२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पर्वतीय संग्रहालय

राजाराम पौडेल

काठमाडौँ — पोखरा - हिमाली क्षेत्रका बाबुनानीलाई हिमाल र हिमाली जनजीवनबारे धेरै कुरा बताइरहनु पर्दैन । तर अन्य क्षेत्रका धेरैजसोलाई थाहा नहुन सक्छ । भौगोलिक विकटता र अत्यधिक जाडो हुने भएकाले हिमाली भेगको जनजीवन सहज हुन्न । त्यहाँको चालचलन र संस्कृति पनि अरू ठाउँको भन्दा फरक हुन्छ ।

पर्वतीय संग्रहालय

खासमा त्यस्तो फरकचाहिँ के होला त ? यो जिज्ञासाको जवाफ दिन तयार छ– पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय । यो संग्रहालय हिमाली क्षेत्रहरूलाई नजिकबाट चिनाउने गन्तव्य बनेको छ । पोखराको रातोपैरोमा सय रोपनी क्षेत्रफलमा फैलिएको यो संग्रहालय हिमाल तथा हिमाली भेगको जनजीवनबारे जानकारी लिन चाहनेका लागि नगई नहुने ठाउँ भएको छ । त्यसैले धेरै अभिभावक आफ्ना बालबालिकालाई यहाँ घुम्नका लागि लिएर जाने गर्छन् ।

संग्रहालय अवलोकन गर्न विद्यार्थीलाई ४० रुपैयाँ शुल्क लाग्छ । संग्रहालयमा विद्यार्थीलाई इच्छाअनुसार जानकारी दिँदै अवलोकन गर्ने व्यवस्था मिलाइन्छ । मगर, किरात, छन्त्याल, गुरुङ, शेर्पालगायत विभिन्न समुदायका संस्कृतिलाई नजिकबाट चिनाउने व्यवस्था गरिएको छ । यहाँ जापान, ताइवान, स्लोभानिया र कोरियाको संस्कृतिसमेत हेर्न पाइन्छ । संग्रहालयको मूलद्वारबाट छिर्नेबित्तिकै देब्रेतर्फ क्ल्याइम्बिङ वाल छ । वालमा हिमाल चढ्ने आधारभूत ज्ञान दिनुका साथै प्रतियोगितासमेत गरिन्छ ।

नेपाली घर संग्रहालय परिसरमा खरको छानो, ढिकी, जाँतो, मौरीको घार, परेवाको गन्ज (गुँड), गाईवस्तु, तामाका ग्रागीलगायत हेर्न पाइन्छ । संग्रहालय अगाडि मनास्लु हिमालको प्रतीक स्वरूप ३१ फिटको पर्वत बनाइएको छ । यो प्रतीक जापानी सहयोगमा बनेको हो । मनास्लु हिमालको सबैभन्दा पहिला आरोहण गर्ने जापानी नै थिए । संग्रहालयमा हिमालमा पाइने याकलाई चिनाउने प्रयाससमेत गरिएको छ । त्यसका लागि संग्रहालय भवन अगाडि पित्तलको प्रतिमा राखिएको छ ।

संग्रहालयमा ल्याब–लेआउट–प्लान राखिएको छ । यसको अध्ययन गरी कसरी पूरै संग्रहालय घुम्ने भन्ने कुरा बुझ्न सकिन्छ । नेपाली पर्वतीय कक्ष र अन्तर्राष्ट्रिय पर्वतीय कक्षमार्फत पर्वतीय संस्कृति, संस्कार, धर्मलगायतको जानकारी दिने व्यवस्था मिलाइएको छ ।

संग्रहालयमा रहेको भिजुल हलमा हिमालयसम्बन्धी दृश्य हेर्न पाइन्छ । दोस्रो हलमा ८ हजार मिटरभन्दा माथिका हिमालका तस्बिर राखिएका छन् । हिमालको उत्पत्ति, हिमाली जीवजन्तु र वनस्पतिबारे पनि जानकारी पनि समेटिएको छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष दावा नोर्बर्ु, परिकल्पनाकार कुमार खड्गविक्रम शाह, डा. हर्क गुरुङ, सर्भे गर्ने डा. टोनी हेगन, जापानबाट आएका पहिलो व्यक्ति कावागुची इकाई लगायतबारेको जानकारी दोस्रो हलमा हेर्न सकिन्छ ।

तेस्रो हललाई पर्वतीय क्रियाकलाप कक्ष नामकरण गरिएको छ । यहाँ ८ हजार मिटरभन्दा माथिका हिमाल चढ्ने पहिला व्यक्तिको विवरण, हिमाल चढ्दा केकस्ता सामग्री प्रयोग गरिन्छन्, हिमालको वातावरण, हिमालमा पाइने यती, हिमालमा फालिएका फोहोरमैलाको प्रस्तुति हेर्न सकिन्छ ।

बेलायतीहरूले सन् १९२० बाटै हिमाल चढ्न खोजेका थिए । तर ८ पटकसम्म उनीहरू असफल भए । संग्रहालयमा असफल आरोहण गर्नेको ऐतिहासिक फोटाको संग्रह राखिएको छ । रोयल जोग्राफिकल सोसाइटी लन्डनले प्रिन्ट डेभलप गरेर राखेको यिनै तस्बिर हेरेर त्यसपछाडि हिमाल चढ्न सहज बनेको बताइन्छ । अवलोकनकर्ताले संग्रहालय परिसरभित्र सहज तरिकाले फोटो खिच्न सक्छन् । संग्रहालयमा जलवायु परिवर्तनसम्बन्धी सामग्री राखिएका छन् । संग्रहालयको माथिल्लो तलामा इजरायलको जेरुसेलमको भू–धरातलभन्दा ४ सय २२ मिटर तल मृत सागरको ढुंगा र विश्वको सर्वोच्च शिखर सगरमाथाको ८ हजार ८ सय ४८ मिटरमा रहेको ढुंगा एकै ठाउँमा हेर्ने पाइन्छ । पर्वतीय जानकारी दिने झन्डै ३५ सय किताब रहेको लाइब्रेरी पनि यहाँ छ । विद्यार्थीले पर्वतीय जानकारी लिन ती किताब अध्ययन गर्न सक्छन्् । संग्रहालयमा शेर्पाहरूको संस्कृति, पाहुनालाई स्वागत गर्ने मोडल, सबै सामग्रीसहित बौद्ध धर्म, संस्कृतिको झझल्को यो कक्षले दिन्छ ।

शारीरिक अपांगता भएका व्यक्तिलाई ह्वीलचियरमार्फत अवलोकनको व्यवस्था मिलाइएको छ । ह्वीलचियर संग्रहालयले नै उपलब्ध गराउँछ । टच स्क्रिनमार्फत हिमाललाई नजिकबाट हेर्न व्यवस्था मिलाइएको छ । अवलोकनकर्ताले मकालु, सगरमाथा, खुम्बु हिमालका दृश्य औंलाले चलाएर हेर्न सक्छन् । विद्यार्थीका अलवा यहाँ दिनहँु आन्तरिक तथा बाहय पर्यटकको भीड लाग्ने गर्छ । संग्रहालय प्रमुख तथा संग्रहालयविज्ञ बलप्रसाद राईका अनुसार यो संग्रहालय २०६० साल माघ २२ देखि सञ्चालनमा आएको हो ।

प्रकाशित : असार ३, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?