कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मेरी हजुरआमा

कविता

काठमाडौँ — वृद्ध हुनुभयो तर गर्नुहुन्छ अनेक धामा,कला अनि सीपकी धनी मेरी हजुरआमा ।

मेरी हजुरआमा

उमेर कति भयो भन्दा ‘चार बीस छ’ भन्नुहुन्छ,
औँला भाँची मनमनै आफ्नो उमेर गन्नुहुन्छ ।
अनुहार चाउरिएर परेको छ मुजैमुजा,
गरिसक्नुभयो उहाँले चौरासीको पूजा ।

हरेक साँझ उहाँ मलाई भन्नुहुन्छ अनेक कथा,
कहिलेकाहीँ खोल्नुहुन्छ आफ्नै जीवनका व्यथा ।
भगवान्को नाम जपी सधैँ कीर्तन गर्नुहुन्छ,
केटाकेटी जम्मा पारी सदुपदेश छर्नुहुन्छ ।

अझै पनि झर्‍यामझर्‍याम मकै चपाउनुहुन्छ,
लौरो लिई बाली चोर्ने बाँदर धपाउनुहुन्छ ।
एक्लै बसी सारा घरको रेखदेख गर्नुहुन्छ,
धारामा गई सानातिना भाँडा पनि भर्नुहुन्छ ।

घाम लाग्दा आँगनीमा बिस्कुन सुकाउनुहुन्छ,
पैसा माग्दा मोहोर दिन थैली फुकाउनुहुन्छ ।
फुर्सद हुँदा दिनदिनै काट्ने गर्नुहुन्छ बत्ती,
सक्ने काम गर्न उहाँ झिँजो मान्नुहुन्न कत्ति ।

अझै पनि निरोगी र हट्टाकट्टा जिउ,
खाईपिई हुर्कनुभो सुका माना घिउ ।
उमेरले नेटो काट्यो कपाल फुल्याछैन तर,
हजुरआमाकै कारणले सधैँ रमाइलो छ घर ।

शरीरमा उहाँ प्राय: गुन्यूचोली लाउनुहुन्छ,
भाका हाली कति राम्रा गीत गाउनुहुन्छ ।
अक्षर चिन्नुहुन्न उहाँ तर ज्ञान कति धेरै ?
यो मनभरि हजुरआमा छाउनुहुन्छ जतिखेरै ।

वृद्ध हुनुभयो तर गर्नुहुन्छ अनेक धामा,
कला अनि सीपकी धनी मेरी हजुरआमा ।

कमल कोइराला

प्रकाशित : असार १७, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?