पर्वतीय संग्रहालय

राजाराम पौडेल

काठमाडौँ — पोखरा - हिमाली क्षेत्रका बाबुनानीलाई हिमाल र हिमाली जनजीवनबारे धेरै कुरा बताइरहनु पर्दैन । तर अन्य क्षेत्रका धेरैजसोलाई थाहा नहुन सक्छ । भौगोलिक विकटता र अत्यधिक जाडो हुने भएकाले हिमाली भेगको जनजीवन सहज हुन्न । त्यहाँको चालचलन र संस्कृति पनि अरू ठाउँको भन्दा फरक हुन्छ ।

खासमा त्यस्तो फरकचाहिँ के होला त ? यो जिज्ञासाको जवाफ दिन तयार छ– पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय । यो संग्रहालय हिमाली क्षेत्रहरूलाई नजिकबाट चिनाउने गन्तव्य बनेको छ । पोखराको रातोपैरोमा सय रोपनी क्षेत्रफलमा फैलिएको यो संग्रहालय हिमाल तथा हिमाली भेगको जनजीवनबारे जानकारी लिन चाहनेका लागि नगई नहुने ठाउँ भएको छ । त्यसैले धेरै अभिभावक आफ्ना बालबालिकालाई यहाँ घुम्नका लागि लिएर जाने गर्छन् ।

संग्रहालय अवलोकन गर्न विद्यार्थीलाई ४० रुपैयाँ शुल्क लाग्छ । संग्रहालयमा विद्यार्थीलाई इच्छाअनुसार जानकारी दिँदै अवलोकन गर्ने व्यवस्था मिलाइन्छ । मगर, किरात, छन्त्याल, गुरुङ, शेर्पालगायत विभिन्न समुदायका संस्कृतिलाई नजिकबाट चिनाउने व्यवस्था गरिएको छ । यहाँ जापान, ताइवान, स्लोभानिया र कोरियाको संस्कृतिसमेत हेर्न पाइन्छ । संग्रहालयको मूलद्वारबाट छिर्नेबित्तिकै देब्रेतर्फ क्ल्याइम्बिङ वाल छ । वालमा हिमाल चढ्ने आधारभूत ज्ञान दिनुका साथै प्रतियोगितासमेत गरिन्छ ।

नेपाली घर संग्रहालय परिसरमा खरको छानो, ढिकी, जाँतो, मौरीको घार, परेवाको गन्ज (गुँड), गाईवस्तु, तामाका ग्रागीलगायत हेर्न पाइन्छ । संग्रहालय अगाडि मनास्लु हिमालको प्रतीक स्वरूप ३१ फिटको पर्वत बनाइएको छ । यो प्रतीक जापानी सहयोगमा बनेको हो । मनास्लु हिमालको सबैभन्दा पहिला आरोहण गर्ने जापानी नै थिए । संग्रहालयमा हिमालमा पाइने याकलाई चिनाउने प्रयाससमेत गरिएको छ । त्यसका लागि संग्रहालय भवन अगाडि पित्तलको प्रतिमा राखिएको छ ।

संग्रहालयमा ल्याब–लेआउट–प्लान राखिएको छ । यसको अध्ययन गरी कसरी पूरै संग्रहालय घुम्ने भन्ने कुरा बुझ्न सकिन्छ । नेपाली पर्वतीय कक्ष र अन्तर्राष्ट्रिय पर्वतीय कक्षमार्फत पर्वतीय संस्कृति, संस्कार, धर्मलगायतको जानकारी दिने व्यवस्था मिलाइएको छ ।

संग्रहालयमा रहेको भिजुल हलमा हिमालयसम्बन्धी दृश्य हेर्न पाइन्छ । दोस्रो हलमा ८ हजार मिटरभन्दा माथिका हिमालका तस्बिर राखिएका छन् । हिमालको उत्पत्ति, हिमाली जीवजन्तु र वनस्पतिबारे पनि जानकारी पनि समेटिएको छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष दावा नोर्बर्ु, परिकल्पनाकार कुमार खड्गविक्रम शाह, डा. हर्क गुरुङ, सर्भे गर्ने डा. टोनी हेगन, जापानबाट आएका पहिलो व्यक्ति कावागुची इकाई लगायतबारेको जानकारी दोस्रो हलमा हेर्न सकिन्छ ।

