कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मेरो एसईई अनुभव

काठमाडौँ — नमस्ते, म नवदीप सिंह बस्नेत । काठमाडौंको दक्षिणकाली नगरपालिका ५, डल्लुस्थित एक साधारण परिवारको सदस्य हुँ । नर्सरीदेखि कक्षा १० सम्म ग्रिन हिल स्कुल, दक्षिणकालीमा पढेँ । विद्यालयमा मलाई सबैले जेहेनदार छात्र मान्थे । पछिल्लो समयमा मैले स्कुल ब्वायको जिम्मेवारीसमेत पाएको थिएँ । घरमा आमा, ठूलो बुबाआमा र मामाघरमा मामा–माइजू शिक्षण पेसामा नै हुनुभएकाले उहाँहरूको मार्गदर्शनमा मलाई राम्ररी सिक्ने अवसर मिल्यो । बुबा पुस्कल बस्नेत र आमा शारदा बस्नेतले मलाई हुर्काउन बढाउन र शिक्षा दिनमा कुनै कसर बाँकी राख्नुभएन ।

मेरो एसईई अनुभव

विद्यालयमा मैलै धेरै ज्ञान सिक्ने अवसर पाएँ । अतिरिक्त क्रियाकलाप र विभिन्न प्रतियोगितामा अनिवार्यजस्तै संलग्न हुन्थँे । धेरैजसोमा पहिलो दोस्रो भएकै हुन्थँे । विद्यालयमा हुने मनोरञ्जनात्मक कार्यक्रममा पनि कार्यक्रम प्रस्तोताका रूपमा सहभागी हुन्थेँ । एसईई परीक्षामा राम्रो नतिजा ल्याउन विद्यालयका शैक्षिक गतिविधि, गुणस्तरीय अध्यापन र विद्यालयको वातावरणले जग निर्माणको काम गरेका थिए ।

विद्यार्थी भएपछि हरेकले आफैंले पढ्नै पर्छ । तर कसरी पढ्दा नतिजा राम्रो आउँछ भन्नेमा मेरो धारणा के छ भने, समयतालिका बनाएर निरन्तर पढ्ने बानी महत्त्वपूर्ण हुन्छ । पढेका कुराहरू गहिराइमा पुगी बुझेर सम्झने बानीले लामो समयसम्म सम्झन सकिन्छ । त्यसबाट परीक्षालगायत हरेक शैक्षिक मूल्याकंनमा राम्रो गर्न सकिन्छ । किताबी ज्ञान मात्र नभई पत्रपत्रिका र इन्टरनेटको सही प्रयोग गरेर पढ्न सकियो भने ज्ञानको दायरा फराकिलो बनाउन सकिन्छ । मैले नेपाली र सामाजिक विषयहरूमा राम्रो गर्न यी माध्यमको भरपूर प्रयोग गरेको थिएँ । किशोरावस्थामा सामाजिक सञ्जालको दुरुपयोग हुने गरेको पाइन्छ । तर मैले त्यसलाई ज्ञानको भण्डारको रूपमा प्रयोग गर्दै आइरहेको छु । विद्यालयमा नबुझेका, अस्पष्ट भएका कुराहरूलाई इन्टरनेटमा खोजी समाधान गर्ने बानी बसाएको छु । त्यसैले प्रविधिको प्रयोगबाट आफ्नो सिकाइलाई अघि बढाउन सकिन्छ भन्ने कुरा म सेयर गर्न चाहन्छु ।

हामी जे गर्छौं, त्यसमा मन लगाएर गर्नुपर्ने रहेछ । खाँदै छौं भने मन लगाएर खाने । खेल्दै हो भने त्यसमै मन लगाएर खेल्ने । पढ्दै छौं भने पनि मन लगाएर पढ्ने । यो शिक्षा मलाई मेरो विद्यालयका सहायक प्रधानाध्यापक सिद्धि कर्माचार्य सरले दिनुभएको हो । मैले यसलाई मनन गर्दै अगाडि बढें । र अन्तत: एईई परीक्षामा जीपीए ४ ल्याउन सफल भएको छु । म घर, विद्यालयमा सधैं सबैको प्रिय रहेँ । प्रधानाध्यापक पुरुषोत्तम भुर्तेल र अन्य गुरुहरूको प्रेरणा उल्लेखनीय थियो । मलाई लाग्छ, सपना बोकेर आँट, हिम्मतसहित अघि बढ्ने हो भने अवश्य सफल भइन्छ ।

यसरी पढ्दा नतिजा राम्रो
१ समयतालिका बनाएर निरन्तर पढ्ने
२ पढेका कुराहरू गहिराइमा पुगी बुझेर सम्झने
३ किताब र कक्षाकोठाका जानकारीमा मात्र सीमित नरहने
४ पत्रपत्रिका र इन्टरनेटको सही प्रयोग गरेर पढ्ने

-नवदीप सिंह बस्नेत
ग्रिन हिल स्कुल, दक्षिणकाली नगरपालिका–६, फर्पिङ

प्रकाशित : असार १७, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?