३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हजार माइलको यात्रा

राजु घिसिङ

काठमाडौँ — विश्वकप राजनीतिमा रूस पहिलादेखि नै शक्तिशाली देश हो । पूर्वी युरोपको यो देशको मुख्य आम्दानीको स्रोत प्राकृतिक ग्यास हो । उसले युरोपमा ८० प्रतिशत ऊर्जा वितरण गर्छ । तर यस्तो धनी देशले विश्वकप फुटबल पहिलोपल्ट यसैपालि आयोजना गरेको हो ।

हजार माइलको यात्रा

आयोजक रूस र छनोट पार गरेका ३१ गरी कुल ३२ देशले ११ सहरका १२ रंगशालामा प्रतिस्पर्धा गरिरहेका छन् । समूह चरण बिहीबार सकियो । नकआउट चरण शनिबार सुरु भइसकेको छ । भौगोलिक रूपमा विश्वकै सबभन्दा ठूलो देश रहेको रूसमा विश्वकपका एक आयोजना स्थलबाट अर्को स्थानमा पुग्न रेलमा ३८ घण्टासम्मको यात्रा गर्नुपर्छ । रेलमा चार घण्टाभित्र पुग्न सकिने अर्को सहर पनि छ । यी त रूसभित्रका कुरा हुन् । बाहिरबाट गएकाले त झन् कति लामो यात्रा गर्नुपर्छ होला ? विश्वकपमा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसी वा ब्राजिलका हिरो नेयमरको खेल हेर्नका लागि समर्थकहरूले कति दूरी पार गरे होलान् ? अनुमान गर्न पनि गाह्रो पर्छ । ब्राजिलको राजधानी ब्रासिलियाबाट विश्वकप आयोजक रूसको राजधानी मस्कोसम्मको दूरी ११ हजार किलोमिटरभन्दा बढी पर्छ । यति लामो दूरी तय गरेर पनि लाखौं दर्शक आफ्ना प्रिय खेलाडी र देशको टिमलाई उत्साहित पार्न रूसका ११ सहर पुगेका छन् ।

अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, कोस्टारिका, मेक्सिको, पानामा, पेरु र उरुग्वेका दर्शकले अनुहारमा आफ्नो देशको झन्डा बनाएर नृत्य गर्दै विश्वकपलाई रमाइलो बनाइरहेका छन् । उनीहरू कम्तीमा तीन खेलको टिकट, यातायात र बसाइको खर्च गरी करिब ८ लाख ८० हजारदेखि ३३ लाख रुपैयाँसम्मको प्याकेज किनेर रूस पुगेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

खेलको टिकट नपाएर पनि रूस पुग्ने हजारौं छन् । उनीहरू सहरका चौकमा राखिएका ठूला स्क्रिन (फयान जोन) मा खेल हेर्छन्, जुन मेलाजस्तै हुने गर्छ । पेरुबाट ४५ हजार समर्थक रूस पुगेका छन्, जुन संख्या त्यहाँ ठूलो पर्व मानिने क्रिसमस र आमाको मुख हेर्ने दिन गरिने यात्राभन्दा पनि धेरै हो ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अनुसार ५४ हजार अर्जेन्टिनीले खेलको टिकट किनेका छन् । अर्जेन्टिनीले एक खेल हेर्न, हवाई टिकटसहितको ५ दिने प्याकेजका लागि करिब ९ लाख रुपैयाँ तिरे । तीन खेल हेर्ने १४ रातको प्याकेजलाई १४ लाख रुपैयाँभन्दा बढी पर्‍यो ।

