट्र सम्मिलित ८ समूहमा बाँडिएको छ ।

आयो फुटबलको महोत्सव !

युरोपबाट सर्वाधिक १४ टोलीले प्रतियोगितामा सहभागिता जनाउँदै छन् । विश्व फुटबलमा एक समय तहल्का मच्चाएका इटाली र नेदरल्यान्ड्स भने यसपटक छनोट हुन सकेनन् । टोलीमा विश्वस्तरीय खेलाडी भए पनि छनोटमा राम्रो नतिजा ल्याउन नसक्दा विश्वकप खेल्न पाएनन् ।

यसपटक विश्वकपमा दुई नयाँ टोली पनि आएका छन् । आइसल्यान्ड र पानामा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदै छन् । रूसको ११ सहरमा रहेका १२ रंगशालामा प्रतियोगिताको ६४ खेल आयोजना हुनेछन् । राजधानी मक्सोमा दुई रंगशाला रहेका छन् ।
विश्वकपका खेल खेलाउन फिफाले ३६ रेफ्री र ६३ सहायक रेफ्रीहरू पनि छानिसकेको छ । यसपटक विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्री (भार) को पनि प्रयोग हुँदै छ । खेल चलिरहेको बेलामा रेफ्रीले कुनै मुभ छुटाएको खण्डमा उक्त मुभ सकिएपछि भिडियोमा हेरेर रेफ्रीले आफ्नो निर्णय बदल्न सक्छन् । भारका लागि मात्र फिफाले १३ रेफ्रीलाई नियुक्त गरेको छ ।

यसपटक प्रतियोगितामा जर्मनी, स्पेन, फ्रान्स र ब्राजिललाई उपाधिको दाबेदार टोलीका रूपमा हेरिएको छ । जर्मनीले ४ वर्षअघि ब्राजिलमा भएको विश्वकप पनि जितेको थियो । विश्वका उत्कृष्ट दुई खेलाडी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो सम्मिलित अर्जेन्टिना र पोर्चुगल पनि उपाधिको सम्भावना बोकेका टोली हुन् । छनोटमा उत्कृष्ट प्रदर्शन गरेको इंग्ल्यान्ड पनि उपाधि लक्ष्यसहित रूस पुगेको छ ।

हालसम्म ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप उपाधि जितेको छ । जर्मनी र इटालीले समान ४–४ पटक तथा अर्जेन्टिना र उरुग्वे पनि २–२ पटक विश्वकप च्याम्पियन भएका छन् । फ्रान्स, इंग्ल्यान्ड र स्पेन पनि १–१ उपाधिसहित विजेताको सूचीमा अटाएका छन् । विश्वकप उपाधिमा नेदरल्यान्ड्स भने अभागी राष्ट्र सावित भएको छ । डच टोली ३ पटक फाइनलमा पराजित भएको छ ।

विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान जर्मनीका मिरोस्लाभ क्लोजको नाममा छ । उनले सन् २००२ देखि २०१४ सम्म ४ संस्करण खेल्दै १६ गोल गरेका छन् । ब्राजिलका रोनाल्डो १५ र पश्चिम जर्मनीका गर्ड मुलर १४ गोलसहित शीर्ष ३ मा अटाएका छन् । रूसमा जारी विश्वकपमा सहभागी हुने खेलाडीमा जर्मनीका थोमस मुलर १० गोलसहित अगाडि छन् । पछिल्ला दुवै संस्करणमा ५–५ गोल गरेका उनले शीर्ष स्थानका क्लोजसँग अन्तर घटाउने प्रयास गर्नेछन् । फुटबलकै महाकुम्भ विश्वकपबाट नेपाल पनि अछुतो छैन । नेपालले पनि विश्वकप छनोटको प्रारम्भिक चरण खेलेको थियो । सन् २०१५ मा भएको प्रारम्भिक छनोटमा भारतसँग २–० ले पराजित हुँदै नेपालको विश्वकपमा छनोट हुने सम्भावना समाप्त भएको थियो । त्यसअघिका संस्करणमा पनि नेपालले विश्वकपका प्रारम्भिक चरणको छनोट पारे गर्न सकेको छैन ।

नेपाल विश्वकपमा छनोट नभए पनि विश्वकपको क्रेजले भने नेपाली समर्थकलाई छोपेको छ । विश्वकप सुरु हुनु अगाडिदेखि नै बाटोमा विश्वकपमा सहभागी राष्ट्रहरूको समर्थनमा जर्सी लगाउनेको भीड देख्न सकिन्छ । यसमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिल र अर्जेन्टिनाकै बाहुल्य रहेको छ । जर्सी लगाउने मात्र हैन, घरबाहिर आफूले समर्थन गर्ने देशको झन्डा राख्ने, सवारीसाधनमा त्यसै किसिमको सजावट गर्ने चलन पनि आइसकेको छ ।

विश्वकपकै सेरोफेरोमा विद्यालयहरूले पनि विद्यार्थीलाई लक्षित गरेर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू ल्याउने गरेका छन् । यसपटक पनि विद्यार्थीलाई खेल भावना जगाउन र फुटबलको ज्ञान सिकाउने उद्देश्यले विभिन्न विद्यालयले खेलसँग सम्बन्धित कार्यक्रम आयोजना गर्दै विश्वकपको स्वागत गरे । बच्चा मात्र हैन, युवामाझ पनि विश्वकपको रौनक लागेको छ । एउटै टोलीलाई समर्थन गर्नेहरू एकत्रित भएर खेल हेर्ने चलन पनि सुरु भइसकेको छ । विश्वकप अगाडि बढ्दै जाँदा यस्ता कार्यक्रमले अझै व्यापक रूपमा बढ्ने आशा गर्न सकिन्छ ।

प्रकाशित : असार ३, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?