तेस्रो हललाई पर्वतीय क्रियाकलाप कक्ष नामकरण गरिएको छ । यहाँ ८ हजार मिटरभन्दा माथिका हिमाल चढ्ने पहिला व्यक्तिको विवरण, हिमाल चढ्दा केकस्ता सामग्री प्रयोग गरिन्छन्, हिमालको वातावरण, हिमालमा पाइने यती, हिमालमा फालिएका फोहोरमैलाको प्रस्तुति हेर्न सकिन्छ ।

बेलायतीहरूले सन् १९२० बाटै हिमाल चढ्न खोजेका थिए । तर ८ पटकसम्म उनीहरू असफल भए । संग्रहालयमा असफल आरोहण गर्नेको ऐतिहासिक फोटाको संग्रह राखिएको छ । रोयल जोग्राफिकल सोसाइटी लन्डनले प्रिन्ट डेभलप गरेर राखेको यिनै तस्बिर हेरेर त्यसपछाडि हिमाल चढ्न सहज बनेको बताइन्छ । अवलोकनकर्ताले संग्रहालय परिसरभित्र सहज तरिकाले फोटो खिच्न सक्छन् । संग्रहालयमा जलवायु परिवर्तनसम्बन्धी सामग्री राखिएका छन् । संग्रहालयको माथिल्लो तलामा इजरायलको जेरुसेलमको भू–धरातलभन्दा ४ सय २२ मिटर तल मृत सागरको ढुंगा र विश्वको सर्वोच्च शिखर सगरमाथाको ८ हजार ८ सय ४८ मिटरमा रहेको ढुंगा एकै ठाउँमा हेर्ने पाइन्छ । पर्वतीय जानकारी दिने झन्डै ३५ सय किताब रहेको लाइब्रेरी पनि यहाँ छ । विद्यार्थीले पर्वतीय जानकारी लिन ती किताब अध्ययन गर्न सक्छन्् । संग्रहालयमा शेर्पाहरूको संस्कृति, पाहुनालाई स्वागत गर्ने मोडल, सबै सामग्रीसहित बौद्ध धर्म, संस्कृतिको झझल्को यो कक्षले दिन्छ ।

शारीरिक अपांगता भएका व्यक्तिलाई ह्वीलचियरमार्फत अवलोकनको व्यवस्था मिलाइएको छ । ह्वीलचियर संग्रहालयले नै उपलब्ध गराउँछ । टच स्क्रिनमार्फत हिमाललाई नजिकबाट हेर्न व्यवस्था मिलाइएको छ । अवलोकनकर्ताले मकालु, सगरमाथा, खुम्बु हिमालका दृश्य औंलाले चलाएर हेर्न सक्छन् । विद्यार्थीका अलवा यहाँ दिनहँु आन्तरिक तथा बाहय पर्यटकको भीड लाग्ने गर्छ । संग्रहालय प्रमुख तथा संग्रहालयविज्ञ बलप्रसाद राईका अनुसार यो संग्रहालय २०६० साल माघ २२ देखि सञ्चालनमा आएको हो ।

Yamaha

प्रकाशित : असार ३, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्

खेल्दै सिक्दै

राजाराम पौडेल

काठमाडौँ — हाम्रो मुलुकका सबै बालबालिकाको दैनिकी एउटै छैन । बाबा आमा र परिवारका सदस्य दैनिक गुजारा चलाउन मजदुरीमा जुट्नुपर्ने बाध्यताका कारण खाने, खेल्ने, पढ्ने, रमाउने उमेरका बालबालिकाले त्यस्तो अवसर पाउँदैनन् । अवसर नपाएका कारण उनीहरूको व्यक्तित्व, नेतृत्व र आनीबानीको राम्रो विकास हुन पाउँदैन ।

यस्तो अवस्था आउन नदिन केही व्यक्ति र संस्था छन् जसले अवसर नपाएका बालबालिका र तिनका अभिभावकको सपना साकार बनाउन काम गर्छन् । पोखरामा ‘मैत्री संघ’ र सिद्धि सेतुली स्मृति प्रतिष्ठानले संयुक्त रूपमा मैत्री शिक्षा समूह सञ्चालन गरेका छन् । यहाँ आएर कैयौं बाबुनानीले आफ्नो सपना साकार पार्न मिहिनेत गरिरहेका छन् ।