६५ हजार कोलम्बियनमध्ये १२ हजारका लागि स्टार खेलाडीहरू हामेस रोडरिग्वेज र राडामेल फाल्काओले पनि सहयोग गरेका थिए ।मेक्सिकनले दुई खेल हेर्ने गरी ५ रातको प्याकेजलाई १५ लाख तिरेका थिए । मेक्सिकोले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १–० ले हराएको थियो । यो अपेक्षित नतिजा थिएन । त्यसको असर रूस भ्रमणको प्याकेजमा पनि पर्‍यो । नकआउट चरणमा मेक्सिकोको खेल हेर्ने १५ रातको प्याकेज ३४ लाखमा बिक्री गरियो । फिफाको ‘फयान आईडी’ स्किममा ६० हजार मेक्सिकन दर्ता भएका छन् ।अमेरिका विश्वकपमा छनोट नै भएन । तर त्यहाँ बसोबास गरिरहेका ८८ हजारले पनि फयान आईडीका लागि निवेदन दिएका थिए । त्यसमा पनि अधिकांश मेक्सिकन नै थिए ।

१५ जुलाईसम्म सञ्चालन हुने विश्वकपमा कुल ६४ खेल हुनेछन् । लिग चरणसम्म प्रतिखेल ४५ हजार दर्शकले रंगशालामा प्रत्यक्ष खेल हेरेका छन् । फिफाले ७ जुनसम्म पहिलो चरणमा २४ लाख ३ हजार १ सय १६ वटा टिकट बिक्री गरेको थियो । पछि थप एक लाख बेचेको थियो । रसियन फयानले ८ लाख ७१ हजार, ब्राजिलियनले ७२ हजार, जर्मनले ६२ हजार, अस्ट्रेलियनले ३६ हजार र इंग्ल्यान्डबाट ३२ हजारले फयान आईडी लिएका छन् । टिकट पाउने व्यक्तिले फिफाको पोर्टलमा अनलाइनमार्फत फयान आईडी बनाउनुपर्छ । फयान आईडी भएपछि रूस प्रवेश गर्न भिसा लगाउनु पर्दैन । नेपालबाट पनि तीन सयभन्दा बढी दर्शक विश्वकप हेर्न रूस पुगेका छन् ।


सबै महादेशविरुद्ध गोल

जापानका फरवार्ड केइसुके होन्डाले सेनेगलविरुद्ध २–२ को बराबरी भएको खेलमा १ गोल गरे । त्यससँगै उनी सबै महादेशका टिमविरुद्ध गोल गर्ने पहिलो एसियाली खेलाडी भए । उनी विश्वकपका तीन संस्करणमा गोल गर्ने पहिला जापानी खेलाडी पनि बने ।

सबभन्दा जेठो खेलाडी

इजिप्टका गोलकिपर एसाम एल हादरी विश्वकप फुटबलमा खेल्ने इतिहासकै सबभन्दा जेठो खेलाडी भएका छन् । उनी साउदी अरेबियाविरुद्ध खेल्दा ४५ वर्ष १ सय ६१ दिनका थिए । उनले कोलम्बियाका फारिद मोन्ड्रागन (४३ वर्ष ३ दिन) को कीर्तिमान तोडेका हुन् ।

केनको भाग्य

हयारी केन विश्वकपमा हयाट्रिक गर्ने इंग्ल्यान्डका तेस्रो खेलाडी हुन् । उनले पनामाविरुद्ध ६–१ को जितमा हयाट्रिक गर्ने क्रममा पेनाल्टीमा २ गोल गरेका थिए । अर्कै खेलाडीले प्रहार गरेको बल उनको खुट्टामा लागेर पोस्टमा छिरेपछि तेस्रो गोल (हयाट्रिक) सम्भव भएको थियो ।

सबभन्दा थोरै जनसंख्या

पहिलोपल्ट विश्वकप खेलेको आइसल्यान्ड लियोनल मेसीको टिम अर्जेन्टिनासँग बारबरी खेलेर पनि समूह चरणबाटै बाहिरियो । युरोपको यो सानो देश ११ औं विश्वकपमा सहभागीमध्ये सबभन्दा थोरै जनसंख्या भएको देश हो, जहाँ ३० लाख ५० हजार मानिस बसोबास गर्छन् ।


















प्रकाशित : असार १७, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?