२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सेतु

काठमाडौँ — राति १२ बज्न लागेको थियो । सुन्दरी अकस्मात् निद्राबाट ब्यँुझिई । कतै बिरालाको सानो ङयाउराको ङयाउँ... ङयाउँ... आवाज आइरहेको थियो ।‘आमा बिरालो कराउँदै छ । हेरौँ न के भो ?’ सुन्दरीले आमालाई झकझकाई । आमा र छोराछोरी एउटै कोठामा सुतिरहेका थिए ।

सेतु

‘आ ... छाड्दे ! कराउँछ नि बिरालो १ के भो त । सुत् ! आमाले छातीमै टाँसेर सुन्दरीलाई सुताउन खोजिन् । तर उनी मान्दै मानिन ।

‘भाइ उठ् न । छतमा बिरालो कराउँदै छ । तँ र म भएर जाऔँ न हेर्न,’ सुन्दरीले सुमनलाई पनि ब्युँझाई ।

‘नाइँ म त जान्नँ । छतमा भूत होला,’ सुमनले टार्न खोज्यो ।‘हुन्छ भूत १ भूत त मान्छेले अरूलाई तर्साउन त्यसै भनिदिएका हुन् । बाबाले त्यत्रो कथा सुनाएको बिर्सिस् १’ सुन्दरीले अन्धविश्वासका विरुद्घमा बाबाले सुनाएको कथाको प्रसंग सम्झाई । भाइले पनि नबुझेको त हैन तर उसले कुरा टार्न मात्र खोजेको थियो ।

उमेरमा दस र आठ वर्षका दिदीभाइ खुब मिल्थे । उनीहरू टर्चलाइट बोकेर छतमा निस्के । आमा भने कोल्टो फर्केर सुतिन् ।दिदीभाइले छतको भण्डार कोठातिर हेरे । त्यहाँ एउटा सानो ङयाउरो ङयाउँ ङयाउँ गर्दै थियो । उनीहरूले यताउति हेरे । उसको माउ कतै देखिएन । सानो ङयाउराले दुई–तीन दिनदेखि केही खान पाएको रहेनछ ।‘भाइ, मर्न लागेछ यो त । बिचरा १ झिक् न बाबु भित्र पसेर,’ सुन्दरीले टर्चलाइट देखाई । सुमन पुराना भाँडाकुँडा, बाठपात, बिग्रेका सामान र थोत्रा लुगा थुपारिएको भण्डार कोठामा पस्यो । ङयाउरो कुनामा म्याउँ म्याउँ गर्दै थियो । सुमनले बिस्तारै समाएर ङयाउरालाई बाहिर निकाल्यो । ङयाउरो लल्याकलुलुक भइसकेको थियो ।

उनीहरूले ङयाउरालाई एउटा तातो कपडामा राखे । ‘दिदी यसले बुबु खान्छ होला । भान्सामा दूध छ । तताएर निप्पलमा हालेर दिऊँ न । हेर यसकी आमा पनि छैन,’ सुमनले दिदीसँग बिरालोप्रतिको माया प्रकट गर्‍यो ।‘ठीक भनिस् भाइ १ म दूध तताएर निप्पलमा हालेर ल्याउँछु । तँ यसलाई हेर्दै गर् है,’ सुन्दरी भान्साकोठामा गई ।खान नपाएकाले ङयाउरो निकै कमजोर भएको थियो । बिरालाको माउले बच्चा सारिरहन्छ । माउले बच्चा सार्दा एउटाचाहिँ ङयाउरो छुटेछ । माउले पनि त्यसलाई बिर्सेछ । माउसँग विछोड भएको तीन दिन बितिसकेछ ।

‘लौ बुबु खाऊ, आऊ, आऊ, आऊ,’ सुन्दरीले ङयाउरालाई निप्पलबाट दूध चुसाउन खोजी । तर ङयाउराले चुस्न सकेन । सुमनले प्रयास गर्दा पनि ङयाउराले दूध चुसेन । उनीहरूलाई दु:ख लाग्यो ।

‘आमा, बिरालाले दूध नै खाएन । उठ्नुस् न यसलाई दूध खुवाऔँ । हेर, बिचरा काम्दै छ,’ सुमनले आमालाई झकझकायो ।‘हैन नसुतेर के गर्छन् यी १ हेर बिरालो त यहीँ पो ल्याएछन् । कहाँ छाडेछ माउले ? मर्छ अब यो,’ आमाले पनि ङयाउरो हेरिन् ।सेतो धेरै र कालो थोरै भुत्ला भएको ङयाउरो हेर्दा सुन्दर थियो । आमाको मन न हो, उनलाई पनि हेरौँ हेरौँ लाग्यो । उचालेर हातमा राखिन् । उनलाई सायद आफूले सन्तान जन्माउँदाको याद आएछ क्यारे, तुरुन्तै भावुक बनिन् ।

‘यसले यो निप्पल कहाँ चुस्न सक्छ त १ चम्चाले बिस्तारै खुवाउनुपर्छ । जाऊ त नानी चम्चा ल्याऊ । म खुवाइदिन्छु,’ आमाको माया पग्लिहाल्यो ।सुन्दरीले चम्चा ल्याइन् । आमाले चम्चाले बिस्तारै दूध खुवाइन् । ङयाउराको आवाज शान्त भयो ।‘आमा, यसलाई हामी पाल्ने है । म सँगै सुताउँछु यसलाई,’ सुमनले ङयाउरो समाउन खोज्यो ।‘यसलाई म ओछयान बनाउँछु । मेरै छेउमा सुताउँछु,’ सुन्दरीले पनि माया प्रकट गरी । ‘जाओ, पुराना ताता लुगा खोजेर ल्याओ । दुवैले सँगै सुताए पनि हुन्छ,’ आमाले बीचको बाटो निकालिन् ।

दिदी भाइले एउटा पुरानो भुवादार ज्याकेट ल्याए । उनीहरूले ङयाउरालाई त्यसैमा गुटुमुटु पारेर सँगै सुताए । आफ्ना सन्तानले पशुलाई यसरी माया गरेको देख्दा आमाका पनि आँखाका कुना रसाए । ममताले छाती ढक्क फुल्यो ।

भोलिपल्ट घाममा राखेर आमा र छोराछोरीले ङयाउरालाई नुहाइदिए । शरीरमा उपियाँ परेका रहेछन् । उनीहरूले उपियाँ टिपेर फालिदिए । ङ्ङयाउराले दूधभात खान थाल्यो । केही दिनमा हलक्कै बढेर ठूलो पनि भयो । हेर्दाहेर्दै ङयाउरो एउटा सुन्दर बिरालो बन्यो । उनीहरूले सेतु नाम राखिदिए ।आजकल सेतु घरको शोभा बनेको छ । ऊ पालैपालो दिदीभाइसँग सुत्छ । तर खाने बेलामा आमासँग पुग्छ । आमाले मुखमा केही नहाली सेतु पनि केही खाँदैन । घरमा परिवारको एक सदस्य थपिएको छ ।

प्रकाशित : असार ३, २०७५ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?