उनीहरू हरेक बिहान ७ बजे पोखराको नदीपुर नारायणस्थान मन्दिरसँगैको मैत्री संघको भवनमा जम्मा हुन्छन् । हातैमा वा झोलामा किताब–कापी बोकेर मनमा विभिन्न सपना खेलाउँदै त्यहाँ पुग्छन् । सुरुको १० मिनेट योग–ध्यानमा सहभागी हुन्छन् । सक्दो मन एकाग्र बनाउने प्रयास गर्छन् । त्यसपछि स्कुलमा दिइएको गृहकार्य गर्न व्यस्त हुन्छन् । घरमा पढ्ने वातावरण नभएका बालबालिको पढाइ सहज बनाउन शिक्षकको पनि व्यवस्था गरिएको छ ।

बिहान दुई घण्टा यहाँ बिताएपछि बालबालिका घर फर्कन्छन् । शनिबार भने यहाँ अलि लामो समय बस्छन् । पढाइका अलावा खेल्ने, पेन्टिङ सिक्ने, नाच्ने, गाउने, कथा सुन्ने गर्छन् । यी सबै गतिविधि गर्न पाउँदा उनीहरू निकै रमाउँछन् । यहाँ आइपुग्ने बालबालिका ५ देखि १४ वर्षसम्मका हुन्छन् । बाँकी पढ्न पृष्ठ “ख” पल्टाऊ उनीहरू खास गरी सेती नदी किनारामा गिट्टी कुट्ने र बालुवा उठाउने कामबाट दैनिक गुजारा चलाउँदै आएका मजदुरका छोराछोरी हुन् । केही निम्न आय भएका परिवारका बालबालिका पनि हुन्छन् ।

यहाँ आउने बालबालिकालाई सदाचारका कुरा सिकाइन्छ । के सही के गलत छुट्टयाउन सक्ने क्षमता बढाइन्छ । के गर्न हुन्छ, के गर्न हुन्न भन्ने आनीबानीका कुरा पनि बुझाइन्छ । समूहमा बसेर अध्ययन गर्दा उनीहरू बढी घुलमिल हुन पुग्छन् । आफूले सिकेका कुरा परिवारमा पुगेर अभिभावकलाई समेत सिकाउँछन् । महिनाको एकपल्ट अभिभावकलाई समेत बोलाइन्छ । उनीहरूलाई बालबालिकाको अगाडि के गर्नुहुन्छ, के गर्नु हँुदैन भन्ने कुरा बताइन्छ । यसो गर्दा यी बालबालिकाको परिवारिक वातावरणमा समेत सुधार आउन थालेको छ । उनीहरूको दैनिकीमा सकारात्मक परिवर्तन आउन थालेका छन् ।

यस्तो सुविधा सुरुमा २०५३ सालमा कोपिलढुंगा सेतो गुराँस संस्थाले उपलब्ध गराएको थियो । पछि मैत्री संघ पोखरा र सिद्धि सेतुली स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सञ्चालन गरेका हुन् । अहिले यहाँ झन्डै ५० बालबालिका नियमित आउने गरेका छन् । कहिले त ८० जनासम्म बालबालिका आउने गरेको प्रतिष्ठानका संस्थापक संरक्षक विश्व शाक्यले जनाए । ‘उनीहरू नर्सरीदेखि १० कक्षासम्म अध्ययन गर्नेहरू हुन्छन्,’ शाक्यले भने, ‘कतिपय स्कुल नै नगएका विद्यार्थी पनि आउँछन् । कतिले चाहिँ यहाँ आएर पढेपछि राम्रा स्कुलमा नाम निकालेका छन् । लगातार १० वर्षसम्म मैत्री शिक्षा समूहमा बसेर पढ्नेहरू पनि छन् ।’ यहाँ आउने बालबालिकालाई विद्यालयमा अध्ययन सामग्री पनि उपलब्ध गराइन्छ ।

प्रकाशित : जेष्ठ २०, २०७५ ०८:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्